लुम्बिनी- पुस्तकालय स्थापना गरेबापत जेल जानुपर्छ भन्ने सुन्दा अहिलेका पुस्तालाई पत्याउन मुस्किल पर्छ। ७५ वर्षअघि पुस्तकालय स्थापना गरेबापत जेल जानुपरेको उदाहरण बुटवलमा भेटिन्छ। नेपालकै पुरानोमध्येको एक महावीर पुस्तकालय स्थापना गरेबापत तत्तकालीन राणाशासकबाट पुस्तकालयका संस्थापक ओमशंकर श्रेष्ठ र स्व. सत्यलालले ९ महिना जेल जीवन बिताउनुपरेको थियो। राणाशासनविरुद्ध राजनीतिक चेतना जागरण गरेको अभियोगमा उनीहरूले भैरहवामा जेल सजाय भोगेका हुन्।
२००४ साल असारमा तत्कालीन बटौलीमा महावीर पुस्तकालय स्थापना गरेबापत संस्थापकहरुले २००६ सालमा जेल (कारागार) बस्नुपरेको हो। ‘महावीर पुस्तकालय राणाशासनविरुद्धको आन्दोलनस्वरुप स्थापना भएको देखिन्छ’, पुस्तकालयका पूर्वअध्यक्ष एवम् बुटवलका जानकार ७५ वर्षीय देवेन्द्रराज शाक्यले भने, ‘यो पुस्तकालय मात्रै थिएन, राजनीतिक जागरण जगाउने अभियान थियो।’
बटौली बजार व्यापारिक थलो भए पनि तत्कालीन समयमा युवाहरुले ज्ञानको ज्योति फैलाउनकै लागि पुस्तकालय खोलेको शाक्य बताउँछन्। ‘बटौली पहाडबाट झरेकाहरुको बास र मुग्लानीहरुको व्यापरिक स्थल थियो, व्यापारमा मात्रै ध्यान नदिएर राणाशासनका बेलामा पनि मुठीदानबाट पुस्तकालय स्थापना गर्ने सोच आउनु ठूलो कुरा थियो’, शाक्य भन्छन्, ‘पुस्तकालयसँगै ज्ञानको ज्योति र चेतनाको जागरण भयो।’
पूर्वअध्यक्ष शाक्यले भनेजस्तै राणाशासक विरुद्ध राजनीतिक जागरण जागृत गराउने पुस्तकालय अहिले भने आफैँ बिरामी परेको छ। राणा, पञ्चायत, बहुदल हुँदै गणतन्त्र प्राप्तिसम्म आइपुग्दा पुस्तकालयले पाठकहरु क्रमश गुमाउँदै गएको छ।
कुनै बेला प्रमुख राजनीतिज्ञ, साहित्यकार, विशिष्ट व्यक्ति, राजदूतसम्मले अध्ययन गर्ने पुस्तकालय अहिले भने सुनसान छ। पुस्तकालयमा मानिसको भीड थामिनसक्नु हुन्थ्यो। यतिसम्म कि महिनाभरी न्यूनतम शुल्क तिरेर अध्ययन गर्नेहरुको ताँती लाग्थ्यो।
‘२०२२ सालमा पाल्पाबाट यहाँ आउदा महावीर पुस्तकालयमा पच्चिस पैसा महिनावारी शुल्क तिरेर पढ्न जान्थेँ’, लेखकसमेत रहेका शाक्यले भने। शाक्यले जस्तै पछिसम्म पनि न्यूनतम शुल्क तिरेर पुस्तकालय जाने अरु पनि थिए। पछिल्लो १५ वर्षयता न्यूनतम शुल्क तिरेर पुस्तकालय जाने पाठक पाउनु त कता हो कता? पुस्तकालयमा कोही आउँदा पनि अचम्म मान्नुपर्ने अवस्था छ। ‘पुस्तकालय बुटवलको इतिहास हो, हामीले संरचना सुरक्षित राखेका छौँ’, पुस्तकालयकाका सदस्यसचिव बाबुराम पौडेलले भने। उनका अनुसार पुस्तकालयमा ८ हजार ५ सय पुस्तक छन्।
‘अध्ययन अुनसन्धान गर्ने पाठकहरु मात्रै आउँछन्, नियमित रुपमा अध्ययन गर्ने पाठक यहाँ आउँदैनन्’, उनले भने। पुस्तकालयमा धर्मसंस्कृति, इतिहास, राजनीति, दर्शन, साहित्य, विभिन्न भाषाभाषीका पुस्तक छन्।
पुस्तकालय आफ्नै भवनमा छ। चार वटा भवन छन्। पुस्तकालय सञ्चालनका लागि नियमित आम्दानी छैन। भएका भवनलाई २०५२ सालदेखि महावीर अंग्रेजी स्कुललाई भाडामा दिइएको छ। अहिले पुस्तकालय विद्यालयका कारणले मात्रै खुला हुन्छ। साँझको समयमा २ घन्टा खुल्ला हुने भनिए पनि नियमित खुल्दैन। पाठक नआएकाले पुस्तकालय नखोलिएको सदस्यसचिव पौडेलले बताए।
प्रविधिमा आएको परिवर्तन र पठन संस्कृति हराउँदै जादा पुस्तकालय पनि खण्डहर बन्ने जोखिम बढेको छ। ऐतिहासिक पुस्तकालय जोगाएको वर्तमान समितिले किताब संरक्षणको काम गर्दै आएको पौडेलले बताए। अहिले प्रदेश सरकारको सहयोगमा पुस्तकालयमा नयाँ दराज ल्याइएको छ। यसले किताबलाई सुरक्षित रुपमा राख्न सकिने समितिको विश्वास छ।
बुटवल उपमहानगरले पनि पुस्तकालयलाई वार्षिक सहयोग गर्दै आइरहेको उनले बताए। आधुनिक युग अनुसार ई–लाईब्रेरीका रूपमा विका गर्ने गरी योजना बन्न सकेको छैन।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल लायन्स आँखा अस्पतालबाट करिब २ सय मिटर उत्तरमा पुस्तकालय छ। २००७ सालको प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेलेको पुस्तकालयलाई नगर पुस्तकालयका रुपमा विकास गर्नुपर्ने पूर्वअध्यक्ष शाक्यको सुझाव छ। उनले महावीर पुस्तकालयलाई बुटवल उपमहानगरले नै नगर पुस्तकालयका रुपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए। सार्वजनिक पुस्तकालयको महत्त्वलाई बुझाउन सक्ने हो भने नयाँ पुस्ता पनि पठन संस्कृतिमा जोडिने उनको विश्वास छ।
पटकपटक उतारचढाव
राणाशासनको अन्त्यअघि स्थापना भएको महावीर पुस्तकालय एउटा आन्दोलन थियो। चेतना ज्ञान र शिक्षाका लागि पुस्तकालयमा किताब मात्रै थिएनन्, विद्रोहका चेतना जागृत गर्ने स्थल पनि थियो। स्थापना भएको दुई वर्षमा संस्थापकमध्ये दुईजनालाई तत्कालीन सरकारले नजरबन्दमा राखेपछि एक वर्ष पुस्तकालय बन्द भएको देवेन्द्रराज शाक्यद्वारा लिखित लेखमा उल्लेख छ।
२००८ साल कात्तिक १ गते तत्कालीन वनस्पति अड्डा खारेज भएपछि हाल रहेको स्थानमा पुस्तकालय सञ्चालनका लागि अनमुति प्राप्त भएको थियो। २०१० सालदेखि पुस्तकालय नियमित सञ्चालन भएको र पछि २०४४ सालमा पुसदेखि पुन ६ वर्ष बन्द भयो।
रातको समयमा माइन्युट गरेर पुस्तकालय खोलेका थिए। पुस्तकालयको संरक्षकमा स्व. शक्तिप्रसाद श्रेष्ठ, स्व. हरिबहादुर सिंह, स्व. लालप्रसाद श्रेष्ठ, स्व. गणेशमान सैँजू, केशवराज मास्के, रामबहादुर बजिमय, सूर्यप्रसाद प्रधान, जगतकृष्ण श्रेष्ठ, द्रोणराज जोशी, परीक्षितप्रसाद लाकौल र जंगप्रसाल अमात्य थिए। अमात्य जग्गादाता हुन्।
पुस्तकालयमा हिक्मतप्रसाद श्रेष्ठ, सत्यलाल श्रेष्ठ, बाबुलाल श्रेष्ठ, कुसुम कुमारी लाकौल, महेश्वरप्रसाद लाकौल, ओमशंकर श्रेष्ठ, महेन्द्रप्रसाद श्रेष्ठ, देवेन्द्रबहादुर श्रेष्ठ, देवेन्द्रराज शाक्यले अध्यक्षका रुपमा काम गरेका छन्। अहिले महेन्द्रकुमार राजभण्डारी अध्यक्ष छन्।