नियात्रा

स्मृतिमा मार्दीको आँगन  

अमृतप्रसाद पौड्याल २९ भदौ २०८१ ९:२६
92
SHARES
स्मृतिमा मार्दीको आँगन   तस्बिरहरू : अमृतप्रसाद पौड्याल

२०७८ चैत २६ गते ‘हाइक फर हेल्थ’ नामक भाइबरमा अंकित हाम्रो टोली काठमाडौँ विमानस्थलबाट बिहान साढे सात बजे पोखरातर्फ उड्यो। पोखरा विमानस्थलमा अवतरणपछि हाम्रो मार्दी यात्राका सहजकर्ताले व्यवस्थापन गर्नुभएको वाहनले एउटा होटलको खानपान कक्षमा पुर्‍यायो। मेडिकल पेसासंग आबद्ध सिंगापुरकी युवती आरटी पनि पदयात्रामा हामीसँगै जाने भएपछि नौजनाको टोली बन्यो। चियानास्तापछि हामीलाई सहजकर्ताले नै पोखरा-बागलुङ सडकको काँडेसम्म पुर्‍याइदिनुभयो।

१० बजेतिर काँडेमा पुगेपछि सहजकर्ताले व्यवस्था गरिदिनुभएको गाइड तिलप्रसाद भण्डारीसँग भेट भयो। बाटोका बारेमा, बस्ने स्थानका बारेमा, हिँड्दा हुनसक्ने अप्ठेरोलगायतका पदयात्राका विषयमा सहजकर्ता र गाइडले केही जानकारी दिएपछि १० बजेर ३५ मिनेटमा पिठ्युँमा झोला भिर्दै र लठ्ठी हातमा लिँदै सुरु भयो मार्दीको आँगन पुग्ने यात्रा। गाइडसहित दसजनाको टोली गाउँको बस्तीबीचको सिँढी हुदै उक्लन थाल्यौँ। यात्राको सुरुवात गाउँको बीचमा केही ठाडो सिँढीमा भर्खर बयस्क हुन आँटेको घामको रापमा भएकाले पसिनाले जिउ भिजाउन थालिहाल्यो। १० मिनेट हिँडेपछि  ज्याकेट, टोपी, पन्जाआदि झोलामा राख्दै पानी पिउँदै पाइला लम्काउन थाल्यौँ हामी।

मार्दीको उत्साहल सुरुका कठिनाइलाई सहजै पचाउँदै थियौँ। एक घन्टाको हिँडाइपछि साढे ११ बजे देउरालीमा भेटिएको चौतारोले एकछिन सुस्ताउन सल्लाह दियो। बढ्दो उचाइ र रूखपातहरू भएकाले बिस्तारै चल्न थालेको सिरसिर हावा पसिनाले भिजेको जिउमा पर्दा आएको मिठासलाई अनुभूत गर्दै अगाडि बढियो।

सबा १२ बजे बज्दा २०६० मिटर उचाइमा अवस्थित अस्ट्रेलियन क्याम्पको एक होटलमा झोला बिसायौँ। खाना तयार हुन केही समय लाग्ने भएकाले नजिकै रहेको भ्यु प्वाइन्टबाट हिमाली सौन्दर्य हेर्न ओर्लियौँ। यात्रामा खाने र बस्ने ठाउँ र पदमार्गका विषयमा गाइडले चाँजोपाँजो मिलाउने भएकाले हामी निर्धक्क यात्राको अधिकतम फाइदा उठाउन उद्यत थियौँ। दुई कान्ला बराबरको ओरालोको दुरीमा रहेको मथिल्लो भागमा रहेको हरियो चौर, चौरको घेरामा ढकमक्क फुलेका गुराँसका बोट र क्षितिजमा देखिने हरियो पहाड! त्यसमाथि मुस्कुराइरहेको अन्नपूर्ण, माच्छापुच्छ्रेलगायत अन्नपूर्ण हिमशृंखलाका लहरको आकर्षक दृश्यावलोकन गर्न सकिने उक्त ‘भ्यु-प्वाइन्ट’ मा केही समय लडिबुडी गर्दै बिताइयो।

खानापछि १ बजे ‘अस्ट्रेलियन क्याम्प’ बाट पुनः सुरु भएको हिँडाइमा केही समथर, केही उकाली, केही ओरालीमा रहेको ढुंगा छापेर निर्माण गरिएको मार्ग र खुड्किलामाथि पाइला लम्काउँदै गर्दा सबा ३ बजेको थियो। सिमसिम पानी पर्न थालेपछि भने छाता, रेनकोट एवं प्लास्टिक ओढेर अगाडि बढ्यौँ। आधा घन्टामा फेदी धुम्पुस हुँदै आउने मार्ग भेट भयो जहाँबाट पोथनाका लागि अगाडि बढिन्छ।

आधा घन्टामा पोथना पुगियो जहाँबाट माछापुच्छ्रेको आकर्षक दृश्य देखिन्थ्यो भने लान्द्रुक जाने र पितम देउराली जाने बाटो छुट्टिन्थ्यो। साढे चार बजे हामी पुग्यौँ २१०० मिटर उचाइको पितम देउराली। पितम देउरालीसम्म धुम्पुस हुँदै मोटरसाइकल तथा मोटरसमेत जाने रहेछ। त्यस दिनको यात्रालाई ‘न्यु पितम देउराली गेस्ट हाउस एन्ड रेस्टुरेन्ट’ मा विश्राम दियौँ। साँझ पर्दै गर्दा ‘गेस्ट हाउस’ को अगाडि उत्तर पूर्वतर्फ माछापुच्छ्रे हिमालको आकर्षक दृश्यलाई बाइनाकुलरबाट समेत अवलोकन गरियो।

मबाहेक टोलीमा रहेका सबै सदस्य शिक्षण अस्पताल महाराजगन्जसँग आबद्ध भएकाले अधिकांश कुराकानी शिक्षण अस्पताल र चिकित्सा क्षेत्रतर्फको हुन्थ्यो। म ती वार्तालाप चाख मानेर सुनिरहेको हुन्थेँ। बेलुकीको खानाअगाडि हातको इसाराबाट दर्शाएको भावलाई शब्दमा बोल्नुपर्ने खेल खेल्यौँ।

भोलिपल्ट बिहान साढे ७ बजे आआफ्नो झोला भिरी पुनः यात्रा सुरु गरियो। जति अगाडि बढदै गयो, माछापुच्छ्रे हिमाल नजिकनजिक हुँदै थियो र उत्साह बढ्दो थियो। अगाडि बढ्दै गर्दा मार्गमा रूख बुट््यानहरू बाक्लो हुँदै थियो। यत्रतत्र ठूलाठूला रूख भएपछि जंगलको भान हुनु स्वाभाविक नै हो। चराको मनमोहक आवाज, बहिरहेको हावा रूखपातमा ठोक्किएर आउने सुसाइको आकर्षण बेग्लै छ।

कतै साँघुरो, कतै फराकिलो, कतै पात एवं स्याउलाले झपक्कै ढाकेको माथिपट्टि टेक्दा सुनिएको च्रमच्रम आवाजले हिँडाइमा रोमाञ्चकता थपिरहेको थियो। सम्म बाटो, खुडकिला, कान्ला भित्तामा बनेका मार्गको वरपर देखिने विभिन्न प्रकृतिका बुट्यान, फूल आदिसँगको साक्षात्कारले यात्रालाई स्मरणयोग्य बनाइरहेको थियो।

अलिक लामो र ठाडो खुडकिलो एवं कान्लाहरू नापेपछि हामी लभ्ली हिलमा पुग्यौँ। जहाँ बन्दै गरेका र आंशिक रुपमा सञ्चालनमा रहेका एकदुईवटा ‘टी-हाउस’ हेर्दै केही बेर हल्का हुने, आफूसँग भएका पानी पिउँदै पाकेटका खानेकुराहरू चपाउँदै सुस्तायौँ। थकाई मरेपछि तेर्सैतेर्सो हिँड्न थाल्यौँ। ठाउँठाउँमा दायाँबायाँ बाँसहरूले छेकेर बीचमा रहेको माटोको थुप्रोलाई काठले आड दिई बनाइएका सिँढी थिए।

जंगल भएकाले कहीँकतै चरा वा जनावर देखिन्छन् भनी आँखाले खोजबिन पनि गर्दै हिँडियो। फुलेका गुराँसका पत्रहरू झरेर बाटोलाई लालीमय बनाएका थिए। ६ घन्टाजतिको हिँडाइ जंगलमै भएको र बास बस्ने स्थान पनि ‘फरेस्ट क्याम्प’ नै हुन पुग्यो। जंगलमा सर्पगन्धा, पाँचऔँले गायतका वनस्पति यत्रतत्र देखिन्थ्थे। उकाली, ओराली, तेर्साे, सोझो गोरेटो पछ्याउँदै कहीँ एकदुईछिन बस्दै झोलामा बोकिएका खानेकुरा मुखमा हाल्दै हिँडियो।

जंगलमा कतिपय रूखहरू पातविहीन भई ठिंग उभिरहेका देखिन्थे भने कहीँकहीँ त्यस प्रकारका रूखहरू ढलेर बाटोमा तेर्सिदाँ बीचमा काटेर हिँड्न मिल्ने बनाएको पनि देखियो। त्यस बाटो भएर फर्कने केही पदयात्री र कामकाजले हिँड्ने स्थानीयहरू फाट्टफुट्ट भेटिन्थे। नियमित आवतजावत नहुँदा बाटोलाई पातपतिंगरले ढाकेको थियो। हामी दिनको चार बजे करिब २५५० मिटर उचाइमा रहेको ‘फरेस्ट क्याम्प’ मा अवस्थित ‘सनराइज गेस्ट हाउस’ मा बस्ने भयौँ।

एकछिनको विश्रामपछि वरिपरि नियाल्दै यसो तलमाथि हिँड्न थाल्यौँ। यसै क्रममा त्यहाँबाट केही तल दुईचारजना युवा भलिबल खेलिरहेका थिए। हामी पनि केही बेर त्यसमा मिसिएर धेरै वर्ष अगाडि खेलेको भलिबललाई हिर्काउने प्रयास गर्‍यौँ। साँझ परेपछि ह्वारह्वार्ती बलेको भुंग्रोमा आआफ्नो इच्छाअनुसारको आलु र मासु पोल्दै, खाना खाँदै र नाचगान गर्दै वातावरण रंगीन बनाइयो।

भोलिपल्ट बिहान चिया, तरकारी र रोटी खाएर बाटो ततायौँ। झलमल्ल घाम लागेकाले वरिपरि हरियो जंगल भई बीचमा केही भाग खुला थियो। त्यस स्थानमा नीलो जस्तको छानोले बनेका टहरा प्रकारका होटलहरूको अवस्थितिले आकर्षक बनाएको थियो। अबको बाटो अलिक ठाडो र उकालो थियो। ढुंगाले बनाइएका वा बाँस र काठले दायाँबायाँ अडेस दिई बीचमा माटोको ढिस्को काटेर बनाइएका सिँढी भए पनि लामोलामो सास लिँदै हिँड्दा रूखपातहरू भएकाले घाम लागे पनि शीतल थियो। पदमार्गलाई यसरी व्यवस्थित गरेर राख्ने स्थानीय तह वा संरक्षण कार्यालयलाई धन्यवाद दिनैपर्छ। कतैचाहिँ मर्मत गर्नुपर्ने पनि देखिएको थियो।

छुप्र्ङडाँडा हुँदै सुस्तरीसुस्तरी उक्लदै थियौँ। एक देउराली पार गरेपछि आएको ‘रेस्क्यु क्याम्प’बाट देखिएको माछापुच्छ्रेले हामीलाई छिटो आउन बोलाए जस्तो भान भयो। पदयात्रामार्गमा त्यस प्रकारका बस्ने स्थानहरूको महत्त्व धेरै हुन्छ। ‘कामकिकु’ मा सानो जस्ताको छानो, एकतले घर र भित्तामा आकर्षक रङ लगाइएको बस्ने स्थानको बाहिरपट्टि रूखका मुढालाई आसन राखिएको रहेछ। एकछिन विश्राम गर्दै चिया खायौँ।

‘रेस्ट क्याम्प’ हुँदै उक्लदाँ त्यस दिन ‘लो क्याम्प’ मा बस्ने भन्ने हाम्रो योजना थियो। गुराँसलगायत कटुसका ठूलाठूला रूखहरूको जंगल हुँदै क्रमशः अगाडि हिँड्दै गर्दा ‘लो-क्याम्प’ पुगेपछि भने ठूलाठूला रूखहरू भएका जंगल पातलो हुँदै थियो भने ससाना रूख देखिन थाले। रूखहरूमा नीलो र सेतो रङ आपसमा जोडिएको धर्साले बाटोको संकेत गर्दथ्यो। सुक्न आँटेकाजस्ता देखिने मसिना रूखहरू एक आपसमा अल्झेर गुजमुज्ज भएको र माथिल्लो भागमा बाक्ला पातहरूले सुसज्ज्ति जंगल हुँदै ‘लो-क्याम्प’ पुगियो।

तिलप्रसाद भाइले खाना खाने व्यवस्था मिलाउनुभएको रहेछ। खाना खाइसक्दा दिनको २ बजेको थियो। हिँड्दा नै उपयुक्त हुने भाइको सल्लाहपछि ‘हाई क्याम्प’ अघि बढ्यौँ। बिस्तारै उकालो लाग्दा एक स्थानमा दुवैतिर ठूलाठूला कान्लाको बीचमा रहेको माटोबाट बनेको साँघुरो सिँढी चढ्दै गर्दा विपरीत दिशाबाट केही खच्चड झरिरहेका थिए।

केही बेर अलिक ठाडो मट्यौलो बाटो उक्लिएपछि माथिपट्टिको भाग समथर भएको बादल डाँडा आइपुग्यो। दायाँबायाँ ढकमक्क फुलिरहेका गुराँसका रूख लहरै उभिएका थिए। अगाडि आकर्षक हिमाल र दायाँपट्टिको खोचमा बादलले ढाकेको करिब ३,५०० मिटर उचाइको बादलडाँडासँगको साक्षात्कारले यात्राको थकान स्वतः हराउन लाग्यो।

स्वर्गको एक टुक्रा झरेर डाँडा बनेको भान हुने उक्त आकर्षक मोडले हामीलाई साह्रै मोहित बनायो। केही ओरालो नापेपछि उक्लिन थालिएको उकालो मार्गमा रहेका गेस्टहाउसको आगँनको डिलमा एकछिन सुस्तायौँ। छेउमा ठडिएको लठ्ठामा फरफहराइरहेको राष्ट्रिय झन्डाको क्षितिजमा देखिएको सेतो हिमालले मोहित नबनाउने त कुरै भएन। ३ बजेतिर चलिरहेको हावा, दाहिनेतर्फको क्षितिजमा तल देखिनै सेतो बादलले रंग्याएको प्राकृतिक सौन्दर्यले यात्रालाई थकानरहित बनायो। गुराँस, हरियाली जंगल, नीलो आकाश र सामुन्ने हाँसिरहेको हिमाल! त्यो क्षण मस्तिष्कमा बिर्सन चाहेर पनि हट्दो रहेनछ।

सात समुद्रपारिदेखि नेपाल घुम्न आउने विदेशी एवं आफ्नै देशको प्राकृतिक छटालाई आत्मसात् गर्न आउने स्वदेशीहरूको आकर्षणको केन्द्र भएको अन्नपूर्ण क्षेत्रभित्रको सुन्दर स्थान यिनै विशेषताहरूले भ्रमण योग्य भएका रहेछन्।

बादलडाँडाबाट हिँड्दा दिनको ४ बजिसकेको थियो। हामीलाई हाईक्याम्प पुग्नपर्नै थियो। उचाइ बढ्दै जाँदा हिँडाइको गति कम हुन स्वाभाविक थियो। डेढ घन्टाको यात्रपछि ‘हाई क्याम्प’ मा पुग्यौँ। त्यहाँको एउटा होटलको कोठामा झोला बिसाई हातमुख धोएर ढुंगा बिछ्याएको आँगनमा बस्यौँ। घाम लागेको र वरिपरि सफा भएकाले उत्तर दिशातर्फ हाँसिरहेका हिमाल मज्जाले देखिन थाले।

आँगनको डिलमा पलेटी मारेर बस्दै पोजपोजका फोटोहरू खिच्दाको क्षण पनि अविस्मरणीय रह्यो। अन्नपूर्ण, मार्दीलगायका हिमालले हामीलाई स्वागत गरिरहेका थिए। तपाईँहरू आइदिनुभएकोमा म आभारी छु भन्ने आशयको सन्देश दिएको हो कि भन्ने आभास भएको उक्त क्षणले भोलि बिहान मार्दी आधार शिविर पुग्ने उत्साहलाई थप मलजल गरेको थियो।

साँझ र सुत्नु अगाडि दिनभरिको यात्राको समीक्षा, उही अस्पताल, चिकित्सा क्षेत्र, डाक्टरी पढ्ने बेलाको अनुभव एकआपसमा साटासाट हुन्थो। समूहमा रहनुभएका डा. द्वारिका श्रेष्ठ र डा. पदमराज पन्त उमेरका हिसाबले साठी वर्षमाथि नै हुनुहुन्थ्यो तर उहाँहरूको हिँडाइ र यात्राप्रतिको लगाव हामी सबैका लागि अनुकरणीय थियो। डा. द्वारिकाले इटलीमा रहेर चिकित्साशास्त्र अध्ययन गर्दाको क्षण, इटालीको पिज्जा र पिज्जा बनाउन सक्ने सीपका बारेमा गरेको चर्चा मलाई असाध्यै चाख लागेको थियो।

पदयात्रामा डा. उमेश खनालको लामो अनुभवले डाँडाकाँडा, बाटो, हिमालहरूका बारेमा हामीलाई धेरै जानकारी प्राप्त हुन्थ्यो। स्थान विशेषको उचाइ, मार्गको दूरी, हिँड्दा लाग्ने अनुमानित समय वा बाटोको अवस्थिति यस्तो होला भनी डा. गेहराज दाहाल गुगल एपको जानकारी हामीलाई सुनाउनुहुन्थ्यो। अक्सर अन्य देशतिर जाँदा पदयात्रामा सहभागी हुने डा.प्रेम बसेल तथा यस प्रकारका पदयात्रा गरिरहनुहुने डा. गोपाल सेढाई तथा श्री सुनिलजीको अनुभवले पनि धेरै कुराको जानकारी हुन्थ्यो।

सिंगापुरमा रहेर पनि नेपाल आउजाउ गरिरहने र शिक्षण अस्पताल महाराजगन्जमा जनस्वास्थ्य क्षेत्रमा अभ्यास गर्नुभएकी आरटीसँग पश्चिमी देशहरूमा पदयात्रा गरेको अनुभव रहेछ। नेपालमा चाहिँ उहाँको यो पहिलो अनुभव हो। सामान्य ‘स्पोटर््र्स’ जुत्ता तथा सानो झोलामा आफ्ना आवश्यकताका सामान बोकी आरामले हिँडिरहेकी आरटीको यात्राप्रतिको लगाव, बाटो देखाउने र व्यवस्थापन गर्ने गाइड तिलप्रसाद भण्डारीले सानो झोला बोकेरे जिन्स पाइन्ट लगाएर हिँडिरहेको यात्राले उद्देश्य प्राप्तिका लागि इच्छाशक्तिको महत्त्व दर्शाएको थियो।

अन्य सदस्यहरू चाहिँ ट्रेकिङको जुत्ता लगाई ट्रेकिङमा प्रयोग हुने झोला र त्यसमा टनाटन सामान बोकेर हिँडेका थियौँ। म भने यस प्रकारको पदयात्रामा पहिलो पटक सामेल भएकाले हरेक क्षणलाई उत्साहका साथ लिइरहेको थिएँ। ४००० मिटरको उचाइमा रहेको हाई क्याम्पमा रात परेपछि चिसोप बढ्नु स्वाभाविक थियो। भोलि बिहान ४ बजेबाट बेस क्याम्पको यात्रा सुरु गर्ने योजनाका दिमागमा राखी सिरकभित्र गुटुमुटु भयौँ।

हामी चैत २९ गते बिहान करिब पाँच बजे हाइक्याम्पबाट मार्दीको आधार शिविरतर्फ लाग्यौं। अँधेरोमा टाउकोमा बत्ती बाँधेर वा एक हातमा मोबाइल बाल्दै अर्काे हातले लठ्ठी टेक्दै हिँड्दा उकाली, ओराली, सम्म र अधिकांश ठाउँमा बनेको सिँढीमा परैबाट अगाडि अन्य यात्रुहरू हिँडेको धिपधिपे लाइन देखिन्थ्यो। ठाडो एवं भिरालो जमिनमा निर्मित सिँढी र सिँढीको दायाँबायाँ राखिएको फलामे बारमा समाउँदै अघि बढ्दा स्याँस्याँ र फ्याँफ्याँ भइहाल्यो। समूहका साथीमध्ये कोही अगाडि, कोही पछाडि हुदै जाँदा जसलाई गाह्रो भए पनि सकेसम्म सहेर वा पचाएर भए हिँडिएको थियो।

साढे आठ बजे ४४५० मिटर उचाइमा रहेको ‘भ्यु प्वाइन्ट’ मा यत्रतत्र छरिएर रहेको हिउँमा हिँड्दै स्पर्श गर्न पाइयो। यहाँबाट अन्नपूर्ण साउथ, हिउँचुली, गंगापूर्ण, ठिंग अगाडि उभिएको मार्दी र सँगै अँगालो मारेर बसेजस्तो माछापुच्छ्रे हामीलाई मुस्कानका साथ स्वागत गरिरहेका थिए।

यात्राको उच्चतम बिन्दुमा पुग्न पाएको खुसीयालीमा त्यहाँ जम्मा भएका यात्रुहरू सबै रमाउँदै एक अर्कासँग खुसी साटासाट गर्दै थिए। हामी पनि त्यही हुलमुलमा रमाउन थाल्यौँ। डा. उमेश, डा. पदम, डा. प्रेम र मचाहिँ अन्य साथीलाई त्यहीँ छोडेर बेसक्याम्पतिर हान्नियौँ। मार्गको त्यस भागमा हिउँ त थियो नै त्यसमाथि ठूलाठूला ढुंगा थिए।

ओरालो स्थिति, त्यसमा रहेका बडेमानका ढुंगा र जमेको हिउँमा टेक्दै सावधानीपूर्वक मुस्किलले एकपटकमा एकजना मात्र अडिन मिल्ने बाटोको आकार भएको धर्साेमा हिँड्दाको क्षणमा डर र रोमाञ्चकता स्मृतिमा कहिल्यै हराउने खालको थिएन। त्यसमाथि एकातर्फ ठाडो भिर र अर्काेतर्फ जमेर बसेका हिउँका लप्काहरूका बीचमा कथंकदाचित खुट्टा लरबरिएमा चिप्लेर गुल्टिँदै कुन लोकमा पुगिन्छ अन्दाज गर्नसमेत सकिने अवस्था थिएन। अगाडि बढेपछि आएको अलि सास फेर्न मिल्ने सन्तोषजनक समथल स्थानमा पुगेर हिउँ खेल्न थाल्यौँ। कोहिले चिप्लेटी त कहिले हिउँमा सुतेर रमायौँ।

 

हिँडाइमा केही शिथिलता, लामो लामो सास, केही गह्रौँपनको महसुस  भइरहेको थियो। त्यहाँबाट बेस क्याम्प पुग्न आधा घन्टा फेरि उही स्तरको मेहनत गर्नुपर्ने रहेछ। हिमालको सौन्दर्यलाई त्यहीँबाट तृप्त हुने गरी अनुभूत गरिसकेकाले त्यहीँबाट फर्कँदा पनि केही घाटा हुँदैन भनी म र डा. उमेश फर्कन थाल्यौँ। हाम्रो समूहका सक्रिय एवं सबैलाई उत्प्रेरित गर्ने क्षमता भएका डा. प्रेम र डा. पदम यहाँसम्म त आइयो, केही बल गरेर आधार शिविर भनिने स्थानसम्म टेक्नुपर्छ भनी अगाडि बढ्नुभयो।

हामी अरू साथीहरू बसेको ठाउँमा आइपुग्दा त्यहाँ पाएको कालो चियाले केही सजिलो बनायो। हात तन्काउन सकियो। अगाडि हाँसेर उभिएका हिमालहरू छुन सकिने अनुभूत भयो। वरिपरि देखिएका हिमाललाई छेक्न क्षणभरमै तलतिर बाट आएका बादलले राज गर्न थाल्यो। एकैछिनमा वरिपरि केही नदेखिने गरी कुहिरोले ढाक्यो।

होटलमा आइपुग्दा १० बजेको थियो। आधारशिविर पुगेका साथीहरूलाई पर्खियौँ। उहाँहरू आएपछि खाना खाएर हामी त्यस स्थानलाई धन्यवाद दिँदै फर्किन थाल्यौँ। उभिइरहेको याकले हान्छ कि भनी डराई डराई नजिक गएर फोटो खिज्दा वा भिरमा रहेको मार्गको दायाँपट्टि ठडिएको गुराँसको बोटमा फुलेका गुँरास टिप्न डराएर हात लम्काएको वा फोटो खिच्न रूखको हाँगामा चढ्न गरिएको प्रयास आफैँमा रोमाञ्चक थियो। उही आकर्षक बादलडाँडा हुदै ‘लो-क्याम्प’ आइपुगेपछि त्यस दिन त्यहीँ बस्ने चाँजोपाँजो मिल्यो।

गेस्टहाउसमा आराम गर्दै नाचगान गर्दा र यात्राका बारेमा समीक्षा गरी रातको ९ बजे हामी खाटमा पल्टियौँ। भोलिपल्ट हामीले ‘फरेस्ट क्याम्प’ हुँदै उक्लेको बाटो परिवर्तन गरेर ‘लो क्याम्प’ बाट सीधै सिधिङ गाउँ हुँदै फर्कने योजना बनायौँ। केही ठाडो ओरालो र जंगल भएकोले चिप्लो हुन सक्ने भए पनि झर्न सकिन्छ भन्ने तिलप्रसादको सुझावपछि हामीले त्यही मार्ग पछ्याउन थाल्यौँ। जंगलबीचको चिप्लो र ठाडो बाटोमा एकाध घन्टा केही संघर्ष गर्दै हिँड्यौँ।

यस क्रममा कोही अगाडि कोही पछाडि हुनु स्वाभाविक थियो। मार्दी यात्रामा अधिकांश बाटो हरियो जंगल भएर गुज्रने भएकोले यसलाई ‘ग्रिन पदयात्रा’ भनिँदो रहेछ। हामी क्रमशः उचाइबाट झर्दैै थियौँ।  चिप्लिएर डा. गेहराजको हातमा चोट लागेको थियो।

ओर्लने क्रममा म र डा. पदमराज पन्त अगाडि अगाडि भयौँ। डा. पन्तको गति र स्फुर्ती प्रेरणादायी थियो। पिठ्युँमा भारी झोला भिरेर दुईवटा लठ्ठीले टेक्दै सिलित्तै ओर्लन सक्ने उहाँको क्षमता लोभलाग्दो थियो।
जंगल पातलो हुँदै गयो। चर्काे घाम लागिरहेको थियो। हावा लागिरहेको हुँदा हिँड्न केही सहज त पक्कै भयो। जंगल सकिएपछि ढुंगा र गेग्रेनयुक्त बाटोमा रहेको एउटा होटलमा केही क्षण सुस्ताएर फेरि ओरोलो लाग्यौँ। बाटो अन्त्य हुँदै थियो।

प्रकृतिमा चुर्लुम्मै डुब्दै हिँड्ने पदयात्रामार्ग थप व्यवस्थित बनाउन ठाउँठाउँमा राखिएका फोहोर संकलन गर्ने खाल्डालाई नियमित सफाइ गर्नुपर्ने, जानकारीमूलक सन्देश भएको बोर्डहरू राख्नुपर्ने, कम्तीमा होटलहरू भएको स्थानमा न्यूनतम स्वास्थ्य सेवाको व्यवस्था मिलाउनु पर्ने, सिँढी नियमित मर्मतसम्भार गर्नुपर्ने र शौचालयको व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस गरियो।

खाना खायौँ। सहजकर्ताले व्यवस्था गरिदिनुभएको वाहन होटलकै आँगनमा आउने रहेछ। ६ दिनको यात्रालाई बिट मार्दै लागियो मार्दी पुल हुँदै पोखरातिर। नयाँ वर्षको अघिल्लो दिनको १ बजे पोखरा पुग्यौँ। हामीलाई गाइडको रुपमा सहयोग गर्ने भाइलाई बिदा गर्‍यौँ। डा. पदमराज पन्त उहाँको आफन्तको घरअगाडि ओर्लनुभयो। बाँकी हामी लेकसाइडतर्फ लाग्यौँ। आआफ्नो झोलीतुम्बा बोकी सडकमा बरालिन थाल्यौँ।

यसै क्रममा सडकछेवैको एक स्टोरमा चिसो कोक, जुस, पानी लिएर बाहिर पेटीमा रहेको सानो चौतारोमा बसेर खान थाल्यौँ। नयाँ वर्षको अघिल्लो दिन भएकाले सडक उत्सवमय थियो। डा. उमेश खनाल, डा. द्वारिका श्रेष्ठ र म त्यही दिन काठमाडौँ फर्कने र अन्य साथीहरू सुनिल पोखरेल, डा. प्रेम बसेल, डा. गोपाल सेडाई, डा.गेहराज दाहाल र आरटी पोखरामै बस्ने निर्णय भयो। उहाँहरू होटल खोज्न थाल्नुभयो भने हामी तीनजना फेवातालको किनाराबाट उही माछापुच्छ्रेलाई  अवलोकन गर्न थाल्यौँ। ४ बजेपछि हामी पोखरा क्षेत्रीय विमानस्थलतिर लाग्यौँ।

प्रकाशित: २९ भदौ २०८१ ९:२६

प्रतिक्रिया

2 thoughts on “स्मृतिमा मार्दीको आँगन  

  1. असादै रमाइलो लाग्यो यो लेख पढेर…. मार्दिको सेरोफेरो….आफै गएको अनुभूति भयो!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast