बेसहाराको सहारा बन्यो मानव सेवा आश्रम

रमा केसी २८ भदौ २०८१ १६:००
48
SHARES
बेसहाराको सहारा बन्यो मानव सेवा आश्रम सुर्खेतस्थित मानव सेवा आश्रममा सहाराविहीनहरू। तस्बिर : रमा केसी

सर्खेत- मानव सेवा आश्रम, सुर्खेतको गेट खोलेर पस्नासाथ मन आत्तिन्छ। कोही त डराउँछन् पनि। सहाराविहीन मानिससँग झट्ट आँखा जुधाउन अप्ठ्यारो लाग्छ। कोही हाँसिरहेका हुन्छन्। कोही रिसाइरहेका हुन्छन्। कोही खुसीले नाचिरहेका हुन्छन्। कोही आफ्नै सुरमा बोलिरहेका हुन्छन्। कोहीको आँखा कसैको पर्खाइमा भएजस्तो लाग्छ। नयाँ मानिस देख्नासाथ कोही आएर नमस्ते गर्दै भन्थे, ‘जय मानवसेवा।’

उनीहरूको हाउभाउ हेर्दा कसैले धकेल्छ कि पिट्छ कि सामान पो खोसिदिन्छ कि भन्ने डरले मन भारी हुन्छ। केही मिनेटको यो डर र अत्यासपछि आश्रमका व्यक्तिहरूले देखाएको माया र सम्मानले मुहार उज्यालो हुन्छ अनि ओठमा मुस्कान सजिन्छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित मानव सेवा आश्रमको दृश्य हो यो। जहाँ छन् कर्णालीका विभिन्न स्थानका सडकमा अलपत्र परेका असहाय र सहाराविहीनहरू। जसलाई सहारा दिइरहेका छन् नेपालका विभिन्न स्थानका १० युवकयुवतीले।

आश्रमको संरक्षणमा रहेका बेसहारा बालबालिकालाई आमाले जस्तो, युवालाई दिदीबहिनीले जस्तो, वृद्धवृद्धालाई छोरीहरूले जस्तो माया, स्नेह र स्याहारले उनीहरूलाई नयाँ जीवन दिन प्रयास गरिरहेको युवाको भनाइ छ। उनीहरू सडकपेटीमा भेटिएका मानिसको उद्धार गर्ने, आश्रममा ल्याएर सरसफाइ गर्ने, खुवाउने, चौबीसै घण्टा हेरचाहको काम गर्छन्। आश्रममा कार्यरत युवले स्वयंसेवी रुपमा बेसहारा मानिसको सेवा गरिरहेका छन्।

मानसिक अवस्था ठिक नभएका मानिसहरू सन्चो भएर घर फर्किँदा आफूहरूको अभियानले सार्थकता पाएको आश्रमकी केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमले बताइन्। ‘सडकपेटीमा भेटिएकाहरूको अवस्था एकदमै नाजुक हुन्छ। आश्रम ल्याएर सरसफाइ गरेपछि उहाँहरू फेरिनुहुन्छ। आफैँ सरसफाइ गर्न पनि सिकाउँछौँ। मानसिक रूपमा ठिक भएकाहरू केही दिनपछि उहाँहरू आफ्नो परिवार खोज्न थाल्नुहुन्छ’, उनले भनिन्। निको भएपछि धरैजसो घर फर्किने र कतिपय त घर जानै नमान्ने गौतमले बताइन्। घरको ठेगाना थाहा नभएकाचाहिँ त्यहीँ बस्छन्।

३४ वर्षीय अंशुक ओसारी ६ महिनाअघिसम्म सडकमै बस्थे। बोल्न र शरीर हलचलसमेत गराउन नसक्ने अवस्थामा जाजरकोटमा भेटिएका उनलाई स्थानीय जनप्रतिनिधिको सहयोगममा उपचारका लागि जाजरकोट जिल्ला अस्पतालमा राखियो। त्यहाँ उनको उपचार सम्भव भएन। त्यसपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतको ओसीएमसीमा राखेर उपचार गरियो। १४ दिनको उपचारपछि पनि उनको सम्पर्कमा कोही आफन्त नआएपछि अस्पतालमै बेवारिसे भए।

मानव सेवा आश्रम सुर्खेतका प्रतिनिधिले उनी बेवारिसे अवस्थामा भएको थाहा पाएपछि २०८० चैतमा उद्धार गरी आश्रममा ल्याएको गौतमले बताइन्। आश्रमका व्यक्तिहरूको हेरचाहले गर्दा अहिले उनी निको हुँदै गएका छन्। उनी स्पष्ट बोल्न नसक्ने भएकाले उनको परिवारबारे थाहा हुन नसकेको आश्रमका स्वास्थ्यकर्मी सिर्जना शाहीले बताइन्।

जुम्लाको चन्दननाथ नगरपालिकामा सडक आश्रित जीवन गुजारिरहेकी वृद्धा माया (मानव सेवा आश्रममा ल्याएपछि राखिएको नाम) बोल्न सक्दैनिन्। कोही मानिस आश्रममा देख्यो कि मुस्कुराउँदै हात जोड्छिन्। उनलाई थाहा छैन आफ्नो घरपरिवारका बारेमा।

खान आफैँ खान नसक्ने वृद्धाको शारीरिक अवस्था नाजुक थियो। आश्रमका कर्मचारीको माया र स्याहारले उनको मुहारमा खुसीको चमक देखिन्छ। आश्रमका कर्मचारीसँग उनी निकै रमाउँछिन्। हातमा मोबाइल पर्नासाथ आफन्तसँग कुरा गरेजस्तै गरी कानमा टाँसेर बेस्सरी आवाज निकाल्दै दिल खोलेर हाँस्छिन्। उनको परिवार र आफन्त भनेकै आश्रमका कर्मचारी भएका छन्।

मानव सेवा आश्रम सुर्खेतमा ७४ जना आश्रित छन्। हालसम्म ३ सय ६८ जनाको उद्धार भएको छ। १ सय ७९ जनाको परिवारसँग पुनर्मिलन भएको छ। २९ जनाको पुनस्र्थापना भएको छ भने ३९ जनाको आश्रममै निधन भएको छ।

वीरेन्द्रनगरका ६० वर्षीय सुन्तले दमाईको परिवार सडकमै बेवारिसे जीवन बिताइरहेको हुन्थ्यो। आश्रमले उनको परिवारलाई नयाँ जीवन दियो। सडकमा बेवारिसे भएर जीवन गुजारिरहेका दमाईसहित उनका परिवारका पाँचजना सदस्यलाई २०७८ माघ २८ गते आश्रमको सहयोगमा उद्धार गरिएको थियो।

आर्थिक अवस्था नाजुक भएका कारण मानसिक सन्तुलन गुमाएका दमाई र उनको परिवारले आश्रममा दुई वर्ष तीन महिना बिताएपछि उनीहरूको स्वास्थ्य अवस्थामा सुधार आयो। २०८१ वैशाख १ गते उनीहरूलाई वीरेन्द्रनगरको गणेशचोकमा सानो कोठा भाडामा लिएर राखिएको छ।

आश्रमका प्रतिनिधिबाट पाएको माया र स्याहार सुसारले दमाईको परिवारले नै सडक जीवनबाट मुक्ति पाएको छ। ‘अहिले म सडकबाट कवाडी बटुलेर बेचेर, सामान लोड अनलोड गरेर कमाइ गरिरहेको छु’, दमाई भन्छन्, ‘आश्रममा गएपछि मेरी छोरीले रक्सी खाना छोडेकी छ, मर्नै लागेको मेरी नातिनीलाई पनि आश्रमका मान्छेले बचाइदिए। अहिले हामी आफैँ कमाएर खाने भएका छौँ। श्रीमती पनि अरुको घरमा भाँडा माझ्ने काम गर्छिन्।’

मानव सेवा आश्रम गैरनाफामूलक सामाजिक संस्था हो। रामजी अधिकारीले व्यक्तिगत रुपमा सुरु गरेको संस्थामा सहयोगापेक्षी मानवमुक्त नेपाल घोषणाका लागि ठूलो अभियान बनेको छ।

२०६९ भदौ १३ गते स्थापना भएको यो संस्था अहिले नेपालको सातवटा प्रदेश, १९ वटा जिल्ला र २४ वटा सेवा केन्द्रबाट सहयोगापेक्षी मानवहरूलाई सेवा दिँदै आएको छ। कर्णाली प्रदेश सुर्खेतमा २०७५ साल माघ १८ गतेदेखि सेवा सुरु भएको हो।

कर्णाली प्रदेश २०७६ माघ ४ गते सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भएपछि सुर्खेतमा पनि आश्रम स्थापना गरिएको थियो। आफ्नो घरपरिवारदेखि सहाराविहीन भएर सहयोगापेक्षी भएर खाना, नाना र छानाको अभावमा सडक तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीबन बिताइरहेका मानिसहरूको सेवा गर्ने उद्देश्यका साथ आश्रमको स्थापना भएको हो।

मानवसेवा आश्रम संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भई समाजकल्याण परिषद्मा आबद्ध छ। विधानअनुसार आश्रमको मुख्य कार्यालय मकवापुर हेटौँडामा र दर्ता कार्यालय सामाखुसी काठमाडौँमा छ।

नेपालका विभिन्न ठाउँमा सेवा केन्द्र स्थापना गरी सहयोगापेक्षी सडक आश्रित मानवहरूको सेवा गरी उनीहरूलाई पुनःस्थापना गरेर सहयोगापेक्षी मानवमुक्त राष्ट्र घोषणाका लागि अभियान थालिएको आश्रमका सुर्खेत जिल्ला संयोजक सुजन गौतमले बताए।

आश्रमका लागि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ६३ लाख रुपैयाँ बजेट दिएको छ। आश्रमकी कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा २० लाख, २०७७/०७८ मा १५ लाख, २०७८/०७९ मा १० लाख, आर्थिक वर्ष २०७९/०८० मा ८ लाख र चालु आर्थिक वर्ष २०८०/०८१ मा १० लाख रकम उपलब्ध गराएको छ। ‘सरकारले हरेक वर्ष बजेट घटाउँदै गएको छ’, उनले भनिन्, ‘हामीले राम्रोसँग खर्च गर्ने हो भने मासिक खर्च १० लाख हुन्छ। सरकारले हाम्रो काम हो भनेर जिम्मेवारी बोध गरेको छैन।’

असहाय मानवहरूलाई सहयोग गर्नुपर्ने दायित्व सरकारको भए पनि चासो नदिएको गौतमको आरोप छ। वीरेन्द्रनगर नगरपालिकाले मासिक ६१ हजारका दरले वार्षिक ७ लाख ३२ हजार रुपैयाँ आश्रमको भाडा तिर्दै आएको छ।

आश्रममा विभिन्न क्षेत्रबाट हुने सेवा दान तथा सहयोगबाट वार्षिक ६० देखि ७० लाखसम्म रकम संकलन हुने गरेको छ। आश्रममा केहीले आफ्नो जन्मदिन, वैवाहिक वार्षिकोत्सव, पितृहरूको सम्झनामा सहयोग गर्दै आएका छन्। यसैगरी विभिन्न स्कुल, कलेज, संघसंस्था तथा व्यक्तिहरूबाट पनि मुठीदान संकलन हुने गरेको छ।

संयोजक गौतमले भनिन्, ‘हामी सफल हुनुको अर्थ यो होइन कि अब सहयोगापेक्षी मानव नै छैनन् तर सडकमा आश्रित मानिस भेटिएपछि उद्धार गरेर ल्याउने स्थान छ र वातावरण छ।’ कसैले सडकमा त्यस्ता व्यक्ति भेट्टाएपछि आश्रममा पुर्याउनुपर्छ भन्ने सोचको विकास भएको जानकारी उनले दिइन्।

कर्णालीका सडकमा आश्रित यति नागरिक छन् भन्ने तथ्यांक छैन। यसका लागि स्थानीय सरकार जागरुक हुनुपर्ने गौतमको भनाइ छ। ‘अहिले पनि यहाँ हुम्ला, जुम्लाका विभिन्न स्थानका मानिस यहाँ हुनुहुन्छ्’, उनले भनिन्, ‘हामीले त्यहाँका वडाका प्रतिनिधिलाई तपाईंको वडाको मान्छे यहाँ हुनुहुन्छ, सन्चो भइसक्नुभयो उहाँको परिवारलाई खबर गरिदिनुस् भन्दा पनि उहाँहरूबाट कुनै सुनुवाइ हुँदैन। स्थानीय सरकार नै जिम्मेवार छैन।’

प्रकाशित: २८ भदौ २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =