नक्कली कागजपत्र बनाएर इजरायल पठाउन विभागकै कर्मचारी संलग्न!

हिमाल प्रेस २७ भदौ २०८१ २२:२९
52
SHARES
नक्कली कागजपत्र बनाएर इजरायल पठाउन विभागकै कर्मचारी संलग्न! इजरायल।

काठमाडौंँ-  वैदेशिक रोजगार विभागका कर्मचारीको सेटिङमा इजरायल जाने कामदारको नक्कली कागजात पेस भएको दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले गरेका छन्।

विभागका कर्मचारीले आवेदकहरूको कागजात राम्ररी अध्ययन नगरी इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) मा पठाएको पाइएको श्रम मन्त्रालयका  ती अधिकारीले दाबी गरे। ती अधिकारीका अनुसार विभागका कर्मचारीले नै नक्कली कागजात पेस गरी स्वीकृति गरेको पाइएको छ।

‘इजरायलको केयर गिभरका लागि पेस गरिएको कतिपय कागजातमा तालिम दिने संस्थाको नाम र दर्ता कतै भेटिँदैन भने कतिपय आवेदकले पेस गरेको तालिम प्रदायक संस्था दर्ता छैन। यसमा विभागकै कर्मचारीको मिलेमतो देखिएको छ ’, ती अधिकारीले भने। उनले विभागका कर्मचारी र केयर गिभरको नक्कली प्रमाणपत्र बेच्ने गिरोहबीच साँठगाँठ भएको विषयमा मन्त्रालयले अनुसन्धान गर्ने बताए।

विभागका अधिकारीहरू भने प्रक्रिया पूरा गरेर कागजपत्र पेस गरिएको बताउँछन्। विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले  नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार केयर गिभरको कागजात अध्ययन गरी पिवामा पठाइएको बताए। उनले भने, ‘इजरायलले माग गरेको आवश्यक प्रमाणपत्र र प्रक्रिया पुगेका कागजातकै आधारमा नाम पठाइएको हो।’

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने सहायक कामदारका लागि आवेदन दिँदा पेस गरिएका कतिपय केयर गिभर तालिमका कागजात नक्कली भएको सार्वजनिक भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

समितिले छानबिन गरिरहेकै बेला भदौ १५ गते पिवाले गोलाप्रथाबाट नेपाली कामदारको आवेदन छनोट गरेको थियो।

समितिले छानबिन गरेको प्रतिवेदन श्रमसचिव मुकुन्द निरौलालाई बुझाएको छ। सरकारी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभरसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने आवेदनमा भनिएको छ। श्रम मन्त्रालयका उपसचिव मेघनाथ रिमालले कतिपय कागतजात नक्कली भेटेपछि इजरायल जाने कामदारको छनोट प्रक्रिया स्थगित गरिएको बताए।

ससाना कमजोरीका कारण कूटनीतिक र श्रम सम्झौताजस्ता विषयमा प्रभाव पर्ने भएका कारण पनि कामदार आपूर्ति गर्ने देश होसियार हुनुपर्ने उनले बताए। ‘नक्कली कागतजात पेस गर्ने कामदार र बेच्ने तालिम प्रदायक संस्थामाथि कानुनी कारबाही हुन्छ’, उनले भने।

सरकारले गत असार १२ गते इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न केयर गिभरका लागि आवेदन खुलाएको थियो। त्यसमा ४ हजार २४ जनाले आवेदन दिएका थिए। तीमध्ये ३ हजार ४ सय ६१ जनाको नामावली वैदेशिक रोजगार विभागले इजरायलको पिवामा पठाएको थियो। जसमा पिवाले भदौ १५ गते गोलाप्रथाबाट २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरिसकेको छ।

प्रकाशित: २७ भदौ २०८१ २२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast