प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

हिमाल प्रेस २७ भदौ २०८१ १७:०१
18
SHARES
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले बिहीबार कार्यसम्पादन सम्झौता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ। यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो।

अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१-०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन्।

प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना छ। लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्यांकन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो।

नेपालबाहिर रहेका कारण अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि सम्पन्न हुनेछ।

ढिलो काम गर्ने र विश्राम गर्ने छुट छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष्यअनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन्। संघीय सरकारका मन्त्रीहरू र मुख्य सचिवसँग बिहीबार कार्यसम्पादन सम्झौता गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले के गर्छौँ भन्ने कुरा थाहा नहुँदासम्म काम गर्न नसकिने बताए।

त्यसैले कति समयमा कति काम गर्ने भन्ने कुराको लक्ष निर्धारण गर्न मन्त्रीहरूसँग कार्यसम्झौता गरेको ओलीले स्पष्ट पारे। ‘हामी टिम स्प्रिडमा काम गर्छौँ, एक अर्कालाई सहयोग गर्छौँ। देशप्रति जिम्मेवार भएर अत्यन्त बफादारीताका साथ काम गर्छौँ, जनताका बृहत्तर हितहरूमा, लोकतन्त्रको रक्षाका लागि, समाजमा शान्ति सुव्यवस्थाका लागि, देशमा सुशासन र समृद्धिको यात्रालाई गतिशीलताका साथ अगाडि बढाउनका लागि हामी सहमत छौँ र हामी प्रतिबद्ध छौँ’, ओलीले भने।

ओलीले बिस्तारै सुबिस्तासँग काम गर्ने विगतको अभ्यास भए पनि अहिले ढिलो गर्ने र विश्राम गर्ने सुविधा सरकारलाई नभएको बताए। ‘हामीले अत्यन्तै तीव्र गतिले काम अगाडि बढाउनुपर्ने छ। हाम्रो गतिमा तीव्रता चाहिन्छ, काममा योजनाबद्धता चाहिन्छ र एक अर्कामा पारस्परिक सहयोग चाहिन्छ’, ओलीले भने।

एउटा मन्त्रालय र अर्को मन्त्रालयबीच समन्वय गरेर काम गर्न आग्रह गर्दै ओलीले कुनै पनि कुरामा डुप्लिकेसन नगर्न सचेत गराए।

प्रकाशित: २७ भदौ २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast