
काठमाडौँ– नागरिकको जीवनमा तत्काल असर पर्ने विषय भन्दा पर गएर प्रतिनिधिसभामा अनावश्यक बहसले स्थान पाइरहेको छ। त्यसमा सांसदहरू पनि रमाइरहेका छन्। यद्यपि उनीहरू संसदीय गरिमा र महत्त्वबारेमा बोलेर थाक्दैनन्। प्रतिपक्षमा हुँदा होस् वा सत्तामा रहँदा अनावश्यक विषयमा बहस गरेर संसद्को समय खेर फालेको चाहिँ उनीहरू पत्तै पाउँदैनन्।
सांसदहरूको यस्तै प्रवृत्तिका कारण देशको कानुन बनाउने थलो बेलाबेलामा अवरुद्ध हुँदै आएको छ। यसले गर्दा संसदीय गतिविधि ठप्प हुने गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध हुनु यसकै एउटा उदाहरण हो। बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो। कारण – २०५२ सालदेखि नेकपा माओवादी केन्द्रले गरेको सशस्त्र विद्रोहलाई हेर्ने दृष्टिकोणमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूको फरकफरक तर्क छ।
भदौ १२ गते नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेका थिए। माओवादी हिंसा नभएको भए नेपालमा छिट्टै लोडसेडिङ अन्त्य हुने उनको भनाइ थियो।
त्यसपछि माओवादी केन्द्रका सांसदहरूले नियमापत्ति गरे। संविधानमा माओवादी आन्दोलनलाई सशस्त्र युद्ध लेखिएको भन्दै भट्टराईले बोलेको ‘माओवादी हिंसा’ भन्ने शब्द रेकर्डबाट हटाउन माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले अध्ययन गर्न संसद् सचिवालयलाई निर्देश गरेका थिए।
सभामुख घिमिरेले बुधबार एमालेका सांसद भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय सुनाए। त्यसपछि माअोवादी केन्द्रले संसद् अवरोध गर्यो। सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए। त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिए।
पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए। सभामुखले यस विषयमा वादविवाद नगरौँ भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद् अवरोध गरे।
माओवादी सांसदहरुले अवरोध जारी राखेपछि सभामुख घिमिरेले माओवादी सचिवसमेत रहेका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए। पौडेलले विगत बल्झाएर शान्तिप्रक्रिया बिथोल्न खोजेको भन्दै आपत्ति जनाए। संविधानसँग प्रतिकूल हुने शब्दले विगतमा भएको राजनीतिक आन्दोलनको अवहेलना हुने उनको भनाइ छ।
त्यसपछि सभामुखले पुनः माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए। उनले सभामुख र संसद् सचिवालयले योगेश भट्टराईको भाषणबाट हिंसा शब्द नमेटाउने निर्णय पूर्वाग्रही रहेको आरोप लगाए।
त्यसपछि सभामुखले एमाले सांसद महेश बर्तौलालाई समय दिए। उनले सभामुखले गरेको निर्णय सबैले मान्नुपर्ने बताए। माओवादी सांसदहरुले संसद अवरोध जारी राखे। माओवादी सांसदहरुले अवरोध जारी राखेपछि सभामुख घिमिरेले ३० भदौसम्मका लागि बैठक स्थगित गरे। यसअघि एमाले र माओवादी केन्द्र सरकारमा सँगै थिए। विगतमा यी दल मिलेर नेपाल कम्युनिस्ट पार्टीसमेत बनेको थियो।
यसबीचमा सरकारले माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको थियो। त्यस्तो सार्वजनिक बिदाको निर्णय भने सर्वोच्च अदालतबाट बदर भएको छ। एमाले र माओवादी पटकपटक सरकारमा सँगै थिए। सरकारमा सँगै हुँदा नरम र प्रतिपक्षमा हुँदा गरम हुने प्रवृत्तिबीच माओवादी आन्दोलनलाई हेर्ने दृष्टिकोणलाई लिएर दुई दलबीच पछिल्लो समय वादविवाद भएको छ।
यसकै निरन्तरतामा नागरिकको जीवनमा तत्काल असर पर्ने विषय भन्दा पर गएर पछिल्लो समय उक्त राजनीतिक आन्दोलनलाई हेर्ने दृष्टिकोणलाई लिएर प्रतिनिधिसभाको बैठक प्रभावित भइराखेको हो। संसद्मा बहस हुनुपर्ने विषय धेरै छन्। जनताका पक्षमा गर्नुपर्ने काम धेरै छन्। सांसदहरू यस अगाडि पनि पटकपटक यस्तो अनावश्यक बहसमा रमाइरहेका उदाहरण प्रसस्तै पाइन्छन्।
गत वर्ष भदौ २५ गते प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भैँसी चढेर आएको टिप्पणी गरे। उनको टिप्पणीलाई बल पुग्ने गरेर तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले समर्थन गरे।
त्यसबेला रास्वपाका खनालको भनाइप्रति माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए। सभामुख देवराज घिमिरेले ‘भैँसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि त्यस दिन संसदमा सत्तापक्ष र प्रतिपक्षबीच दिनभरि विवाद चल्यो।
अहिले रास्वपा प्रतिपक्षमा छ। कांग्रेस एमाले नेतृत्वको सरकारमा छ।
पूर्वसभामुख दमननाथ ढुंगाना संसद् आफैँमा महत्त्वपूर्ण थलो भएको बताउँछन्। उनका अनुसार संसदीय व्यवस्थामा संसदको महत्त्व जनताको महत्त्व हो। जनताले चुनेका जनप्रतिनिधि संसद्मा प्रतिनिधित्व गर्छन्। जनप्रतिनिधिले नै हो संसदको गरिमा, महत्व बुझ्ने। संसदमा जनताको विषयमा जस्तो बहस हुनुपर्ने हो त्यस्तो बहस भइराखेको छैन। उनले भने, ‘संसद् गरिमामय ठाउँ हो। गरिमामय ठाउँको गरिमा राख्ने खालका सांसद हुँदा गरिमा रहन्छ, नत्र रहँदैन।’