लुम्बिनी- भैरहवाबाट बुद्धजन्मस्थल लुम्बिनी जाँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कट्नेबित्तिकै आइपुग्छ बेथरी। बेथरीको पुलको आडैमा छ इलाका प्रहरी कार्यालय। त्यही प्रहरी कार्यालयको पश्चिमबाट बेथरी गाउँ जाने सडक छ। सडकबाट सोझै दुई सय मिटर उत्तर लागेपछि पुगिन्छ सुभाषचन्द्र पासवानको घर।
यो यस्तो घर हो, जसले तीन पुस्तादेखि ताडी (खजुर/तरकुलको जुस) को स्वाद चखाउँदै आएको छ। सुभाषचन्द्रका हजुरबुवा मुसेफ रूपन्देहीसहित पश्चिम तराईमा ताडीको स्वाद चखाउनेमध्येका दुर्लभ पात्रमा पर्छन्।
मुसेफले स्वादमात्रै चखाएनन् उनको परिवारको घरखर्च धान्ने आधार ताडी थियो। बुवा रामसुमुझ पासवान हुँदै छोरा सुभाषचन्द्रसम्मले ताडीलाई जीवन निर्वाहका माध्यम बनाएका छन्। बेथरी भन्नेबित्तिकै धेरैले ताडीकै याद गर्छन्। त्यही ताडी पाउने बेथरीकै पुरानो ठाउँमध्येको एउटा घर सुभाषचन्द्रको हो। ‘तीन पुस्तादेखि ताडीको स्वाद चखाइरहेका छौँ’, सुभाषचन्द्रले भने, ‘खेतीपातीसँगै यो हाम्रो मुख्य पेसा बनेको छ।’ हजुरबुवाको ९५ वर्षमा र बुवाको ७२ वर्षको उमेरमा निधन भएको उनले बताए।
ताडी प्राकृतिक रूखको चोपबाट निस्केको जुस हो। रूखको माथिल्लो भागलाई ताछेर निस्कने तरल पदार्थ तराईमा ताडीका रूपमा प्रख्यात छ। तराई मधेशमा ताडी अत्यन्त लोकप्रिय पेय पदार्थ हो। यो नशालु पनि हुन्छ। त्यसैले यसलाई ‘नेचुरल वाइन’ समेत भन्ने गरिन्छ। खजुर र तरकुलको रूखको चोप अर्थात् रस ताडी हो।
सुभाषचन्द्रलाई गर्मीका तीन महिना वैशाख, जेठ र असारमा भ्याईनभ्याई हुन्छ। गर्मीका बेला शीतलता प्रदान गर्ने ताडी भैरहवाबाट लुम्बिनी हुँदै पश्चिम जाने र लुम्बिनी हुँदै पूर्व लाग्ने यात्रुको समेत रोजाइको पेय पदार्थ हो। सुभाषचन्द्रले ताडीबाटै घरखर्च मात्रै चलाएका छैनन्, दुई छोरा र दुई छोरीको पढाइखर्च पनि यसैले धानेका छन्।
‘बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म घरमै ताडी खान र किन्न आउँछन्’, उनले भने, ‘सिजनका बेला दैनिक ३० बोतलसम्म बिक्री हुन्छ।’ उनका अनुसार गर्मीका तीन महिना वैशाख, जेठ र असार सिजन हो भने असोजसम्म यसको थोरै व्यापार हुन्छ।
भैरहवाबाटै करिब ५ किमिको दुरीमा छ बेथरी। लुम्बिनीबाट पनि करिब १५ किमिको दुरीमा पर्छ। बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्न आउने यात्रु र हुलाकी राजमार्ग हुँदै पूर्व र पश्चिम लाग्ने यात्रुले बेथरीको ताडीको स्वाद नचाखी हिँड्दैनन्।
सुभाषचन्द्रको घर मायादेवी गाउँपालिका-६ मा पर्छ। ४३ वर्षीय सुभाषलाई उनकी ४२ वर्षीया श्रीमती लक्ष्मी पासवानले साथ दिएकी छन्। सुभाष रूखबाट रस निकाल्ने काममा खटिन्छन् भने श्रीमती लक्ष्मी घरमा आउने ग्राहकलाई ताडी बिक्री गर्छिन्। ‘पहिला एकतला मात्रै घर थियो, ताडीको व्यापार र खेतीपातीसमेत गर्दा अहिले दुईतले घर बनाएको छु’, सुभाषले आफ्नो पौरख सुनाए। उनीसहित बेथरीका नौ-दस घरमा ताडीको व्यापार हुन्छ।
‘हाम्रो बाजेको पालादेखिको हो, धेरै टाढाबाट ग्राहक आउनुहुन्छ’, उनले भने। उनकहाँ पश्चिम नवलपरासीदेखि, भैरहवा, बुटवल, मणिग्राम, कपिलवस्तु, सैनामैना हुँदै पाल्पासम्मबाट ताडीको स्वाद लिन आउँछन्। ‘सिजनका बेला शनिबार त घरमा बस्ने ठाउँ हुँदैन’, लक्ष्मीले भनिन्, ‘अन्य बेलामा फाटफुट आइरहनुहुन्छ।’ उनीहरूको घर पसल हो। घरमा एउटा खटिया र तीनवटा खाट छन्। त्यही बसेर ताडीको स्वाद लिनेहरु भेटिन्छन्।
‘गर्मीको बेला म यहाँ ताडी खान आइरहन्छु’, सुभाषचन्द्रको घरमा ताडीको स्वाद लिँदै गरेका सियारी-७ अमुवा रुपन्देहीका राकेश यादवले भने। साथीहरुसँग बेलाबेलामा ताडीको स्वाद लिन आउने गरेको सुनाए।
उनीजस्तै ताडीको पारखी हुन् अमुवाकै आकाश यादव। उनले वैशाखदेखि भदौसम्म बेलाबेलामा ताडीको स्वादका लागि यहाँ आउने गरेको सुनाए।
त्यसो त सुभाषचन्द्रले तयार पारेको ताडीको पारखीहरू टाढाटाढासम्म छन्। पहाडी मूलका बासिन्दादेखि बेथरी हुँदै यात्रा गर्ने यात्रुसम्म छन्। सामान्यदेखि ठूला मानिससम्म सुभाषचन्द्रको घरमा बसेर ताडीको स्वाद लिन्छन्।
‘आउन त ठूलाठूला मान्छे पनि आउँछन्, कतिलाई हामीले चिन्छौँ, कतिलाई चिन्दैनौँ’, सुभाषले भने, ‘चिनेकाहरुको नाम पनि भन्नुभएन।’ पहिले तिनाउ नदीको माछासँग बेथरीको ताडीको निकै प्रचार हुन्थ्यो। अहिले ताडीसँग तिनाउको माछाको स्वाद कहिलेकाहीँ मात्रै पाइन्छ। ‘माछा पाउनै छाड्यो, कहिलेकाहीँ पाइन्छ’, सुभाषले भने।
भाडामा लिन्छन् रूख
सुभाष बेथरीका पुराना ताडी व्यापारी मात्रै होइनन् अनुभवी र प्रख्यात पनि छन्। बेथरीमा धेरैमात्रामा ताडी बिक्री गर्नमा उनकै नाम अगाडि आउँछ। उनको खजुरको ३० र तरकुलको ३ वटा रूख छन्। यसले मात्रै ग्राहकको माग पूरा गर्न नसकेर सुभाषचन्द्रले वैशाख, जेठ र असारका लागि ४५ वटासम्म रूख भाडामा लिन्छन्।
‘सिजनमा पुग्दैन, त्यसैले ४० देखि ४५ वटासम्म रूख भाडामा लिने गरेको छु’ उनले भने। पाँच सयदेखि ३ हजार रुपैयाँसम्म भाडा दिने गरेको उनले सुनाए। ‘गर्मीमा यो खाँदा स्वास्थ्य पनि ठिक हुन्छ’, उनले भने। उनले तरकुलको रूखबाट निकालिएको ताडी प्रतिबोतल ६० र खजुरको प्रतिबोत्तल ८० रुपैयाँमा बिक्री गर्दै आइरहेका छन्। यसले जन्डिस, ग्यास्ट्रिकका बिरामीलाई समेत फाइदा पुग्छ। नशालु पदार्थका रूपमा यसको सेवन भने गर्न नहुने चिकित्सकहरुको सुझाव छ।
कसरी निकालिन्छ ताडी?
तराईमा गर्मी अत्यधिक हुने भएकाले ताडीको स्वादमा रमाउनेहरु धेरै भेटिन्छन्। खाँदा जति स्वादिलो लाग्छ, यसलाई तयार गर्न भने निकै जोखिम मोल्नुपर्छ। खजुरको अग्लो रूखबाट ताडी निकालिन्छ। ताडी साँझपख रूख ताछेर कुनै भाडा झुन्ड्याएर बिहानपख निकाल्नुपर्छ।
जब घाम डुब्दै जान्छ तब अग्लो सुरिलो खजुरको रूख चढ्छन् सुभाषचन्द्र। उनी खुट्टामा बोरा र पिठ्युँमा डोरीले बाँधेर अग्लो सुरिलो रूखमा चढ्छन्। रूख चढेर अघिल्लो दिन भाँडो झुण्ड्याउँछन् र अर्को दिन फेरि ताडी संकलन भएको भाँडो लिन त्यसैगरी रूखमा चढ्छन्।
अग्लो सुरिलो रूखको टुप्पोमा राखिएको भाँडो ढल्काउँदै ताडी निकाल्दै गरेको दृश्यले जोकोहीको मन सिरिंग हुन्छ। यसैगरी दैनिक बितेको छ सुभाषचन्द्रको। ‘बुवाले गरेको देखेर मैलै सिकेँ, मेरो छोराले रूख चढेर ताडी निकाल्न सक्छ भन्ने विश्वास छैन’, उनले भने।