उपसभामुख इन्दिराबाट गलत भएकै हो : धवलशमशेर जबरा [अन्तर्वार्ता]

किरण पौडेल २७ भदौ २०८१ १२:५८
282
SHARES
उपसभामुख इन्दिराबाट गलत भएकै हो : धवलशमशेर जबरा [अन्तर्वार्ता]

धवलशमशेर राणा राप्रपाका महामन्त्री एवम् संगठन विभाग प्रमुख हुन्। राप्रपा यति बेला प्रतिपक्षमा छ। उपसभामुख रानामगरका विषयमा भने सत्तासीन कांग्रेस र एमालेको जस्तै धारणा राख्दै आएको छ। बाँके निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राणासँग उपसभामुख इन्दिरा रानामगरको पदीय आचरणमा उत्पन्न विवाद, यसमा राप्रपाको दृष्टिकोण, पार्टीको सांगठनिक विषयलगायतका विषयमा किरण पौडेलले गरेको संक्षिप्त कुराकानी :

उपसभामुख इन्दिरा रानामगरको पदीय आचरणका विषयमा सत्ता पक्ष र विपक्षबीच उत्पन्न विवादबारे राप्रपाको धारणा के छ?

मैले राप्रपाको धारणा भन्न मिल्दैन। किनभने राप्रपाको एकमुष्ट धारणा आइसकेको छैन। मेरो व्यक्तिगत धारणाचाहिँ उपसभामुखले गलत गर्नुभयो भन्ने छ। उहाँले चिन्दैनचिनेको मान्छेलाई अमेरिका लैजान दूतावासमा पत्र लेखेको कुरा आएको छ। उहाँले किन त्यस्तो गर्नुभयो? यही कारण मलाई व्यक्तिगत रूपमा उहाँले सही काम गरेको लाग्दैन। हुन त यस विषयमा उपसभामुखले पैसा लिएको कुरा पनि बाहिर आयो। पैसा लिएको वा नलिएको भन्नेबारे म जानकार छैन। अवैध रूपमा मानिस विदेश लैजाने काम सही होइन।

तपाईँको दल प्रतिपक्षमा छ। तर उपसभामुखका सन्दर्भमा कांग्रेस-एमालेका पक्षमा धारणा राखेजस्तो भयो नि?

होइन, मैले प्रक्रियाको कुरा गरेको हुँ। उहाँले त्यसो गर्नु हुँदैनथ्यो। नचिनेको मान्छेलाई अमेरिकाजस्तो देशमा कसरी लगिन्छ?

संसद्‌मा चर्किरहेको ‘हिंसा’ शब्दबारे तपाईँको धारणा के हो?

मलाई यो बहस बेकार लाग्छ। यो यतिबेला बहस गर्ने विषय होइन। देशदुनियाँ कहाँ पुगिसक्यो। यतिबेला आएर ठूला दल लड्नु आवश्यक छैन। अब हामीले के भन्ने र? जनयुद्धकै कारण मान्छे मरेको वास्तविकता हो। अहिले आएर गलत भनेर हुन्छ र! तर संसद्‌मा जे बहस हुँदैछ, त्यो चाहिँ मलाई वाइयात लाग्छ। यसमा हामीले बोल्नु जरुरी छैन।

पहिलेपहिले प्रतिपक्षी दलहरू भएर छलफल गरेको सुनिन्थ्यो। अहिले त प्रतिपक्षीबीच नै एजेन्डा नमिलेजस्तो देखिन्छ? प्रतिपक्षी कमजोर भएर हो?

प्रतिपक्षी कमजोर भएको हुँदै/होइन। हामीले भ्रष्टाचारका कुरालाई खरो रूपमा उठाइरहेकै छौँ। हामीले पाएको ‘प्लेटफर्म’ मा सरकारविरुद्ध खबरदारी गरेकै छौँ। जहाँसम्म प्रतिपक्षी एक हुनुपर्ने कुरा उठेको छ, योचाहिँ एजेन्डाअनुसार हुन्छ। हामी अहिले भिन्न संसदीय प्रणालीका दल भएकाले पनि एक नभएका हौँ।

प्रतिपक्षी एक हुँदा सबै प्रतिपक्षीको संयुक्त धारणा आवश्यक पर्छ। त्यो धारणा सधैँ समान हुन्छ भन्ने छैन। विगतमा सामूहिक प्रतिपक्षका अभ्यास भएका थिए। हामीले व्यक्तिगत रूपमै पनि सरकारविरुद्ध खबरदारी गर्न भने छाडेका छैनौँ।

 अहिले राप्रपा के गर्दैछ?

हामी अहिले संगठन विस्तारका कार्यक्रममा छौँ। राजासहितको हिन्दु राष्ट्र एजेन्डा लिएर आन्दोलन गर्दैछौँ। सरकारलाई यसअघि नै ४० बुँदे माग बुझाएका छौँ। राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य, संवैधानिक राजतन्त्र अभिभावकीय भूमिकामा हुनुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक/कानुनी व्यवस्था, संवैधानिक निकायहरूको नियुक्तिमा राजनीतिक भागबण्डा हावी नहुने संवैधानिक सुनिश्चितता, सरकारी वेतनधारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजीलगायत माग राखेका छौँ। यिनै माग पूरा गर्न खबरदारी पनि गरिरहेका छौँ।

अनि राप्रपाले आमनिर्वाचनभन्दा अगाडि नै उम्मेदवार घोषणा गर्ने कार्यक्रम पनि गर्दैछ रे? यो भनेको के हो प्रस्ट पारिदिनुहोस् न।

म पार्टीको महामन्त्री र संगठन विभाग प्रमुख भएकाले सांगठनिक काम गरिरहेको छु। पार्टीले अहिले उपत्यका केन्द्रित कार्यक्रम गरिरहेको छ। हामी वा अन्य दलमा चाहिँ अहिलेसम्म के छ भने जब मनोनयनको समय नजिकिन्छ, तब उम्मेदवार छनोट गर्ने परम्परा छ। यसो गर्दा आपसी खिचातानी र तिक्तता बढ्दो रहेछ। यही कारण मैले चाहिँ चुनावको ६ महिनाअघि उम्मेदवार छनोट गर्ने वा तयार गर्ने अभ्यास गरेको छु। यसो हुँदा आपसी खिचातानी कम हुन्छ। हाम्रो जिल्ला (बाँके) मा पनि यो अभ्यास गरेका थियौँ। हामीले नतिजा आफ्नै पक्षमा पार्‍याैँ। अब देशभर त्यही अभ्यासमा छौँ।

यसमा केके कुरा तयारी गर्नुहुन्छ?

चुनावमा हुने सबै सामग्रीको पहिल्यै तयारी गर्ने हो। यसले चुनावमा हतास केहीको अभाव नहोस् भन्ने हाम्रो बुझाइ हो। अब आउने स्थानीय तहको उपनिर्वाचनका लागि पनि हामी तयारीमै छौँ। यसले चुनावमा निष्पक्षता बढ्छ। यसमा आर्थिक विषयवस्तु पनि व्यवस्थापन गर्न सहज हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =