काठमाडौँ – नेपाल उद्योग परिसंघले हरेक वर्ष फ्ल्यागशीप इभेन्टका रुपमा आयोजना गर्दै आएको नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । दुई दिने पूर्वाधार सम्मेलनमा नेपालले व्यहोरिरहेको पूर्वाधारको खाडल तथा यसलाई सम्बोधन गर्न आवश्यक लगानी जुटाउने विषयमा केन्द्रीत छ । पूर्वाधारमा सरकारले लिनुपर्ने नीति, पूर्वाधार फाइनान्सिङका नवीन अवधारणा तथा सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकासका विषय समेटिएका छन् ।
सम्मेलनलाई प्रधानमन्त्री, प्रमुख दलका नेताहरू, उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रको नेतृत्व, विकास साझेदार तथा विज्ञहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परिसंघले यसअघि भारत सरकारका मन्त्रीहरू तथा त्यहाँका अर्बपतिहरू र उत्तरी छिमेकी चीनका निजी क्षेत्रका प्रतिनिधिहरुलाई समेत आमन्त्रण गर्नेगरेकाेमा यसपटक अन्तर्राष्ट्रिय स्तरबाट हाइप्रोफाइल सहभागिता नरहेको बताइएको छ ।