
काठमाडौँ- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सरकारले सुशील ज्ञवालीलाई नियुक्त गर्न लागेको छ । सिफारिश समितिको मूल्यांकन पेश भएपश्चात आज बस्न लागेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नियुक्त गर्ने बुझिएको छ ।
सरकारले लगानी बोर्डको सीईओका लागि माग गरेको आवेदनका आधारमा ५ जना छनौटमा परेका थिए । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी तथा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक राजन खनाल सदस्य रहेको सिफारिश समितिले ज्ञवाली सहित ३ जनाको नाम सिफारिश गरेको छ ।
लगानी बोर्डको सीईओ पद साउन १८ देखि रिक्त रहेको छ । यसअघि बोर्डमा राधेश पन्त, महाप्रसाद अधिकारी र सुशील भट्टले सीईओको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
ज्ञवाली यसअघि पुनर्निमाण प्राधिकरणका सीईओ थिए । यद्यपि प्राधिकरणमा बीचमा उनलाई हटाएर नेपाली कांग्रेस र माओवादीको सरकारले पहिले गोविन्दराज पोखरेल र तत्पश्चात युवराज भुषाललाई सीईओ बनाएका थिए ।
ज्ञवाली अर्थमन्त्री विष्णु पौडेलसँग निकट मानिन्छन् ।