यस्ता छन् नवनियुक्त प्रधानसेनापति सिग्देलका प्राथमिकता

हिमाल प्रेस २६ भदौ २०८१ १३:१२
20
SHARES
यस्ता छन् नवनियुक्त प्रधानसेनापति सिग्देलका प्राथमिकता प्रधानसेनापति अशोकराज सिग्देल मंगलबार जंगीअड्डामा सकलदर्जालाई सम्बोधन गर्दै। तस्बिर सौजन्य : नेपाली सेना

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको सुदृढीकरण, आफ्ना प्राथमिकता र आगामी कार्यदिशाबारे २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। पद बहाली भएपछि मंगलबार जंगीअड्डामा सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

उनले समग्र संस्थाको हितका लागि कार्य गर्न, सही नियतले काम गर्न नडराउन सकलदर्जालाई निर्देशन दिए। कसैले व्यक्तिगत आकांक्षा, कुण्ठा र सस्तो लोकप्रियताका लागि संस्थागत भाइचारा र आपसी विश्‍वासमा कमी ल्याउने तथा संस्थाको तेजोबध गर्ने प्रकृतिका कार्यहरु गरेको पाइएमा क्षम्य नहुने चेतावनी पनि प्रधानसेनापति सिग्देलले दिएका छन्।

उनले भने, ‘पहिलो र अन्तिम तथा एकमात्र मूलमन्त्र भनेको सैनिक अनुशासन र सैनिक मर्यादा हो।’ साथै उनले नेपाली सेनाको अगुवाइमा निर्माण भइरहेको काठमाडौँ-तराई/मधेश द्रुतमार्गलगायत अन्य सडक करिडोरको निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलासुस्ती, अनभिज्ञता, अनियमिततालगायतका क्रियाकलाप अस्वीकार्य हुने बताए।

प्रधानसेनापति शर्माले नेपाली सेनालाई सुदृढीकरण गर्दै लगिने बताए। राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति रहेको उनको भनाइ छ। सिग्देलले भने, ‘नेपालको संविधान, नेपाली सेना मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच-२०८७ लगायतलाई आधार मानी संगठनको सुदृढीकरण गर्दै लगिनेछ।’

उनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहेको बताए।

साथै उनले राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्वपूर्ण क्षेत्रहरुलाई प्राथमिकतामा राख्दै सातवटा लक्ष्य समावेश गरी “प्रधानसेनापति कमान्ड मार्गनिर्देशन-२०८१” जारी गर्न लागिएको जानकारी दिए।

राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालय निर्धारित समयमानै सञ्‍चालनमा ल्याइने प्रतिबद्धता प्रधानसेनापतिको छ। यसैगरी सिग्देलले विद्यार्थीको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्‍याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिस्कृत गर्दै लगिने बताए।

नेपाली सेना र नागरिक बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरुको सुरक्षामा योगदान पुर्‍याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने प्रतिबद्धता सिग्देलले जनाएका छन्।

राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने प्राथमिकता सेनापति सिग्देलको छ।
सिग्देलले भूगोल सुहाउँदो सैनिक ज्ञान, सीप र युद्धकला क्षमता वृद्धिका लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन समयसापेक्ष सुधार गरिने बताए।

उनले शान्ति सैनिकको तालिम तथा बन्दोबस्ती सामग्रीहरुको व्यवस्थापनमा विशेष पहल गरिने, खेलकुद विकासलाई प्राथमिकतामा राखिने, सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बंकर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायतका कार्यहरुलाई व्यवस्थित गर्दै लगिने प्रतिबद्धता प्रधानसेनापति सिग्देलको छ।

नेपाली सेनाको कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्‍चालित कार्यहरुलाई कार्यदल गठन गरी प्राप्त राय सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता सिग्देलले गरे।

कक्षा ४ देखि १२ सम्म अध्ययनरत नेपाली सेनाको बहालवाला तथा अवकासप्राप्त सकलदर्जाको एक सन्ततिलाई प्रदान गरिँदै आएको छात्रवृत्ति रकममा ५ हजार थप गरी वार्षिक २५ हजार कायम गरिने, पारिवारिक निवृत्तिभरणमा रहेका सबै एकल महिलालाई प्रदान गरिँदै आएको कल्याणकारी निवृत्तिभरणमा मासिक ५०० का दरले थप गरिने घोषणा सिग्देलले गरेका छन्।

सिग्देलले नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्दै लगिने बताए। सरकारबाट घोषित जटिल प्रकृतिका रोग लागेका हिताधिकारीहरुलाई बहिरंग उपचारको वार्षिक सीमा पुनरवलोकन गरिने र द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने प्रतिबद्धता उनको छ।

सिग्देलले अवकाशपछि पनि आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्षम बनाउने उद्देश्यका लागि नेपाल सरकारका अन्य निकायसँग समन्वय र साझेदारी गरी विज्ञसहितको टोलीबाट थप क्षेत्रहरु पहिचान गर्दै व्यावसायिक र सीपमूलक तालिमलाई विस्तार गरिने बताए।

प्रधानसेनापति शर्माले सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइने बताए। उनले नेपाली सेना र सञ्‍चारमाध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =