३ सय कागजपत्र नक्कली भेटिएपछि इजरायल जाने कामदारको छनोट प्रक्रिया स्थगित

हिमाल प्रेस २६ भदौ २०८१ ११:०५
648
SHARES
३ सय कागजपत्र नक्कली भेटिएपछि इजरायल जाने कामदारको छनोट प्रक्रिया स्थगित

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको केयर गिभरमा जाने कामदारको छनोट प्रक्रिया स्थगित गरेको छ। दुई महिनाअघि श्रम मन्त्रालयले इजरायलको केयर गिभरमा माग गरेको आवेदनमा तीन सयभन्दा बढी कामदारले पेस गरेको कागजात नक्कली अथवा किनेको पाएपछि तत्कालका लागि छनोट प्रक्रिया रोकिएको मन्त्रालयले जनाएको छ।

श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखाले छानबिन प्रक्रिया सकिएपछि मात्रै अन्य प्रक्रिया सुरु गर्ने जनाएको छ। इजरायल जाने कामदारले आवदेन दिँदा नक्कली कागतजात पेस गरेको प्रश्न उठेपछि मन्त्री शरतसिंह भण्डारीले साउन १३ गते छानबिन समिति गठन गरेका थिए।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न जाने सहायक कामदारका लागि आवेदन दिँदा पेस गरिएका कतिपय केयर गिभर तालिमका कागजात नक्कली भएको सार्वजनिक भएपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिले छानबिन गरिरहेकै बेला भदौ १५ गते इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले गोलाप्रथाबाट नेपाली कामदारको आवेदन छनोट गरेको थियो।

उपसचिव रिमालका अनुसार कामदारको कागजात छानबिन भइरहेको छ। कामदारले पेस गरेका कतिपय कागजपत्र नक्कली तथा शंका लागेका कारण तत्कालका लागि छनोट प्रक्रिया स्थगित गरेको उनले बताए।

नेपालबाट लैजाने कामदार छनोटमा संलग्न पिवाले गोलाप्रथामार्फत २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरिसकेको छ। त्यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन्। छनोटमा परेका तीन सयभन्दा बढी कामदारको कागतजात नक्कली भेटिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। ती अधिकारीका अनुसार इजरालय जानकै लागि कतिपयले विभिन्न तालिम केन्द्रबाट नक्कली प्रमाणपत्र किनेर पेस गरेका छन्।

‘अहिले छानबिन गरेकामध्ये तीन सयभन्दा बढी नक्कली भेटिएको छ। छनोटमा परेका कतिपय कामदारको कागतजात नक्कली भएको पुष्टि भएपछि उनीहरूमाथि कारबाही पनि हुन्छ’, उनले भने।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौतामा कुनै पनि मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभरसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।

सरकारले गत असार १२ गते इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयर गिभर) लागि आवेदन खुलाएको थियो। त्यसमा ४ हजार २४ जनाले आवेदन दिएका थिए। तीमध्ये ३ हजार ४ सय ६१ जनाको नामावली वैदेशिक रोजगार विभागले इजरायलको पिवामा पठाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + one =