खेती किसानी

कोदोको रक्सी ब्रान्डिङमा जुट्यो सरकार

रमेश भारती २६ भदौ २०८१ २१:४२
88
SHARES
कोदोको रक्सी ब्रान्डिङमा जुट्यो सरकार

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रैथाने, स्थानीय तथा परम्परागत मदिरा उत्पादन र ब्रान्डिङका लागि तयारी थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको परम्परागत रैथाने, स्थानीय तथा परम्परागत मदिरा उत्पादन र ब्रान्डिङको अध्ययन प्रतिवेदनका आधारमा काम अघि बढाइएको कृषि मन्त्रालयका सचिव दीपककुमार खनालले जानकारी दिए।

चालू आर्थिक वर्षको बजेटको बुँदा ९४ मा घरेलु मदिराको उत्पादन, ब्रान्डिङ, बजारीकरण तथा बिक्री गर्न कानुनी व्यवस्था मिलाइने उल्लेख छ। त्यसलगत्तै आर्थिक विधेयकमार्फत मदिरा ऐन २०३१ संशोधन गरिएको छ। ऐनमा स्थानीय मदिराको उत्पादन, ब्रान्डिङ तथा नियमनसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने प्रावधान थप गरिएको हो।

यसैका आधारमा रैथाने, स्थानीय तथा परम्परागत मदिरा उत्पादन र ब्रान्डिङ गर्ने नियमावली बनाउने विषयमा छलफल भइरहेको खनालले बताए। उनले भने, ‘घरेलु मदिरालाई व्यवसायीकरण तथा ब्रान्डिङ नियमावली बनाउन उद्योग र कृषि मन्त्रालयबीच कानुनी परामर्श भइरहेको छ।’ खनालका अनुसार नियमावली उद्योग मन्त्रालयले बनाउनेछ भने ब्रान्डिङको काम कृषि मन्त्रालयले गर्नेछ।

रैथाने कोदोबाट उत्पादित रक्सी संकलन गर्ने कारखानामा भण्डारण, आवश्यकताअनुसार प्रशोधन, बोटलिङ तथा प्याकेजिङ गरी ट्रेडमार्कमा बिक्रीवितरण गर्ने विषयमा छलफल केन्द्रित रहेको खनालले बताए। उनका अनुसार रक्सीसँग जाँडको गुणस्तर नियन्त्रण गर्ने संयन्त्रको विकास गरी व्यावसायिक बिक्रीवितरक संस्था (सहकारी वा कम्पनी) सँग आबद्ध उपउत्पादकसँग सहकार्य गराई उत्पादनको जिम्मा दिने तयारी भइरहेको छ।

‘विभिन्न जातजाति र समुदायमा परापूर्वदेखि उत्पादन, उपभोग र व्यापार गर्दै आएको कोदोको रैथाने रक्सीको ब्रान्डिङ हुन्छ। रक्सीबारे अध्ययनअनुसन्धान गरी गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्छ’, उनले भने। कोदो, फापर, मैक र गहुँबाट पनि रैथाने जाँडरक्सी उत्पादन गरी ब्रान्डिङ गर्ने तयारी मन्त्रालयको छ।

खनालका अनुसार पहिलो चरणमा कोदोको रक्सी र जाँड ब्रान्डिङमा कोशी र गण्डकी प्रदेशलाई केन्द्रित गरिँदैछ। कोशी र गण्डकी प्रदेशमा सबैभन्दा रैथाने कोदोको रक्सी र जाँड उत्पादन हुने कृषि मन्त्रालयका सचिव खनालले बताए।  मन्त्रालयका अधिकारीहरूका अनुसार यी प्रदेशमा लिम्बु, राई, तामाङ र गुरुङलगायतका जनजातिले जाँड र रक्सी बनाउन कोदो खपत गर्छन्। सोही आधारमा कोशी र गण्डकीलाई केन्द्रित गरिएको हो।

घरायसी प्रयोजन र स्थानीय व्यापारका लागि विभिन्न क्षेत्र र समुदायमा  कोदोको रैथाने रक्सी, छ्याङ, जाँड, अइला, तोङ्बालगायतको उत्पादन भइरहेको छ। खनालले भने, ‘बजारमा कोदोको जाँडरक्सीको माग बढ्दो छ। यसलाई निश्चित मापदण्ड बनाएर ब्रान्डिङ गर्ने हो।’

उद्योग मन्त्रालयले साउन पहिलो साता रैथाने, स्थानीय तथा परम्परागत मदिरा उत्पादन र ब्रान्डिङका विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। नेपालमा बसोबास गर्ने करिब ४० प्रतिशत जातजातिले आफ्नो सांस्कृतिक पर्वमा मदिरा खपत गर्दै आएको प्रतिवेदनमा उल्लेख छ। यस्ता मदिरा घरमै उत्पादन हुन्छन्। नेपालमा सबैभन्दा बढी घरेलु मदिरा कुन जिल्लामा उत्पादन हुन्छ भन्ने विवरण कुनै निकायसँग छैन।

नेपालमा खपत हुने कुल मदिराको ६६.३ प्रतिशत अनौपचारिक क्षेत्रबाट आपूर्ति भइरहेको उद्योग मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। अनौपचारिकमध्ये ५७.४ प्रतिशत रक्सी-ऐला र ३६.७ प्रतिशत जाँड छ। ५.७ प्रतिशत अवैध रूपले आयातित मदिरा उपभोग भइरहेको मन्त्रालयले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले नेपालमा सबैभन्दा बढी खपत हुने मदिरामा घरेलु रक्सी र जाँड रहेको बताए। परम्परागत तरिकाबाट तयार भएको रक्सी र जाँड खपत ५०.९ प्रतिशत छ। बाँकी नेपाली र विदेशी ब्रान्डका रक्सी खपत हुन्छन्।

विभिन्न समुदाय र संस्कृतिअनुसारको मदिराको मूल्य निर्धारण र ब्रान्डिङलाई नै प्राथमिकतामा राखेर लैजाने कि भन्ने विषयमा छलफल भइरहेको अधिकारीले बताए। उद्योग विभागमा दर्ता गरेर घरेलु मदिरालाई व्यावसायीकरण तथा ब्रान्डिङ  गर्न सकिने उद्योग मन्त्रालयका प्रवक्ता  अधिकारीले बताए।

नेपालमा उत्पादन हुने रैथाने जाँडरक्सीको कर र अन्तःशुल्क, उत्पादन हुने क्षेत्र, मूल्यलगायतका विषयमा स्पष्ट नीति बनाउनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।

केही स्थानीय तहले घरेलु मदिरालाई व्यावसायीकरण तथा ब्रान्डिङका लागि नियमावली बनाएर काम थालेका छन्। ब्रान्डङिको भने भएको छैन। गण्डकी प्रदेशको गण्डकी गाउँपालिकाले घरेलु मदिरा (उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन) ऐन, २०७८ बनाएर लागू गरेको छ। कोशी प्रदेशका केहफी गाउँपालिकाले यस्तै नियम बनाएर लागू गरेका छन्।

‘घरायसी रक्सीबाटै ब्रान्डिङ थाल्नुपर्छ’

रैथाने रक्सी ब्रान्डिङको अभियानमा लागेकी एमाले नेता उषाकला राई विद्यमान कानुनले घरायसी प्रयोजनका लागि रैथाने रक्सीलाई सीमित मात्रामा मदिरा उत्पादन गर्न सक्ने अधिकार दिएको बताउँछिन्।

घरमै परम्परागत रुपमा बनाउने कोदोको तीनपाने रक्सी विश्व बजारमा राम्रो मानिने उनको दाबी छ। उनी पनि घरायसी प्रयोजनकै लागि उत्पादन भइरहेको रक्सीको उत्पादन बढाएर ब्रान्डिङ गर्नुपर्ने पक्षमा छिन्। ‘कोदोबाट उत्पादित रक्सीलाई स्तरीकरण र बजारीकरण गर्ने विषय अहिले चर्चामा छ। स्थानीय रक्सीलाई नै वैध बनाएर ब्रान्डको काम सुरु गर्नुपर्छ’, राईले भनिन्।

नेपालमा वार्षिक १२ अर्बको मदिराको कारोबार हुन्छ। त्यसमा पाँच अर्ब बराबरको रैथाने रक्सी उत्पादन भई घरायसी र स्थानीय हटबजारमा व्यापार हुने गरेको कृषि मन्त्रालयका प्रवक्ता खनाल बताउँछन्। भन्सार विभागका अनुसार नेपालमा वर्षिक दुई अर्बभन्दा बढीको मदिरा आयात हुन्छ। दसैँतिहार, नयाँ वर्ष र चाडपर्वमा मदिराको माग धेरै हुन्छ।

प्रकाशित: २६ भदौ २०८१ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =