गाजा (रासस/एएफपी)– प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानवीय क्षेत्रमा मंगलबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु भएको छ। साथै ६० जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ। इजरायली सेनाले उक्त क्षेत्रको हमास कमाण्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
गाजाको दक्षिणी सहर खान युनिसको अल-मवासीमा आक्रमण पछि दशौं हजार विस्थापित प्यालेस्टिनीले त्यहाँ शरण लिएका थिए।
यद्यपि इजरायली सेनाले यस क्षेत्र वरपर सैन्य अपरेसन जारी राखेको छ। जुलाईमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसहित ९० जनाभन्दा बढी मानिस मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघाइरले आक्रमणमा मृत्यु भएका तथा घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताए।
खान युनूसमा विस्थापितको शिविरलाई लक्षित गरी आक्रमण गर्दा बेपत्ता भएका १५ व्यक्तिहरूको उद्धारका लागि विभागका कर्मचारीहरू निरन्तर खटिरहेको मुगैरले उल्लेख गरे।
नागरिक रक्षाका प्रवक्ता महमुद बासलले शिविरमा शरण लिइरहेका मानिसलाई आक्रमणको चेतावनी नदिएको उल्लेख गर्दै आवश्यक सामग्रीको अभावले उद्धार कार्यमा बाधा पुगेको बताए। उनका अनुसार आक्रमणका कारण ४० भन्दा बढी शिविरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
इजरायली सेनाले विज्ञप्ति मार्फत खान युनिसको मानवीय क्षेत्रबाट सैन्य कारबाही गरिरहेका हमासलाई प्रहार गरेको दाबी गरेको छ।