पूर्वमुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन

हिमाल प्रेस २५ भदौ २०८१ १६:५२
14
SHARES
पूर्वमुख्यमन्त्री केदार कार्कीले निषेधित क्षेत्रमै सुरु गरे अनशन

इटहरी- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन्। स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले अनशन सुरु गरेका हुन्।

कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक अनशन सुरु गरेका हुन्। उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो। तर, त्यसलाई बेवास्ता गर्दै आफ्ना समर्थकका साथमा कार्की अनशन बस्न ४ बजे पुगेका हुन्।

अनशनस्थलमा प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, केही प्रदेशसभा सदस्यहरू, नेपाली कांग्रेसका जिल्ला तहका नेताहरू पनि पुगेका छन्। आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदय रोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जङ्गली जनावरको संरक्षणका लागि जनावरमैत्री जङ्गल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया कोरिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै आमरण अनशन बसेको जनाएका छन्।

उनले गत आइतबार प्रदेशसभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए। तर, पत्रको सम्बोधन नभएपछि कार्कीले आज (मंगलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन सुरु गरेका हुन्।

अनशनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले हालसम्म कुनै हस्तक्षेप भने गरेको छैन। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधित क्षेत्रमा अनशन बस्न नपाउने बताए। ‘प्रहरीले अब केहीबेरमा हटाउँछ। त्यस विषयमा कुरा भइरहेको छ,’ उनले भने। प्रजिअ भट्टराईले निषेधित क्षेत्र तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ‘क’ बमोजिम निषेधाज्ञा जारी गरेका थिए।

पूर्वमुख्यमन्त्री कार्कीको अनशन घोषणापछि मोरङमा तोकियो निषेधित क्षेत्र

प्रकाशित: २५ भदौ २०८१ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =