चेन्नई– समुद्र छेउको दक्षिण भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नई भारतकै व्यस्त सहरमध्येमा पर्छ। सूचना प्रविधि, विज्ञान, स्वास्थ्यलगायत क्षेत्रमा यो सहरले ठूलो फड्को मारिसकेको छ। भारतका मात्रै होइन, रोजगारीका लागि हजारौँको संख्यामा विदेशबाट मानिस पुगेका छन् त्यहाँ। बाहिरबाट पनि कामदार पुगेपछि निकै चहलपहल देखिन्छ चेन्नईमा। २४ औँ घण्टा खुला रहने यो सहरमा सबैजना आआफ्नो काममा व्यस्त हुन्छन्।
चेन्नईको मानवसागरमा नेपाली कामदार पनि प्रशस्तै भेटिन्छन्। चेन्नई सहरभित्रै छ ताम्बरम रेल्वे स्टेसन। स्टेसनको प्रवेशद्वारमा छ अडियार आनन्द भवन रेस्टुरेन्ट। यो चेन्नईको पुरानो होटल व्यवसायी घरानाबाट सञ्चालित रेस्टुरेन्ट हो।
शुद्ध साकाहारी यो रेस्टुरेन्टमा जतिबेला पनि मानिसको खचाखच हुन्छ। लामो दूरीको रेलका यात्रा यही रेस्टुरेन्टमा खाना खान्छन्। खानेकुराको प्याक यहीँबाट किनेर लैजान्छन्। रेस्टुरेन्टमा भेटिए एकजना नेपाली कामदार। उनी हुन् मुकेश पासवान। महोत्तरीको गौशालाबाट रोजगारीका लागि मुकेश कोसौँ टाढा चेन्नईमा सात महिनाअघि पुगेका रहेछन्। केही दिन भौँतारिएपछि उनले चेन्नईकै सबैभन्दा पुरानो होटल घरानामा काम पाएछन्।
चेन्नई जानुको कारण घरको कमजोर आर्थिक अवस्था रहेकाे मुकेशले बताए। बुबाको निधनपछि पारिवारिक जिम्मेवारी र ऋणको भारी मुकेशको टाउकोमा आइपुग्यो। नेपालमै बसेर काम गरी ऋण चुक्ता गर्न कठिन भएपछि बाध्य भएर चेन्नईतिर हान्निएको उनले बताए। उनी दिउँसो १ बजेदेखि राति ११ बजेसम्म ड्युटीमा खटिन्छन्।
आफ्नो तलब र सेवासुविधा सन्तोषजनक रहेको उनले बताए। मुकेशलाई खाने र बस्ने सुविधा रेस्टुरेन्टमै छ। मासिक तलब उनले बचत गर्दै आएका छन्। ग्राहकले दिएको ‘टिप्स’ मुकेशको अतिरिक्त आम्दानी हो। ‘देश छोड्न त कसको चाहना हुन्छ र! बाध्य भएर यहाँ आउनुपरेको हो,’ मुकेश भन्छन्, ‘बुबाको निधनपछि तीनचार लाख ऋण थपिएको छ। त्यो चुक्ता गर्नुपर्नेछ। मैमाथि परिवारको जिम्मेवारी छ।’ उनको घरमा आमा र बहिनी छन्।
ऋण तिर्न र बहिनीको बिहे गर्न कामको खोजीमा चेन्नई आउनुपरेको उनले सुनाए। ‘मासिक २५ हजार भारु तलब आउँछ, खान र बस्ने सुविधा कम्पनीले दिएको छ,’ मुकेशले भने, ‘बाहिरी खर्च खासै छैन, आएको तलब बचाएर घरमा पठाउने गरेको छु। यो काम गरेरै बिस्तारै कर्जा चुक्ता भएर बहिनीको बिहे गर्ने योजना छ।’
हिन्दी भाषी वक्ता सीमित भएकाले गैरदक्षिण भारतीयका लागि चेन्नईमा समस्या छ। यहाँका अधिकांशले तमिल र अंग्रेजी ल्छन्। मुकेशले पनि भाषाको समस्या सामना गर्नुपरिरहेको बताए। यद्यपि उनले सांकेतिक रूपमा रेस्टुरेन्टमा आउने ग्राहकलाई सेवा दिइरहेका छन्।
चेन्नईकै व्यस्त बजारमध्ये एक हो टी नगर। नगरको बीचमा ठडिएको छ साततले सर्वणा सपिङ मल। लत्ताकपडादेखि भान्सासम्मको हरेक सामान पाइने यो मलमा दैनिक हजारौँ उपभोक्ता पुग्छन्। स्थानीयका साथै बाहिरबाट आएका पर्यटकको पनि चाप हुन्छ सर्वणा मलमा।
मलमा पनि तीनजना नेपाली कामदार भेटिए। तीमध्ये एकी हुन् प्युठानकी अर्पिता तामाङ। उनलले यहाँ काम गरेको झन्डै दुई वर्ष भएछ। चेन्नईको लामो बसाइले उनी तमिल भाषामा पोख्त छिन्। अर्पिताको तमिल बोली सुन्दा उनलाई नेपाली भन्न कठिन हुन्छ।
उनको दैनिकी मलमा आउने उपभोक्तासँगको ‘डिलिङ’ र कारोबारमा बित्छ। बिहान १० बजे ड्युटीमा पुग्ने निवास फर्कँदा रातको १० बज्ने अर्पिताले बताइन्। उनी नजिकैको होस्टलमा बस्छिन्। ‘बिहान १० बजेदेखि ड्युटी सुरु हुन्छ, राति १० बजे बिदा हुने समय हो। ग्राहकको भीडभाड भएपछि छोडेर जान मिलेन, कहिलेकाहीँ त होस्टल जाँदा राति ११ बज्छ,’ अर्पिताले भनिन्।
अर्पितासँगै मलमा अन्य दुई नेपाली पुरुष कार्यरत छन्। उनीहरूलाई दिउँसो खानाको सुविधा मलमै हुन्छ। उनीहरू राति भने होस्टलमै खाना खान्छन्। ग्राहकले किनमेल नगरुन्जेल उनीहरूले पूरा समय दिनुपर्ने हुन्छ। सबै स्टोर देखाउनेदेखि बिलिङसम्म उनीहरू उपभोक्तासँगै हुन्छन्। ड्युटी कडा भए पनि पारिश्रमिकबाट सन्तुष्ट देखिन्छन् उनीहरू।
‘बाहिर आएर काम गर्न सजिलो त पक्कै छैन। भाषा, रहनसहन, संस्कृति सबै फरक छ,’ अर्पिता भन्छिन्, ‘यहाँ आएको दुई वर्ष भएको छ, अब त सब ठिकै लाग्न थाल्यो। भाषा पनि सिकिसकेकी छु, आम्दानी राम्रै छ। खासै समस्या छैन।’
अर्पिताका अनुसार चेन्नईमा ठूलो संख्यामा नेपाली कामदार छन्। पहाडदेखि तराईसम्मका नेपाली कामको खोजीमा चेन्नई आइपुगेको उनले बताइन्।
चेन्नई विमानस्थलबाट करिब ३-४ किलोमिटरको दूरीमा पर्छ क्रोम्पेट। बालाजी मेडिकल कलेज रहेको यो अत्यधिक भीडभाड हुने क्षेत्र हो। रेला मेडिकल कलेज पनि क्रोम्पेटमै छ। रेला मेडिकल कलेजमा बंगलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलंकालगायतका देशबाट बिरामी आउने गरेका छन्।
यही क्षेत्रमा छ, होटल ‘सेमी स्टे’। होटलमा म्यानेजर छन्, कञ्चनपुरका युवा राहुल सुनार। राहुल चेन्नई आएको पाँच वर्ष बितेको छ। रेस्टुरेन्टमा काम सुरु गरेका उनी अहिले होटलको म्यानेजर भइसकेका छन्। आफ्नो इमानदारी देखेर साहुले म्यानेजरको जिम्मा दिएको उनले बताए।
‘इमानदारीसाथ काम गर्यो भने राम्रै हुन्छ। सुरुमा रेस्टुरेन्टमा काम थियो, अहिले सेठले मलाई होटलकै जिम्मेवारी दिएको छ,’ राहुल भन्छन्, ‘तमिल कर्मचारीलाई निकालिदिएका छन्। मैले नै हो होटल सम्हाल्ने।’
सुरुमा केही अप्ठयारो भए पनि अहिले चेन्नईमा बसेर काम गर्न सजिलो भएको उनले बताए। भाषासंस्कृति बुझ्दै गएपछि काम गर्न सजिलो हुने उनको भनाइ छ। नेपालीहरुले इमानदारीका लागि चेन्नईमा आफ्नो पहिचान बनाएको राहुलले बताए।
‘नयाँ हुँदा केही कठिनाइ भएको थियो। भाषासंस्कृति बुझ्दै गएपछि अहिले सजिलो भएछ,’ उनी भन्छन्, ‘मुख्य कुरा इमानदारी हो, इमानदार भएर काम गर्यो भने केही कठिनाइ छैन।’
राहुल, मुकेशजस्तै चेन्नईमा नेपालका विभिन्न ठाउँबाट हजारौँको संख्यामा रोजगारीका लागि कामदार यहाँ पुगेका उनीहरूको भनाइ छ। पढेलेखेकाले राम्रै जागिर पाएका छन् भने होटल, रेस्टुरेन्ट र मजदुरी गर्नेहरु पनि प्रशस्त छन् यहाँ। भारतमा कति नेपाली कामदार कार्यरत छन् भन्ने आधिकारिक विवरण कुनै निकायसँग छैन। त्यसैले चेन्नईमा कार्यरत नेपालीले दिएको संख्यालाई आधार मान्नुपरेको छ।