‘विद्यार्थीको मर्का बुझ्न नसक्ने’ प्रधानमन्त्री ओली

रमेश दवाडी २५ भदौ २०८१ १२:२१
522
SHARES
‘विद्यार्थीको मर्का बुझ्न नसक्ने’ प्रधानमन्त्री ओली

काठमाडौँ- दार्चुलाका दीपेन्द्र जोशी आइतबार दीक्षित हुनका लागि शनिबार नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुम्लास्थित कार्यालयमा पुगेका थिए। प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट दीक्षित हुन पाइने भएपछि आफू निकै उत्साही बनेर जुम्ला पुगेको जोशी बताउँछन्। प्रधानमन्त्री ओली नगएपछि दीक्षान्त समारोह भएन। जोशीलगायत विद्यार्थी निराश भएर फर्किए।

जोशीले हिमालप्रेससँग टेलिफोनमा भने, ‘मेरो घर दार्चुला। अहिले अछाम बस्छु। पानी परेर बाटो बिग्रेपछि दीक्षान्त कार्यक्रमम पुग्न नसकिएला भनेर अछामबाट एक दिनअगाडि प्रतिष्ठान गएको थिएँ। देशको प्रधानमन्त्रीले हाम्रो मर्का बुझ्नु भएन। हामीलाई पहिलो गाँसमै ढुंगा लागेजस्तो भयो।’

उनीसहित ६ जना एउटै होटलमा बसेका थिए। आइतबार बिहानै कार्यक्रम स्थगित भएको सुन्दा आफूहरूलाई दुःख लागेको जोशीले बताए।

अर्का विद्यार्थी सुशील शाही पनि प्रधानमन्त्री ओलीका कारण दुःख पाएको बताउँछन्। उनले प्रष्ठिानको पहिलो दीक्षान्त समारोहलाई एउटा अवसरका रूपमा लिएका थिए। सुर्खेतका शाहीले भने, ‘भर्खरै पास भएर दीक्षित हुने अवसर पाउँदा धेरै खुसी थियौँ। उत्साहका साथ दिनभर बसयात्रा गरेर जुम्ला पुग्यौँ। वर्षायाममा जुम्ला पुग्न गाह्रो हुन्छ। कार्यक्रम स्थगित भएपछि दुःख लाग्यो।’

प्रधानमन्त्री ओलीका कारण निराश हुने जोशी र शाहीमात्रै होइनन्, प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तह पूरा गरेका ५६ जना विद्यार्थी त्यत्तिकै फर्किए। आफूहरूको संवेदनामाथि कुलपति ओलीले खेलवाड गरेको आरोप विद्यार्थीको छ। दीक्षान्त कार्यक्रम नभएपछि लाखौँ खर्चेर बनाइएको कार्यक्रमस्थल प्रयोगविहीन भएको छ।

प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन्। ओलीले दीक्षान्तको अघिल्लो दिन राति सहभागी हुन नसक्ने खबर पठाएका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रधानमन्त्री दीक्षान्त समारोहमा उपस्थित नभएपछि टाढाबाट आएका विद्यार्थीलाई दुःखमात्र भएको बताए।

उनले भने, ‘दीक्षान्त कार्यक्रममा कुलपतिलाई बोलाएका थियौँ। विशेष कारण भन्दै उहाँ आउनुभएन। टाढाटाढाबाट आएका विद्यार्थीलाई दुःख भयो। कुलपति के कारणले जुम्ला आउनु भएन त्योचाहिँ थाहा भएन।’  स्थगित दीक्षान्त कार्यक्रम प्रतिष्ठानले आगामी कात्तिक २८ गते बुधबारका लागि सारेको छ।

कुलपति ओली प्रतिष्ठानको दीक्षान्त समारोहमा उपस्थित नभएर विद्यार्थीलाई दुःख दिएको विषयमा संसद्‌मा पनि आलोचना भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्रीको विरोध गरेका हुन्।

शाहीले जुम्ला पुगेका ५६ जना विद्यार्थीलाई प्रधानमन्त्री ओलीले अन्तिम समयमा आएर धोका दिएका बताए। शाहीले भने,‘दीक्षान्त समारोह भनेर ५६ जना विद्यार्थी पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्मका विद्यार्थी जुम्ला गए। त्यतिमात्रै होइन डा.सन्दुक रुइत पनि जानुभयो, हामी गयौँ। स्वास्थ्य सचिव जानुभयो। अन्तिम समयमा आएर के भनिदिनुभयो– म आउँदिनँ दीक्षान्त समारोह पछाडि सारौँ। हुकुमी शासन हो?’

त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्नुपर्ने माग सांसद शाहीले गरेका छन्। उनले भने, ‘प्रधानमन्त्री बिरामी हुनुभो अथवा मौसम खराबी भयो यो कुरा स्वीकार्छौँ। कार्यव्यस्तता? भ्युटावर भएको दौडेर जानुहुन्थ्यो होला, विश्वविद्यालय पर्‍यो त्यसकारण जानु भएन।’

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सहभागी हुन नसक्दा स्वास्थ्यमन्त्रीलाई सहभागी गराएर पनि कार्यक्रम सम्पन्न गर्न सकिने बताइन्। ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त पनि हुन नदिने! प्रधानमन्त्रीज्यू आफैँ पुग्न सकिन्न थियो भने स्वास्थ्यमन्त्रीज्यूकै अध्यक्षतामा दीक्षान्त गर भन्न सकिन्थ्यो। त्यत्रो मिहिनेत गरेर दीक्षित हुनुभएका विद्यार्थीलाई गर्ने व्यवहार यहीको सरकारको?’ सुमनाले संसद्‌मा भनिन्। श्रेष्ठले प्रधानमन्त्रीबाट समय व्यवस्थापनबारे विद्यार्थीले के सिक्ने भन्दै प्रश्न गरिन्। उनको प्रश्न थियो, ‘यही हो हामीले सिकाउने विद्यार्थीलाई समय व्यवस्थापनबारे?’

प्रधानमन्त्रीका प्रेसविज्ञ प्रकाश सिलवालले प्रधानमन्त्री ओली आइतबार निवासमै बसेको जानकारी दिए। प्रधानमन्त्रीको जुम्ला जाने कार्यक्रम स्थगित हुनुको कारण भने खुलाएनन्। उनले भने, ‘प्रधानमन्त्रीज्यू जुम्ला जाने कार्यक्रम थियो। जानुभएन। घरमै बस्नुभयो। कार्यक्रमको सेडुल पनि थिएन।’

प्रधानमन्त्री ओली  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दुईवटा कार्यक्रममा सहभागी भएका थिए। ओलीसमक्ष नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेर्नेलगायत विषयमा एमालेका केन्द्रीय सदस्य, पार्टीको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितका प्रतिनिधिले मागपत्र बुझाएका थिए। यसैगरी उनी सत्तारूढ नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको बैठकमा सहभागी भएका थिए।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्रीको दैनिक कार्यक्रम तयार गर्दै आएको छ। आइतबारका लागि भने ओलीको सचिवालयले कुनै कार्यक्रमको जानकारी गराएको थिएन। प्रधानमन्त्री आफू घरमा बसेर आफूहरूलाई ढाँटेको गुनासो विद्यार्थीको छ।

‘प्रधानमन्त्री विश्वविद्यालयको कुलपति बन्नै हुँदैन’

प्राध्यापक कृष्ण पोखरेलले प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित घटनाप्रति टिप्पणी गर्दै विश्वविद्यालय वा प्रतिष्ठानमा प्रधानमन्त्री कुलपति हुनै नहुने बताए।

उनले फेसबुकमा उनले लेखेका छन्,‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह प्रधानमन्त्री र त्यस प्रतिष्ठानका कुलपतिको व्यस्तताका कारण अन्तिम क्षणमा स्थगित भएछ। दीक्षित हुन पुगेका विद्यार्थी र तिनका अभिभावकले अनाहकमा दुःख पाए। यस्ता प्रतिष्ठान वा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने होइन।’

पोखरेलले प्रधानमन्त्री विश्वविद्यालय वा प्रतिष्ठानको कुलपति हुने ऐन संशोधन गरेर तिनमा आवश्यकताअनुसार राष्ट्रपति/उपराष्ट्रपति रहने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =