डेंगु संक्रमण भयावह बनेपछि जोगिनै सकस

हिमाल प्रेस २५ भदौ २०८१ ६:४८
8
SHARES
 डेंगु संक्रमण भयावह बनेपछि जोगिनै सकस प्रतिनिधिमूलक तस्बिर।

गण्डकी- गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्।

संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ।

धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताए। डेंगु संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ। डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताए।

गर्भवती र बालबालिकामा डेंगु संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उनको भनाइ छ। ‘अधिकांश संक्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेंगुले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ’, उनले भने।

डेंगु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ। डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक प्रधानले बताए।

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयको तथ्यांकअनुसार गत पुसयता पाँच हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमणबाट कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ।

तनहुँ, कास्कीलगायत जिल्ला डेंगु संक्रमणबाट बढी प्रभावित छन्। पछिल्लो तीन महिनामा डेंगु संक्रमणको दरलाई हेर्दा आगामी दिनमा संक्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताए।

उनका अनुसार असारदेखि कात्तिकसम्म डेंगु संक्रमण बढी फैलने गर्छ। समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रूप लिन सक्ने प्रमुख नेपालीले बताए। ‘डेंगुलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेंगु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ।’

डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ। यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए। चार प्रकारको भाइरसबाट मानिसमा डेंगु संक्रमण हुने गरेको उनले बताए। उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनको भनाइ छ।

यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उनले बताए।

प्रकाशित: २५ भदौ २०८१ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =