लुम्बिनी– हिमालप्रेसकर्मी विनोद परियार सोमबार उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुस्कृत भएका छन्। राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीले तेस्रो अधिवेशन तथा साधरणसभाका अवसरमा बिसे नगर्ची एकताको प्रतीक नेपालसँगको सहकार्यमा स्थापना गरेको पुरस्कारबाट पत्रकार परियारलाई पुरस्कृत गरेको हो।
जातीय भेदभाव तथा सामाजिक न्यायका पक्षमा कलम चलाएबापत पत्रकार परियारलाई नगद, दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको हो। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, बिसे नगर्ची एकताको प्रतीक नेपालका अध्यक्ष रामकुमार रणपाल, संघका अध्यक्ष टंक सुनारले पुरस्कार प्रदान गरेका थिए।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिवसमेत रहेका परियार विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन्। उक्त अवसरमा पुरस्कृत परियारले बिसे नगर्चीसँग जोडिएर पत्रकारिता पुरस्कार प्रदान गरेकोमा आभार प्रकट गरे।
यस्तै सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार फूलु सुनार पुरस्कृत भएकी छन्। सुनारलाई बुटवलका नगरप्रमुख पाण्डेय, संघका अध्यक्ष सुनार र पुरस्कारका संरक्षक शेरबहादुर गहतराजले नगदसहित दोसल्ला ओढाएर पुरस्कृत गरेका हुन्।