स्पोर्टस अवार्ड : युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

हिमाल प्रेस २४ भदौ २०८१ १७:४०
6
SHARES
स्पोर्टस अवार्ड : युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

काठमाडौँ- पल्सर स्पोर्टस अवार्ड २०८० का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ। शुक्रबार हुने अवार्डको २१औं संस्करणका लागि मञ्चले दुवै विधामा उत्कृष्ट पाँच जना सार्वजनिक गरेको हो। वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी र प्रशिक्षक छानिएको मञ्चले जनाएको छ।

मञ्चले सोमबार जारी गरेको विज्ञप्तिअनुसार उत्कृष्ट युवा खेलाडीको मनोनयनमा क्रिकेट अर्जुन कुमाल, भारोत्तोलनका हेमन्त पाल , फुटबली प्रीति राई , टेबलटेनिसका सुजन गडाल र टेनिसकी सुनिरा थापा छन्।

यसैगरी पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, क्रिकेटका मोन्टी देसाइ, कबड्डीकी पर्वती राई र भारोत्तोलनका सञ्जय महर्जन उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन्।

यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई १ लाख प्रदान गरिने छ। गत वर्ष यी विधाका विजेतालाई ५० हजार रुपैयाँ दिइएको थियो।

मञ्चले गत संस्करण पहिलोपटक दुवै विधामा प्रारम्भिक चरणअन्तर्गत आठ खेलाडीको मनोनयन सावर्जनिक गरेको थियो। तर, मञ्च यसपालि फेरि पुरानै संरचनामा फर्केको हो।

खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले सरोकारवालाहरूको सल्लाह र सुझावलाई ध्यानमा राखेर मञ्चले यसपालि हरेक विधामा पाँच खेलाडीलाई मनोयनमा राखेको बताए।

‘गत संस्करण हामीले कोही नछुट्टोस् भनेर विधागत पुरस्कारमा तीन तीन खेलाडी थप गरेका थियौँ। तर, खेल विज्ञ, विभिन्न खेलकुद संघका पदाधिकारी र अन्य सरोकारवालाहरूले पाँच खेलाडी राख्दा नै राम्रो हुने सल्लाह र सुझाव दिएपछि हामी पुरानै संरचनामा फर्केका हौं,’ मञ्चका महासचिव पनि रहेका ओलीले भने।

प्रकाशित: २४ भदौ २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast