प्रधानसेनापति सिग्देलसामु यस्ता छन् चुनौती

चन्द्रशेखर अधिकारी २४ भदौ २०८१ २२:४३
2.1k
SHARES
प्रधानसेनापति सिग्देलसामु यस्ता छन् चुनौती नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई सोमबार जंगीअड्डा परिसरमा सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको एक टुकडी। तस्बिर स्रोत : नेपाली सेना।

काठमाडौँ- अशोकराज सिग्देलले सोमबार मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५ औँ प्रधानसेनातिको कमान्ड पूर्ण रूपमा सम्हालेका छन्। सिग्देल आगामी तीन वर्ष नेपाली सेनाको नेतृत्वमा रहनेछन्। उनी सोमबार बिहान राष्ट्रपति भवनमा प्रधानसेनापतिको दर्ज्यानी चिह्न लगाएर शशिभवन (प्रधानसेनापतिको सरकारी निवास) प्रवेश गरेका हुन्।

त्यसपछि उनले जंगीअड्डा पुगेर कमान्ड सम्हाल्लेका छन्। सैनिक सेवामा ४२ वर्ष बिताएका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए भने उनलाई नेपाली सेनाले १९ गते औपचारिक बिदाइ गरिसकेको थियो। उनी आइतबार मध्यरातबाट निवर्तमान प्रधानसेनापति भएका हुन्।

शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सिग्देललाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेका थिए। व्यक्तिगत नम्बर १६१४ का बलाधिकृत रथी सिग्देललाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको थियो।

९५ हजारभन्दा बढी नेपाली सेनाको नेतृत्व गर्ने र अन्य तीन सुरक्षा निकायको अभिभावकत्व गर्ने काम सामान्य छैन। नेपाली सेनाभित्र अब्बल र व्यावसायिक छवि बनाएका सिग्देललाई झनै कठिन छ। कमिसनखोर र दलालीको बिगबिगी भएको समयमा त्यसलाई चिरेर अघि बढ्नु सिग्देलका लागि चुनौतीपूर्ण काम हो।

सिग्देलभन्दा धेरै कनिष्ट सैनिक अधिकारीले समेत प्रधानसेनापति हुने चासो राखेका थिए। उनीहरू त्यो ‘चेन अफ कमान्ड’को बेवास्ता गर्दै दलका नेताकहाँ धाएका थिए। सिग्देलले आगामी दिनमा त्यस्तालाई दण्डित गरेर सेनाभित्र पुनः अनुशासन र चेन अफ कमान्ड कायम गराउन सक्नुपर्छ। व्यक्तिगत स्वार्थका लागि सेनालाई बदनाम गर्ने प्रवृत्ति रोक्न सक्नुपर्नेछ। यद्यपि प्रधानसेनापति सिग्देलले अंकुश लगाउने नीति लिने प्रस्ट पारेका छन्।

हालसम्म शून्य विवादमा रहेका सिग्देलसामु सेनालाई भित्र र बाहिरका दूराशयपूर्ण चलखेल गर्नेबाट जोगाउनुपर्ने अर्को चुनौती छ। नातावाद, कृपावाद र भनसुनवादबाट व्यावसायिक निष्ठाका साथ कार्यरत सैनिक जवान तथा अधिकृतमाथि अन्याय हुनबाट रोक्ने जिम्मेवारी पनि सिग्देलको काँधमा आएको छ। सेनाभित्रको कुरा दूतावासमा पुर्‍याउने तत्त्वबाट पनि उनी जोगिनुपर्नेछ।

जंगीअड्डालाई विदेशी शक्ति, बिचौलिया र केही राजनीतिक शक्ति केन्द्रहरूको प्रभावबाट मुक्त राख्न सिग्देलले भूमिका खेल्न सक्नुपर्ने हुन्छ। यसअघि उनकै सक्रियतामा अघि बढेको सैनिक सामग्री उत्पादन थप बढाउने अपेक्षा सैनिक वृत्तमा छ। सैनिक सामग्री उत्पादन तथा यान्त्रिक महानिर्देशनालयका प्रमुख मेजर जनरल भोला बुढाथोकीको सक्रियताले इन्जिनियरिङ कार्यमा समेत सहज हुने देखिन्छ।

विभागले कपडा उत्पादनदेखि, हतियार बनाउने, गोली बनाउने, बारुद बनाउने जस्ता कार्य गरिरहेको छ। खुकुरी, तरबारदेखि गोलीगठ्ठा बनाइरहेको अवस्थामा छालाजुत्ता नेपालमै उत्पादन हुन थालेको छ। सेनाको रेनकोट पन्चु पनि तयार भइरहेको छ। पछिल्लो समय इन्जिनियरिङ कलेजको कार्यलाई अघि बढाउने, मेडिकल कलेज, वार कलेजदेखि अन्यको काम पनि तय भइरहेको छ।

सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ-मधेश द्रुतमार्ग पनि सिग्देलकै कार्यकालमा सम्पन्न गरेर मुलुकमा सेनाको खस्किँदो साखलाई माथि उठाउनुपर्नेछ। सेनालाई सेनाभित्रैबाट खस्काउने प्रवृत्तिलाई मुक्त गराउने दायित्व पनि प्रधानसेनापति सिग्देलको हो। संगठनलाई दाउमा राखेर सस्तो लोकप्रियताका लागि मिडियाबाजी गर्दै हिँडेकालाई पनि चेन अफ कमान्डभित्र ल्याउन आवश्यक छ। तथाकथित शक्तिको आडमा त्यस्तो काम गर्नेहरू सक्रिय छन्। ती व्यक्तिले जित्ने र संगठनले हार्ने काम पनि भइरहेकाले यसलाई सुधार गर्न सिग्देललाई त्यति सहजचाहिँ छैन। यद्यपि नेतृत्वले त्यो टुलुटुलु हेरेर बस्न मिल्दैन।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्जानी चिह्न प्रदान गर्दै। तस्बिर : नेपाली सेना

विगतमा जस्तै राजनीतिक तहबाट नेपाली सेनालाई गिजोल्ने, सेनाको आडमा कुम्ल्याउन खोज्ने प्रयास नहोला भन्न सकिन्न। यसलाई चिरेर अघि बढ्दै सेनाको साख जोगाउने दायित्व सिग्देलसामु आएको छ। अझै पनि सेना बंकरमा बस्नुपरेको अवस्था छ। नागरिक र सेनाको सम्बन्धमा अपनत्व छैन। नागरिक-सैनिक सम्बन्ध महत्त्वपूर्ण कडी हो। सेनाले नागरिक सर्वोच्चतालाई सम्मान गरेको आमनागरिकले त्यसको महसुस गर्न पाउनुपर्छ। पछिल्लो समयमा केही व्यक्तिहरू सेनाको संख्या घटाउने भनिरहेका छन्। त्यो अनावश्यक हो यसलाई उचित (राइट) साइज आवश्यक रहेको बुझाउने दायित्व पनि सिग्देलकै हो।

नेपाललाई रणनीतिक चासोका रूपमा दुवै छिमेकले मात्र होइन पश्चिमा मुलुकले पनि नियालेका छन्। सिग्देलले यस्ता विषयमा संवेदनशील भएर सरकारलाई सुझाउनुपर्ने हुन्छ। चीन, भारत, अमेरिका, सार्क र पश्चिमा मुलुकसँग कसरी कुन तवरको सम्बन्ध राख्ने भन्नेमा पनि ध्यान दिन आवश्यक छ। परराष्ट्र मन्त्रालयबाट मात्र राजदूत जाने होइन, सेनाबाट निवृत्त वा सेवामै रहद पनि राजदूतका रूपमा नियुक्त हुने परिपाटी थाल्नुपर्नेछ। किभनभने सैन्य कूटनीति विश्वको कूटनीतिक अवधारणाको एक महत्त्वपूर्ण अंग बनिसकेको छ।

६० अर्ब रुपैयाँको सैनिक कल्याणकारी कोषलाई व्यापार र व्यवसायमा लगानीभन्दा पनि सैनिक परिवारको हकहितका लागि प्रयोग गर्ने, सैन्य परिवारलाई आवास बनाउने जस्ता कार्यमा ध्यान दिन उपयुक्त हुन्छ। ​सिग्देलले यस्ता चुनौती पार गर्दै आफ्नो तीनवर्षे कार्यकाललाई गौरवपूर्ण बनाउन आवश्यक छ। यतिबेलाको विश्वमा बढ्दो आकांक्षा र राजनीतिक डरलाई जित्न सकेमा सफलता मिल्नेछ।

सधैँ अग्रपंक्तिमा र विशेष रणनीतिकार

३८ वर्ष सैन्य सेवामा सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल मात्रै गरेका छैनन् सेनाभित्र आफूलाई अब्बल सेना बनाउँदै सधैँ अग्रपंक्तिमा राखेर आफ्नो परिचयलाई सानदार बनाएका छन्। आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन्।

सिग्देलले सेनाको मेरुदण्डका रूपमा मात्र होइन रणनीतिकारको परिचय बनाएका छन्। सेनामा कुनै जटिल अवस्था आएपछि सिग्देलकहाँ पुग्दा गाँठो फुक्ने गरेको थियो। त्यही छविका कारण उनी सबैका प्रिय छन्। सिग्देलले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक, मध्य, उपत्यका पृतनाजस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।

शान्तिसेनामा लामो समय रहन नपाए पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भने पटकपटक खटिएका थिए। उनी पूर्वयुगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियाजस्ता चुनौतीपूर्ण स्थानहरूमा संयुक्त राष्ट्रसंघको शान्तिसेनामा सहभागी भएका थिए। सिग्देल सैनिक सहचारी भएर पनि कतै गएनन्। सैन्य सहचारी अरू थिए, कूटनीतिक पहलकदमी सिग्देल गर्थे। अब्बल कूटनीतिक छवि बनाएका सिग्देल २५ ‘बेसिक’का सैनिक अधिकृत हुन्। उनको मदर युनिट ‘श्री देवीदत्त गण’ हो।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा अग्रपंक्तिमा परेका सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन्। उनीसँग काउन्टर इमर्जेन्सी र जंगल वारफेयर स्कुलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ।

जुनसुकै प्रशिक्षणमा आफूलाई अब्बल अधिकृतका रूपमा प्रमाणित गर्दै आएका सिग्देलले सन् २०२२ मा अमेरिका-नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए। कोभिड-१९ महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सचिवका रूपमा काम गरेका उनी सरकारबाट सम्मानित भएका थिए। सिग्देलले विभिन्न विशिष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाएका छन्। उनी दुईपटक सीओएएस कम्पेन्डेसन ब्याजबाट सम्मानित भएका उच्च सैनिक अधिकृत हुन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्त्वका घटनालाई चासो दिने सिग्देल संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचित छन्। उच्चस्तरीय अध्ययन र प्रशिक्षणमा सधैँ अग्रस्थानमा पर्ने भउकाले उनीसँग सेनाभित्र जोकोही पनि नतमस्तक हुने गर्छन्।

सिग्देल भारत, चीन र अमेरिकालाई राम्ररी बुझेका विशिष्ट सैनिक अधिकृत मानिन्छन्। तिनै मुलुकमा अध्ययन गरेका सिग्देलले यी मुलकुको रणनीतिक चासो र वास्तविकताको तालमेल जरैदेखि बुझेका छन्। राजनीतिक व्यक्तिसँग नजिक नभए पनि उनी राजनीतिमा चासो राख्ने र सुझाउने सेनापतिमा पर्छन्। उनी हस हजुर हुन्छ भन्ने सेनापति पनि होइनन्। सेनालाई असर गर्ने विषय कसैले उठाए यो गलत हो भन्न सक्छन्। हो मा हाे लाएर साख गिराउने काम उनी गर्दैनन्।

सिग्देल सैन्य अधिकृतका रूपमा सेनामा प्रवेश गर्दा पनि आफ्नो ब्याचमा उत्कृष्ट क्याडेट थिए। मातहतलाई काममा सधैँ प्रोत्साहन गर्ने र अभिभावकीय भूमिकामा अब्बल रहेका सिग्देलले अब पनि आफ्नो भूमिका राम्ररी निर्वाह गर्ने विश्वास छ।

सबै षड्यन्त्र चिरेर नेतृत्वमा

सिग्देललाई प्रधानसेनापति बन्न नदिन अनेक प्रयास भएका थिए। उनीभन्दा वष्ठि सैनिक अधिकृत विभिन्न फर्जी कार्यले सेवा निवृत्त भए। जसले गर्दा सिग्देललाई सहज भएको थियो। उनलाई  प्रधानसेनापति बन्न नदिन  प्रभुराम शर्माभन्दा अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापादेखि खेल सुरु भएको थियो। सिग्देल  उनी नेतृत्वमा भाग्य र कर्मले मात्र पुग्ने कुरामा विश्वास गर्थे।

अध्ययनशील र नियममा हिँड्ने सिग्देल प्रधानसेनापति भए भने कतिपयले आफ्नो भाग गुम्ने भन्दै अनेकन् तिकडमसमेत गरे। सिग्देल त्यसलाई चिरेर प्रधानसेनापति भएका छन्। उनीविरुद्ध तिकडम भएको कुरा निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो एन्जाइटी एक हजारसम्म पुर्‍याएको जानकारी भदौ १९ साँझ आयोजित बिदाइ समारोहमा गराएका थिए। एउटा खेमाले अनेकन् खेल खेलेको र त्यसलाई चिरेर आफूले अब्बल व्यक्तित्वलाई प्रधानसेनापति बनाउन पाएकोमा खुसी अनुभूति भएको धारणा शर्माको थियो।

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलका बाल्यकालीन र केही पारिवारिक तस्बिर। तस्बिर स्रोत : सिग्देल परिवार

सिग्देललाई विवादमा पार्न कतिपयले बर्मेलीसमेत भनेर आरोप लगाए। नसच्याएको नागरिकता सच्याएको आरोप पनि उनीमाथि लाग्यो। आफूविरुद्ध प्रचारबाजी हुँदा पनि चुपचाप रहेका सिग्देल सही भएकाले कसैले केही गर्न नसक्ने भन्ने अडानमा थिए। त्यही अडानले उनी ४५ औँ प्रधानसेनापति भए। उनले निवर्तमान प्रधानसेनापति शर्मालाई बिदाइ समारोहमा भनेका थिए, ‘म यो माटो बिर्सन्नँ र एक मुठी सास रहुन्जेल राष्ट्रका लागि लडिरहनेछु। सरकारको नेतृत्व पालना गर्दै सेनालाई थप व्यावसायिक र आधुनिकीकरण गर्नेछु।’

महारथी सिग्देलको पारिवारिक पृष्ठभूमि

सिग्देल २०२३ माघ १९ गते रुपन्देहीको एक मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्। उनी २०४३ सालमा अधिकृत क्याडेटका रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए। तनहुँको पुर्ख्यौली थलोबाट उनका पिता विश्वराज सिग्देल तौलिहवा हुँदै भैरहवा बसाइँ सरेका थिए। उनले भैरहवालाई कर्मथलो बनाए। अशोकराजले आफ्नो मामाको साथमा काठमाडौँ आएर पढेका थिए। सेनाकै सुपिङ क्याम्पसमा उनले उच्च अध्ययनको ढोका खोलेका हुन्।

नेपाली सेनाको २५ बेसिकमा पहिलो स्थानमा रहेर क्याडेट गरेका व्यावसायिक अधिकृत हुन् सिग्देल। फुर्सदका बेला सिग्देल हाइकिङ, ट्रेकिङ जान रुचाउँछन्। अध्ययन गर्ने, आध्यात्मिक विषयमा कुराकानी गर्ने, संगीत सुन्ने उनको बानी छ।

उनी सेनामा जानुअघि बक्सिङका राष्ट्रिय स्तरका खेलाडी थिए। तेक्वान्दोका पनि धुरन्धर हुन् उनी। सिग्देल स्कुले जीवनमा टेबलटेनिसका रहरलाग्दा खेलाडी थिए। सिग्देलका चार दाजुभाइमध्ये एकको निधन भइसकेको छ। उनका तीन दिदीबहिनी छन्। सिग्देलले काठमाडौँकी नीता केसीसँग प्रेमविवाह गरेका हुन्। सिग्देल दम्पतीका एकमात्र सन्तान आशुतोष स्नाकोत्तर तहमा अध्ययनरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast