लुम्बिनी– किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन्। कैदको सट्टामा सोमबार रकम तिरेर केसी रिहा भएका हुन्।
फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधाअनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रकम तिरेर रिहा भएका हुन्। फौजदारी अपराध संहिता २०७४ अनुसार एक बर्षसम्मको कैद सजायमा १ दिन बराबरको ३ सय रुपैयाँका दरले रकम भुक्तानी गरेमा रिहा हुन सक्ने प्रावधान रहेको छ।
किर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसी आइतबार पूर्वी रूकुम जिल्ला अदालतमा हाजिर भएपछि अदालतले कारागार चलान गर्न आदेश दिएको थियो। साबिक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो। अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। उनी त्यति बेलादेखि नै फरारको सूचीमा थिए।
नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए। जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालले यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको बताए। आइतबार अदालतसमक्ष आत्मसर्पण गरेका केसीलाई करागार चलान गरिएकाे भनिए पनि राति कारगारमा नराखिएको स्रोतले बताएकाे छ।
२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए।
उनी कारागार चलान भएको पत्र नै प्रदेश सभामा नआउँदै उनी रिहा भएका हुन्। प्रदेश सभा सचिवालयले यसबारै कुनै औपचारिक जानकारी नआएको जनाएको छ।