काठमाडौँ- संयुक्त राष्ट्रसंघको महासभाको प्रारम्भिक बैठक सेप्टेम्बर को दोस्रो मंगलबार (भोलि)देखि सुरु हुँदैछ। ‘कसैलाई पनि पछि नपारौँ : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानवनिष्ठा सुनिश्चितका लागि सहकार्य’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसंघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा सुरु हुन लागेको हो।
यसको औपचारिक थालनी भने सेप्टेम्बरको तेस्रो मंगलबार अर्थात असोज एक बाट सुरु हुनेछ। राष्ट्रसंघको महासभाको प्ररम्भिक छलफल भोलिदेखि सुरु हुने भए पनि उच्चस्तरीय छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ। उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४ मा हुने कार्यतालिकामा राष्ट्रसंघले बाहिर ल्याएको छ। नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असरलाई कसरी समाधान गर्ने भन्ने विषय गम्भीर बहस हुनेछ। कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य संकट पनि यस पटकको बहसमा आउनेछ।
विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्र एवं सरकार प्रमुखले भाग लिनेछन्। यसलाई एउटा कूटनीतिक र राजनीतिक कुम्भमेला पनि भनिन्छ। यसपटकको महासभा नेपालका लागि पनि महत्त्वपूर्ण मात्र होइन चुनौती पूर्ण छ। संघीय संसद्ले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्दा छिमेकले अहिलेसम्म स्वागत नगरेको विषय उठ्दा चुनौती हुन्छ भने अन्यको स्वागतले महत्व पनि पाउने जानकारहरूले जनाएका छन्।
यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक विन्दुमा पुर्याउन सफल भएको विश्वकै नमुनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ। नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ।
न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्नेछ। त्यहाँ भारतीय प्रधानमन्त्री मात्र होइन अन्य मुलुकका कार्यकारी र राष्ट्रप्रमुखसँग पनि भेटघाट हुनेछ त्यो भेटघाटले नेपाल र ति मुलुकबीचको सम्वन्धमा थप सहजता र न्यानोपन थप्ने विश्वास लिन सकिन्छ। नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ। त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए र गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ।
तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डि रुजबेल्ट र ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध चलिरहेकै बेला लिग ‘अब नेसन होइन अब राष्ट्रसंघको परिकल्पना गरौँ’ भनेको र त्यो अनुरूप प्रक्रिया अघि बढेको भए पनि राष्ट्रसंघ अहिले कमजोर भएको धारणा छ।
त्यतीबेला मुख्य चार उद्देश्य थिए– दोस्रो विश्वयुद्धबाट क्षतविक्षत भएको विश्वको भौतिक र मानसिक पुनर्निर्माण गर्ने, विश्वका सबै मुलुकहरुबीच दोस्रो विश्वयुद्धका समयमा कोरिएको शत्रुताको रेखा मेटाएर शान्ति र सद्भाव कायम गर्ने, समृद्ध र समुन्नत विश्व बनाउने र सम्भावित अर्को विश्वयुद्धको सम्भावनालाई जन्मिनै नदिने भनिएको थियो। प्रधानमन्त्री ओलीले १० असोजमा सम्बोधन गर्ने कार्यक्रम छ।