पोखरा- पोखरा-मग्लिन सडकखण्डमा पूर्वी खण्डमा ६४ प्रतिशत काम सकिँदा पश्चिम खण्डमा भने ३० प्रतिशतमात्रै प्रगति भएको छ।
दसैंतिहार लगायतका चाडपर्व नजिकिँदा पश्चिम खण्डको काममा ढिलासुस्ती देखिएपछि सरोकारवाला निकायले विभिन्न निर्णय गरेका छन्।
आइतबार मुख्यमन्त्री कार्यालयमा आयोजित सरोकारवालाको छलफलले सडक विस्तार र निर्माणको काम छिटो गर्न आयोजना कार्यालय, निर्माण कम्पनीलाई काममा सहजीकरण गर्ने गरी पाँचबुँदे निर्णय गरेको छ।
जसमा स्थानीय उत्पादन तथा निर्माण सामाग्रीको लागि प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी वापतको शुल्क रकम संकलन गर्ने क्रममा सम्बन्धित स्थानीय तहले फरक शीर्षकमा थप शुल्क रकम नलाग्ने गरी एकमुष्टरुपमा प्रचलित कानुनबमोजिम रोयल्टीबापतको शुल्क रकम संकलन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ।
यस्तै निर्माण सामग्री प्रशोधनका लागि निर्माण गरिएको प्लान्टमा संकलन हुने निर्माण सामग्रीको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत बुझ्न चाहेको बखत उक्त सामग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नुपर्ने बताइएको छ।
सडक निर्माणको कार्यमा बाधा उत्पन्न नहुने गरी समयमा कार्य सम्पन्न गर्न सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणको तर्फबाट बिजुली पोलहरु रिलोकेट गर्ने, चाडपर्व तथा पर्यटकको आवागमनको कारण सडकमा चाप बढ्ने भएकोले मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) मा वर्षातले बिगारेको सडक क्षेत्रमा खाल्टाखुल्टीहरु पुर्ने तथा प्याचवर्क गरी सवारी आवागमनमा सहज गर्न आयोजनाको तर्फबाट स्मुथ राइडिङ सरफेस गराउने, बत्ती काट्ने समयको सूचना प्रकाशन गरी पोखरा-भरतपुर भूमिगत विद्युतीकरण आयोजनाको तर्फबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटदेखि सेती नदी पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य भदौ मसान्तसम्म सम्पन्न गर्ने र तत्पश्चात आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशीघ्र न्यूनतम दुई लेन सडक निर्माण कार्य सम्पन्न गर्ने गराउने निर्णय भएको छ।
सो अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुनै समस्या भए सहजीकरण गर्ने आश्वासन दिँदै कामको गति छिटो बढाउन निर्देशन दिए।
छलफलमा पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका मेयर, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत प्राधिकरणका इकाइ प्रमुखहरूलगायत उपस्थित थिए।
छलफलमा निर्माण कम्पनीले अबको १५ महिनाभित्र काम सक्ने लक्ष्य लिएको जानकारी दिएको छ। तनहुँको आबुँखैरेनीदेखि जामुनेसम्म पूर्वी र त्यसयता पोखरासम्म पश्चिम खडकखण्ड पर्दछ।
एक तथ्यांकअनुसार पोखरा–मुग्लिङ सडकमा दैनिक करिब साढे ७ हजार सवारी गुड्ने गर्छन्।
चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५–२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ।
दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले जनाएको छ।
पश्चिम खण्डअन्तर्गत २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ देखि काम सुरु भएको थियो। यो खण्डको म्याद २०८१ भदौसम्म रहेको थियो।