जनकपुरधाम उद्योग वाणिज्य संघको चुनाव, मतदातामा छैन उत्साह

नेहा झा २३ भदौ २०८१ १३:२१
48
SHARES
जनकपुरधाम उद्योग वाणिज्य संघको चुनाव, मतदातामा छैन उत्साह अध्यक्षका उम्मेदवार सुरेन्द्रकुमार भण्डारी (माथि), जितेन्द्रप्रसाद साह (बायाँ) र मनीषरमण साह।

जनकपुरधाम- जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको नयाँ निर्वाचन हुन एक साता बाँकी छ। भदौ २९ गते हुने चुनावमा अध्यक्ष पदका लागि तीन उम्मेदवार मैदानमा छन्। नेतृत्वमा जान उम्मेदवारको दौडधुप जारी छ। व्यापारीलाई रिझाउन उनीहरूले विभिन्न आश्वासन बाँडिरेहका छन्। मतदातामा भने उत्साह देखिएको छैन।

अध्यक्ष पदका लागि जितेन्द्रप्रसाद साह, होटल व्यवसायी सुरेन्द्र भण्डारी र सुनचाँदी व्यवसायी मनीषरमण साह प्रतिस्पर्धामा छन्। जितेन्द्रप्रसाद साह वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् भने भण्डारी निवर्तमान उपाध्यक्ष हुन्। मनीषरमण वर्तमान वरिष्ठ उपाध्यक्ष हुन्।

जितेन्द्र अनुभवी उम्मेदवार हुन्। पछिल्लो निर्वाचनमा उनी अध्यक्ष पदमा पराजित भएका थिए। कांग्रेसले जितेन्द्रलाई सहयोग गरे उनको पक्षमा नतिजा आउने दाबी गरिएको छ। जितेन्द्रले भने, ‘निर्वाचन विशुद्ध व्यापारीको निर्वाचन हो। व्यापारीहरूले आफ्नो नेतृत्व स्वतन्त्रतापूर्वक चुनेर ल्याउनुपर्छ।’ उनको बुझाइमा जनकपुरधामका व्यवसायी सजग छन्। उनले भने, ‘निर्वाचनमा राजनीतिक दलका नेताहरूको शक्तिले काम गर्ने छैन। व्यापारीहरू आफ्नो निर्णय गर्न सक्षम छन्।’

भण्डारीसँग सर्वाधिक मत पाएर उपाध्यक्ष पदसम्म पुगेको अनुभव छ। यसका साथै पछिल्लो निर्वाचनमा उनी वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लडेका थिए यद्यपि उनी पराजित भएका थिए। भण्डारीप्रति गैरवैश्य मतदाताको सहानुभूति रहेको कतिपयको तर्क छ।

भण्डारी भन्छन्, ‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हितका लागि धेरै काम गर्ने प्रयास गरेँ तर चाहेर मात्रै केही काम गर्न सकिएन। बाँकी रहेका काम गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।’

अर्का उम्मेदवार मनीषरमण साहले आफू अध्यक्ष भए झोलामा संघको सदस्यता बोकेर हिँड्ने बताए। साहले कहिल्यै पेसा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी दायित्व नतिरेका व्यवसायीको सदस्यता छानबिन गरी हटाउने बताए। संघलाई व्यवसायीको विशुद्ध संगठन बनाउन एजेन्डा उनको छ।

जउवा संघको कुल १७ पदको कार्यसमितिमध्ये उपाध्यक्ष पदमा लक्ष्मण साह निर्विरोध निर्वाचित भइसकेका छन्। अब १६ पदका लागि ४१ उम्मेदवार मैदानमा छन्। आमव्यापारीमा भने निर्वाचनप्रति उत्साह देखिएको छैन।

व्यापारीहरू उम्मेदवारको पछाडि लाग्न मानिरहेका छैनन् भने उम्मेदवार पसलमा पुग्दा सामान्य प्रतिक्रिया मात्रै जनाइरहेका छन्। उम्मेदवारहरूसंँ अहिले घरदैलोमा घुम्ने अधिकांश सहयात्री परिवारजन र घनिष्टहरु मात्र देखिन्छन्।

अध्यक्ष पदमा स्पष्ट त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको यसपटकको निर्वाचनमा मतदानमा त्यति उत्साहजनक नहुने देखिन्छ। जनकपुरधामको विश्वकर्मा चोकमा किराना पसल चलाउँदै आइरहेका रामबहादुर साहले भने, ‘अहिले व्यापार मन्दी छ। दसैँ नजिकिँदै छ तर बजार पूरै सुनसान छ। म त भोट हाल्न मात्रै जाने हो।’

यसैगरी पानपसल सञ्चालक सुबोध राय पनि संघको चुनावमा कुनै उत्साह नरहेको बताउँछन्। उनले भने, ‘दुःख र गुनासो त धेरै छ तर के गर्नु सबै आफ्नै जस्तो लाग्छ’, निर्वाचनबाट संकटमोचनजस्ता नेतृत्व आए मात्र कल्याण हुन्छ नभए हाम्रो व्यापार भगवान् भरोसा हो।’ उनले सबै आफ्नै जस्ता रहेकाले गुनासो र आक्रोश गर्न नसकिएको बताए। उनले भने, ‘व्यापारीको दुःख र पीडा त भनिसाध्य छैन।’

प्रकाशित: २३ भदौ २०८१ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast