पुस्तक चर्चा

अनमोल ‘रत्न’ को खोजीमा!…

ध्रुवहरि अधिकारी २२ भदौ २०८१ २०:२८
236
SHARES
अनमोल ‘रत्न’ को खोजीमा!…

राणाकालीन नेपालमा जन्मेका जातक सबै हुकुमी शासनका पृष्ठपोषक थिएनन्। तीमध्ये कैयन् नेपाली युवावस्थामा पुग्दा विद्रोही स्वर र स्वभावका भैसक्थे। त्यही विद्रोही कित्तामा पर्ने एक युवकका रूपमा चिन्न सकिन्छ रत्नप्रसाद खरेललाई। वि.सं. १९८१ मा काभ्रेपलाञ्चोक खरेलथोकमा यिनको जन्म हुँदा नेपालका शासक थिए श्री ३ चन्द्रशमशेर। खोपाका देउताका रूपमा राखिएका राजा थिए श्री ५ त्रिभुवन। पाँच वर्षपछि रोलक्रममा रहेका जुद्धशमशेर श्री ३ भए। पछि यिनकै निगाहाबाट रत्नप्रसादले पहिले मुखिया र पछि विचारीमा सरकारी जागिर पाए। ‘त्यसबेला मेरो तलब पाँच मोहर थियो’, भनेर रत्नप्रसादको निजी टिपोटखण्डमा लेखिएको छ।

इतिहासको त्यस कालखण्डमा हुकुमी शासनको पीडा बेहोरेकामध्ये शिक्षित र जागरुक युवाहरू परिवर्तनका लागि जुर्मुराउन थालिसकेका थिए। वि.सं. १९९३ सालमा टंकप्रसाद आचार्यको संयोजनमा स्थापित ‘प्रजा परिषद्’ ले समेटेर गोलबन्द गराएका युवकहरूले देशव्यापी जनचेतना जगाउने प्रयास गरे। पर्चाको सिलसिला १९९७ सालमा शुरू भयो। रत्नप्रसाद खरेल पनि दिउँसो सरकारी जागिरमा रहने र राति-राति राणाविरोधी पर्चा टाँस्ने, छर्ने अभियानमा लागेकाहरूलाई सघाउँथे। ‘राणावर्ग हो !’ भनेर सम्बोधन गरिएको पर्चा निकै चर्चित रहिआएको छ। पछि विद्रोही समूहकै एक सदस्यले इनामको लोभमा परेर राणाशाहीविरुद्धको योजनाको भेद खोलिदिएकोले धरपकड भयो; धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथ चन्दलाई राजद्रोहको दोष लगाई प्राणदण्ड दिइयो भने टंकप्रसाद र रामहरि शर्मा ब्राह्मण भएकोले मृत्युदण्डको साटो सर्वस्वहरण गरेर कैदी तुल्याइयो।

प्रजा परिषद् औपचारिक रूपमा विघटन भए तापनि जागरुक युवकहरू हुकुमी शासन अन्त्यका लागि क्रान्तिको बिगुल फुक्दै अघि बढेका थिए। तिनै युवकहरूको जमातमा थिए रत्नप्रसाद खरेल। यो सिलसिला चलेको दश वर्षपछि अर्थात् २००७ सालमा त जनआक्रोश उत्कर्षमा पुगिहाल्यो। त्यसबखतको परिवर्तनले नेपाललाई नयाँ युगमा प्रवेश गरायो जुन जग-जाहेर नै छ।

परिवर्तित परिस्थितिमा नेपालमा विकसित हुँदै गएको राजनीतिमा रत्नप्रसाद खरेलको अभिरुचि अस्वाभाविक भएन। तदनुरुप सात सालमा जागिर छोडेपछि उनी राजनीतिमै सक्रिय भए। यसै क्रममा, २०१२ साल माघमा टंकप्रसाद आचार्यको नेतृत्वमा गठित सरकारमा खरेल ‘अर्थ उपमन्त्री’ भएको कुरा अभिलेखहरूमा भेटिन्छ। २०१५ सालको निर्वाचनमा उम्मेदवार भएको तर त्यसमा खरेलले पराजय बेहोर्नुपरेको थियो। २०१७ साल पुस १ गतेको राजा महेन्द्रको शाही कदमले संसदीय परिपाटी नेपालका लागि अफापसिद्ध घोषित गरिदियो। र, त्यसैताका भएका धरपकडमा खरेलसमेतका राजनीतिज्ञ परेको जानकारी चर्चित पुस्तकमा छ। सात साल फागुन ७ गते प्रजातन्त्र बहालीको लगत्तै पछि किरात प्रदेशमा विद्यमान अशान्ति अन्त्य गर्ने काममा सहयोग माग्दै गृहमन्त्री बीपी कोइरालाबाट लेखिएको पत्र पढ्दा (पृष्ठ ४६) रत्नप्रसादको प्रजातान्त्रिक दृष्टिकोणप्रति बीपी उसै बेलादेखि परिचित र आश्वस्त रहेको बुझ्न सकिन्छ।

रत्नप्रसाद खरेलको दह्रो मान्यता थियोः– राणा परिवारबाट सत्ता खोसेर शाह परिवारमा सुम्पिनका लागि मात्र जनताले ज्यानको बाजी लगाएर क्रान्ति  (सात सालको) गरेका थिएनन्।’ त्यसकारण सत्र सालको काण्डपछि लागू गरिएको पञ्चायत व्यवस्थाको खरेलले आरम्भमा सशक्त विरोध गरेका हुन्। तर समयको अन्तरालमा उनलाई के लाग्यो भने बाहिर बसेर गरिएको विरोध प्रभावकारी नहुने रहेछ। त्यसैले उनले त्यही पञ्चायतभित्रै पसेर राजनीतिको दायरा फराकिलो गराउने निधो गरे। र, २०१९ सालमा राष्ट्रिय पञ्चायतको उम्मेदवार भए; विजय हासिल भयो। २०२४ सालको निर्वाचनमा पनि विजयी भए र अर्को पाँच वर्ष रा.प.स.को भूमिकामा रहे।

रामहरि शर्माद्वारा लिखित आत्मवृत्तान्तमा हृषीकेश शाह, वीरेन्द्रकेशरी पोखरेल, वासुदेव ढुंगाना र रत्नप्रसाद खरेलको नाम उल्लेख गर्दै शर्मा स्वयंले समेत भएर निर्दलीय प्रजातन्त्र अर्थात् पञ्चायतको व्यवस्थापिकामा ‘प्रतिपक्षको भूमिका’ खेलेको प्रसंग भेटिन्छ। पहिलो कार्यकालमा रत्नप्रसाद खरेलले राष्ट्रिय पञ्चायतको अध्यक्षमा विश्वबन्धु थापासँग प्रतिस्पर्धा गरेका थिए भने रामहरि शर्माचाहिं कालान्तरमा अध्यक्ष (सभामुख) पदमै पुगेका थिए।

विवेच्य पुस्तकका ३६८ पृष्ठ पाँच खण्डमा विभाजित छन् जसमा काभ्रेपलाञ्चोकका रत्नप्रसाद खरेल चितवन बसाइँ सरेको र ५२ वर्षको उमेरमा (२०३३ साल चैत) घरैछेउको टौवा खस्दाको दुर्घटनामा परेर निधन भएको समेतका विविध विवरण सङ्‌कलित छन्। खरेलका सक्रीयता र गहिरो राजनीतिक विचार बुझ्न चाहनेका लागि यस पुस्तकका परिशिष्ट र तस्बिर पृष्ठ उपयोगी हुने देखिन्छ।

२०२९ साल साउनमा काठमाडौँको इटुम्बहालमा भएको एक प्रवचन कार्यक्रममा सूर्यबहादुर थापा, रत्नप्रसाद खरेल, कृष्णप्रसाद भण्डारी र प्रकाशचन्द्र लोहनीलगायतले राजदरबार र सिंहदरबार मिलेर मुलुकमा द्वैधशासन चलाएको ठीक भएन भन्ने मन्तव्य दिए। बेलुकीपख चारैजना पक्राउ परे। केही महिना थुनिए। राजा महेन्द्रको निधनपछि राजा भएका वीरेन्द्रको शासनकालको प्रारम्भिक चरण थियो त्यो।

रत्नप्रसाद खरेलका बारेमा यस पुस्तकमार्फत विचार प्रकट गर्ने व्यक्तिहरूमध्ये पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले खरेल राष्ट्रिय पञ्चायत (जहाँ औपचारिक रूपमा सत्तापक्ष र विपक्ष हुँदैनथ्यो) मा प्रतिपक्षीको भूमिका खेलेको सम्झना गरेका छन्। भन्छन्ः- बिना कुनै तयारी पनि जुरुक्क उठेर धाराप्रवाह बोल्ने क्षमता भएको विधायक हुन् रत्नप्रसाद खरेल।

त्यस्तै, राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको यस उद्गारले रत्नप्रसाद खरेलको व्यक्तित्व आँक्न थप मद्दत पु-याउँछः- ‘भारतका अटलविहारी वाजपेयीको… जस्तै प्रभावशाली व्यक्तित्व मैले रत्नप्रसादजीमा देखेँ। त्यस्तो स्पष्ट, कुशल र तार्किक पार्लियामेन्टेरियन मैले अहिलेसम्म देखेकै छैन।” शुरू-शुरूमा राष्ट्रिय पञ्चायतको बैठक प्रेसको लागि खुला थिएन। तर त्यहाँ भएका बहसबारे सदस्यहरूले बाहिर आएपछि गर्ने चर्चाहरूबारे सुनिने गर्थ्यो। यस हरफको लेखकले पनि बेला-बखत सुनेको हो।

एक समय यस्तो थियो जुन बेला व्यवस्थापिकातर्फ रत्नप्रसाद खरेल चर्चित भएझैँ न्यायपालिकातर्फ न्यायाधीश विश्वनाथ उपाध्यायको नाम चेतनशील समाजले बरोबर सुन्ने गर्थ्यो- विशेष गरेर राजनीतिक प्रकृतिका आदेश, फैसलाहरूको सिलसिलामा।

अहिलेको राजनीतिक परिवेशमा हेर्दा राष्ट्रिय पञ्चायत लोकतान्त्रिक जगमा उभिएको संसद्जस्तो नदेखिएला। तथापि त्यसलाई राणाकालको भारदारी सभासँग दाँज्नु भने उचित हुँदैन। किनभने राष्ट्रिय पञ्चायत २०१५ सालको निर्वाचनपछि बसालिएको संसदीय परिपाटी अनुकूल नै विकसित हुँदै आएको व्यवस्थापिका हो। र, यसलाई प्रजातान्त्रिक पद्धति र प्रचलनअनुरूप सञ्चालन गर्ने स्थिति पनि बसालियो। यस हरफको लेखकले गोरखापत्रको संवाददाता छँदा र पछि एक संसद्-समीक्षक भएर केही वर्ष बैठकका कारबाहीहरू हेर्ने सुन्ने अवसर पाएको थियो। एकताका रेडियो नेपाल र नेपाल टेलिभिजनमा ‘संसद् समीक्षा’ नियमित प्रसारण हुने गर्थ्यो।

माथि सङ्‌केत गरियो, पुस्तकको परिशिष्ट खण्ड (पृष्ठ २८४-३५०) वजनदार खण्ड हो। किनभने यसमा परेका रत्नप्रसाद खरेलका मन्तव्यबाट एकातिर राष्ट्रिय पञ्चायतमा केकस्ता जनरुचिका विषय छलफलमा आउँदा रहेछन् भन्ने कुराको जानकारी पाइन्छ भने अर्कोतिर ‘निर्दलीय’ राजनीतिमा सजग र आँटिला सदस्य कसरी प्रभावकारी रूपमा प्रस्तुत हुँदा रहेछन् त्यसको झलक प्राप्त गर्न सकिन्छ। संसदीय परिपाटीको विकासक्रमका अध्येता र अन्वेषकहरूका लागि यी सामग्रीहरू निकै उपयोगी हुन सक्छन्। गोर्खा भर्ती, कोशी सम्झौता, नाकाबन्दी, भ्रष्टाचार, व्यापारमा विदेशीहरूको हात, भोका-नाङ्‌गा जनताउपर करमाथि कर इत्यादि विषयमा रत्नप्रसाद खरेलका भनाइ निकै गहकिला र सान्दर्भिक देखिन्छन्।

२०२८ साल साउन ३ गतेको बैठकमा रा.प.स.खरेलः ‘यो संविधानअनुसार देशको सर्वोच्च व्यवस्थायिका हो…रामराजाप्रसाद सिंह, जो चुनावमा विजयी भई निर्वाचन आयोगबाट प्रमाणपत्र लिएर यहाँ खडा हुनुभएको छ, उहाँको शपथग्रहण कार्य स्थगित गर्ने अध्यक्ष महोदयको त के ब्रह्माको पनि अधिकार छैन।’

कार्यकारी अधिकारसम्पन्न राजाको अनुकूल हुने गरी बनेको २०१९ सालको संविधानमा पञ्चायतकालमा राजा र राजपरिवारका सदस्यबारे प्रश्न उठाउन पाइँदैनथ्यो। त्यस्तो अवस्थामा पनि राष्ट्रिय पञ्चायतको बैठकमा खरेलले यस्तो खह्रो टिप्पणी गरेका थिएः–बारम्बार भन्दै आएका छौँ कि राजपरिवारले व्यापार गर्नु हुँदैन। …राजसंस्थाको हितको लागि र नेपाल र नेपालीको हितको लागि…राजपरिवार राजपरिवार नै भएर बस्नुपर्छ।’

यस खँदिलो पुस्तकको भूमिका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीबाट आएको छ। गीतकार एवं चलचित्रकर्मी यादव खरेलले काका रत्नप्रसादलाई धुलिखेललाई काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम कायम गराउन गरेको मेहनतको सन्दर्भमा सम्झेको देखिन्छ।  छोरी डा.रमा खरेलले कर्मयोगी पिताको संस्मरण छपाउन विशेष परिश्रम गरेको अनुभव हुन्छ।

निश्चय नै, साहस, इमानदारी र कार्यकुशलताका पर्याय रत्नप्रसाद खरेलको जीवनीबाट नयाँ पुस्ताका नेपालीलाई प्रेरणादायी सन्देश मिल्ने अपेक्षा गर्न सकिन्छ। पुस्तकको अर्को संस्करण समयोचित परिमार्जनका साथ निस्कने आशा गरौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =