आठ वर्षमा नसकिएको काम एक महिनाभित्र सक्न कृषिमन्त्रीको निर्देशन

हिमाल प्रेस २१ भदौ २०८१ २१:०३
12
SHARES
आठ वर्षमा नसकिएको काम एक महिनाभित्र सक्न कृषिमन्त्रीको निर्देशन

काठमाडौँ-  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारस्थित पुष्प तथा फलफूल थोक बजारमा संरचनाको निर्माण एक महिनाभित्रै सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका छन्।

फूल र फलफूलको बिक्री वितरणलाई व्यवस्थित गराउने उद्देश्यले आठ वर्षअघि सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो। तत्कालीन समयमा दुई वर्षको म्याद राखिएको थियो। कालिमाटीस्थित फलफूल तथा तरकारी विकास समितिको स्वामित्वको उक्त बजार निर्माण भएपछि फलफूलको बिक्री वितरण सुविधा सम्पन्न बहुतले दुई भवनबाट हुनेछ।

विगतमा कृषि चुन कारखाना सञ्चालन भएको कुल २३ रोपनी फराकिलो जमिनमा आधुनिक फलफूल बजार सञ्चालमा ल्याउन २०७३ असोजमा करिब ३५ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो। हाल संरचना निर्माणको भौतिक प्रगति ८७ प्रतिशत मात्रै भएको जनाइएको छ। हालसम्म आयोजनाको म्याद ११ पटक थप गरिएको छ।

मन्त्री अधिकारीलाई निर्माण व्यवसायी रवि सिंहले हालसम्म भएका प्रगति, अहिलेको अवस्था र समस्याबारे  जानकारी गराएका थिए। ‘निर्माणस्थलको दक्षिणपश्चिम कुनाबाट अनेक्षित ढंगबाट ठूलो मात्रामा पानी आइरहेको छ, त्यसको निकासका लागि संरचना बनाउन निर्देशन र आवश्यक बजेटको व्यवस्था नभएसम्म निर्माण अघि बढ्ने अवस्था छैन,’ उनले भने। उनले दुवै भवन निर्माण अन्तिम चरणमा रहेको जानकारी गराए।

त्यसअवसरमा सांसद राजेन्द्रकुमार केसीले निर्माण तत्काल सकेर बजार सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।

कीर्तिपुर नगरपालिका–६ का अध्यक्ष खीरमानसिंह बस्नेतले केही स्थानीयले जग्गाको मुआब्जा नपाएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न आग्रह गरे। पाँचतले भवनमा करिब ७० वटा स्टल र दुई तले भवनमा ३० वटा स्टल रहनेछन्। साथै भवनमा समितिको कार्यालय, बैंक र सभाहल पनि हुनेछ।

प्रकाशित: २१ भदौ २०८१ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =