२५ वर्षीया ‘हजुरआमा’ को खुसी

सुस्मिता बजगाईं २२ भदौ २०८१ ११:४०
314
SHARES
२५ वर्षीया ‘हजुरआमा’ को खुसी

नाम मनमाया गुरुङ। उमेरले उनी ८४ वर्ष पुग्न लागिन्। कान कम सुन्छिन्। आँखा मधुरो देख्छिन्। धर्मराउँदै भित्रबाहिर गर्छिन्। उनी हुन् दिलुकी पत्नी, ईश्वरकी हजुरआमा, कल्पनाकी सासू। बौदारी गाउँपालिका कपासे डाँडाकी लाउर्नी आमाको नारी भूमिका अनेक छन्।

चौबन्दी चोली, लुंगीमाथि पटुकी कसेकी, नाकमा बुलाकी, कानमा ढुंग्री र गलामा माला लगाएकी छन्। नाटक ‘काँचो धागो’ मा उनै हजुरआमा पात्रलाई दर्शकले निकै रुचाएका छन्। अभिनय देख्दा दर्शकलाई आफ्नै घरको हजुरआमा झल्को ल्याउन सक्छ।

हजुरआमाको भूमिकामा अभिनय गर्ने यी कलाकार हुन् २५ वर्षीया आयुष्मा मगर। वृद्ध अवस्थामा सन्तानप्रतिको मायामोहलाई नाटकका माध्यमबाट प्रस्तुत  गर्न पाउँदा खुसी लागेको उनी बताउँछिन्।

आफूले गरेको ८४ वर्षीया पात्रको अभिनयले उनलाई भावुक बनाउँछ। चरित्रकै कारण घरमा बोल्ने शैलीसमेत परिवर्तन भएको उनी सुनाउँछिन्। ‘घरबाट आमा, बोजुले फोन गरेपिच्छे कहिले आउँछेस् भनेर सोधिरहनुहुन्छ। तीजमा पनि जानुपर्ने, दसैँमा पनि। म टाढा छु। जुन चाडमा पनि घर गइरहन गाह्रो हुन्छ। आमाले किन सधैँ त्यसरी सोधिरहनुहुन्छ भन्ने लाग्थ्यो’, उनले भावुक हुँदै भनिन्, ‘नाटकको पात्र लाउर्नीको भूमिकापछि अहिले त मन भक्कानिएर आउँछ।’

आयुष्माले नाटककै एउटा ‘डाइलग’ सापटी लिँदै भनिन्, ‘नाटकमा लाउर्नी भएर सोच्दा नाति ईश्वरलाई कहिले आउँछस् भनेर बोल्न निकै गाह्रो हुन्छ। त्यसबेला आफ्नै बोजुलाई सम्झिन्छु।’  उनको घरमा पनि ७४ वर्षीय बोजु/हजुरआमा छिन्। नाटकमा अभिनय गर्दा हजुरआमासँग बोल्ने शैलीमा परिवर्तन भएको आयुष्मा बताउँछिन्।

उनी ‘काँचो धागो’ मा अभिनयको प्रस्ताव आउँदा खुसी थिइन्।नाटकको स्क्रिप्ट पढ्दै जाँदा सुरुमा उनलाई बुढीआमाको चरित्र रहेछ भन्ने लाग्यो। जति पढ्दै गइन् उति भय बढ्दै गयो। शब्दहरू एकदम भारीजस्तो। सुरुमा यो काम आफूबाट हुन्न जस्तो लागेको उनी बताउँछिन्।

‘निर्देशक आशान्त सरले फोन गरेर अभिनयका लागि प्रस्ताव गर्नुभयो। यस्तो रोल थियो भन्ने थाहा थिएन। स्क्रिप्ट पढेँ। बुढी मान्छेको चरित्र रहेछ। पढिसकेर एकछिन त मौन बसेँ। जति पढ्दै जान्छु उति डर लाग्यो। शब्दहरू एकदम भारी। बुढीआमाकै कथामा नाटक बनेको रहेछ’, आयुष्माले स्क्रिप्ट पढेपछिको प्रतिक्रिया सुनाइन्, ‘सक्दिनँ कि जस्तो लागिरहेको थियो। आशान्त सरले गर्न सक्छौ भन्नुभयो। मेले सक्नुपर्छ भनिदिएँ।’

आयुष्माले हिम्मत हारिनन्। जसरी पनि गर्नुपर्छ भन्ने उनलाई लाग्यो। त्यसो त उनलाई आशान्त शर्मासँग काम गर्ने इच्छा थियो। उनले मौका दिँदा नाइँ किन भन्न सक्थिन् र!
टिमलाई पनि आयुष्माको अघिल्लो कामअनुसार नै भूमिका निर्वाह गर्न सक्छिन् भन्ने लाग्यो।

‘हाम्रो कथा नै रोधी संस्कृति र गण्डकी परिवेशको छ। नाटक अन्तरजातीय विवाहको कथामा आधारित छ। हामी गुरुङ पात्रमा अभिनय गर्न सक्ने, उतैको लवजमा बोल्न, नाच्न र गाउन पनि सक्ने कलाकार खोजिरहेका थियौँ’, नाटकका लेखक मुक्ति पौडेलले भने। उनी पनि कथाअनुसार आयुष्माले अभिनय गर्न सक्छिन् भन्नेमा ढुक्क थिए।  ‘उहाँबाट सकारात्मक प्रतिक्रिया आएपछि हामी झन् उत्साहित भयौँ’, पौडेलले भने।

हजुरआमा बन्ने आयुष्माको प्रयास

नाटकमा अभिनय गर्ने निश्चित भएपछि आयुष्माले आफ्नो भूमिकालाई हजुरआमाको कथासँग दाँजिन्। हजुरबाले सपनामा आएर हजुरआमालाई भनिरहने कुरा सम्झिइन्। नाटकमा आइरहने बाँदर र हजुरआमाको कुरा कताकता मेल खाएजस्तै लाग्यो उनलाई। ‘हाम्रो बाजे पनि पहिल्यै लडेर बित्नुभएको थियो। बोजुले बाजेको चिनोका रूपमा उहाँले टेकेर हिँड्ने लौरो साथमै राख्नुभएको छ। बोजुको सपनामा आएर उहाँले माग्ने गर्नुहुन्छ भनेर सुनाइरहनुहुन्थ्यो’, आयुष्माले भनिन्।

यस्तो संयोजनले अभिनय गर्न केही सहज भएको उनले महसुस गरिन्। डाइलग हजुरआमाको भावनासँग दाँजेर हेर्न थालिन्। पहिरन, हाउभाउ र बोल्ने शैलीलाई ख्याल गर्न थालिन्। ‘यता नाटकमा घरमा बाँदर आइरहने भयो। यो प्रसंग आमासँग मेल खायो। काम गर्न पनि केही सहज महसुस गरेँ’, उनले भनिन्।

आयुष्मालाई त्यो भूमिकामा अभिनय गर्न भने सहज भएन्। समाजमा देखिरहेको सन्तान परदेश गएपछि एक्लिएका हजुरआमाको भावनामा डुब्नु थियो। त्यसका लागि उनले कोठाको झ्यालबाट सधैँ देखिरहने पल्लो घरकी वृद्धालाई उनले नियाल्न थालिन्। कहिले बुढीआमाहरूको भिडियो हेर्थिन्। रिहर्सल सुरु भएपछि उनी बालकुमारीदेखि कौसी थिएटरसम्म आउँदाजाँदा बाटोमा वृद्धा देख्नेबित्तिकै आँखा तन्काउँथिन्। उहाँहरूको क्रियाकलाप नियाल्थिन्। हिँड्ने क्रममा नचिने पनि ‘आमा’ भन्दै बोलाउँथिन्।

‘कोठामा हुँदा सधैँ झ्यालबाट पल्लो घरकी बुढीआमालाई देख्थेँ। बाल्कोनीमा केही बिस्कुन सुकाउन आउनुहुन्थ्यो। उहाँको हाउभाउ, हिँड्ने तरिका हेर्न थालेँ। बाटोमा हिँडिरहँदा, तरकारी किन्न जाँदा, कोही बुढीआमा देखेँ उभिएरै हेर्थे। नचिने पनि बोलाउँथे। उहाँहरूको हेर्ने, हिँड्ने र बोल्ने तरिका सिक्थेँ’, उनले भनिन्।

काम गर्दै जाँदा कहिले सेटै छोडेर भागौँ जस्तो पनि उनलाई नलागेको होइन्। दैनिक जसो हुने रिहर्सलमा उनले आफूलाई सुधार्दै लगिन्। ‘काम गर्दै जाँदा कति धेरै गाह्रो भयो। मुखले भनेजस्तो भएन्। लेखक र निर्देशककै कारण आज दर्शकलाई देखाउन पाएकी छु। उहाँहरूकै श्रेय हो’, आयुष्माले भनिन्।

आफूले लाउर्नी आमाको भूमिका गरिहँदा त्यही उमेरका आमाहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको र हजुरआमाप्रति सद्भाव पलाएको सुनाउँछिन्। दर्शकले पनि लाउर्नी आमालाई मन पराएका छन्। उनीहरूको प्रतिक्रियाले आफ्नो संघर्ष केही हदसम्म सफल भएको महसुस गर्छिन् आयुष्मा तर उनको मनमा भने हरेक दिन काम गर्न सक्ने हो कि होइन् भन्ने अझै डर पैदा भइरहन्छ।

आयुष्मा भन्छिन्, ‘नाटक सकेपछि दर्शकले लाउर्नीलाई आफ्नै परिवारसँग जोडेर हेर्नुहुन्छ। लाउर्नीको खुलेर प्रशंसा गरिरहनुभएको छ तर हरेक दिन काम गर्न सक्ने हो कि  होइन भनेर डर लाग्छ।’ उनका अनुसार नाटक हेर्दाहेर्दै कतिपय दर्शक मेरो आमाको याद आयो भनेर रोउका छन्। ‘दर्शकको मन छुँदा राम्रै गरेछु कि भन्ने लाग्छ’, आयुष्माले भनिन्।

अभिनययात्रामा पाएको खुसी

अभिभावकका पाँच छोरी र दुई छोरामध्ये कान्छी बहिनी हुन् आयुष्मा। बागलुङको मध्यमवर्गीय परिवारमा जन्मेकी आयुष्माले गाउँबाट एलएलसी पास गरेकी हुन्।
सानैदेखि अभिनय गर्ने उनको रहर। टीभीका कार्यक्रम हेर्दा उनलाई कसरी यो क्षेत्रमा प्रवेश गर्ने भन्ने लागिरहन्थो। टीभी हेरेरै अभिनय थालेको उनी बताउँछिन्।

एसएलसीपछि बागलुङ बजारमा बसेर उनी रेडियोमा काम गर्न थालिन्। ‘गुँरास फुल्ने रानी वन’, ‘सम्झना त आइरहन्छ’ लगायतका म्युजिक भिडियोमा काम गर्ने मौका पाइन्। केही फिल्ममा पनि अभिनय गरेको उनी बताउँछिन्।

आफ्नै शब्दमा ‘अझै पनि’ बोलको गीतसमेत उनले सार्वजनिक गरेकी छन्। रचना रिमालको स्वर रहेको गीतमा बीबी अनुरागीले संगीत भरेका छन्।
आयुष्मालाई अभिनयको भोक थियो। निर्देशकले जे गर भन्यो त्यही गर्नुपर्ने शैली उनलाई चित्त नबुझे झैँ लाग्यो। एकजना साथी रंगकर्मी थिए। आयुष्माको रुचिबारे उनलाई पनि थाहा थियो।

आवतजावत गर्न बागलुङ र पोखरा नजिक थियो। साथीमार्फत पोखराको एक्टर्स स्टुडियो थिएटरमा रंगकर्मी तथा प्रशिक्षक अनुप बरालले अभिनय कक्षा सञ्चालन गरिरहेको थाहा पाइन्।

‘साथीले मेरो चाहना बुझेर तिमीले खोजेको पाउँछ्यौँ भन्दै जान आग्रह गरिन्’, उनले भनिन्, ‘मलाई थाहा थियो कि घरबाट नाटक सिक्छु भन्दा जान दिनुहुन्न थियो। त्यही समयमा पोखरा जाने काम आयो र दिदीसँग सल्लाह गरेर हिँडेँ।’

पोखरामा दाइभाउजू बस्ने भएकाले उनलाई घरबाट निस्कन सहज भयो। उनले भनिन्, ‘उहाँहरूसँगै बसेर पढ्छु भनेर घरबाट निस्केँ। दाइलाई थाहा नै नदिई भाउजूसँगै गएर एक्टर्स थिएटरमा भर्ना भएँ। तीन महिनाको क्लास थियो। सकिनै लाग्दा कोरोना भाइरस फैलियो। क्लास बन्द भैहाल्यो।’

यही क्रममा उनको अभिनयप्रतिको दायरा फराकिलो हुँदै गयो। नाटकबारे बुझ्ने मौका पाइन्। अभिनयको प्यास मेटिएजस्तो महसुस गरिरहेकी थिइन् उनले। कोभिडले फेरि निराशा बनायो। उनी गाउँ फर्किइन्। एक वर्ष गाउँको बसाइ सकसमै बितेको स्मरण गर्छिन् आयुष्मा। केही चहलपहल बढ्न थालेपछि उनले काठमाडौँ आउने निर्णय लिइन्।
‘कोभिडमा गाउँ गएर १ वर्ष बसेँ। निकै सकस भयो समय बिताउन। मनमा नाटकप्रति हुटहुटी चलिरहेको थियो। मन चञ्चल भइरहेको थियो। देव न्यौपाने र अनुप बराल सरसँग सल्लाह गरेर काठमाडौँ जाने निर्णय गरेँ’, आयुष्माले भनिन्।

काठमाडौँ आएपछि पनि उनले थिएटर सिक्न भने छोडिनन्। काठमाडौँमै बसेर उनले एक्टर्स थिएटरमा अभिनय सिक्न थालिन्। उनको पहिलो नाटक हो ‘कथा कस्तुरी’। गत वर्ष मञ्चन भएको नाटक ‘कि कुमार जेलमा कि कुमार रेलमा’ मा उनले आमाकै चरित्रमा अभिनय गरिन्।

आयुष्माले ‘कथा कस्तुरी’कै अभिनयले द पोयट आइडलमा अभिनय प्रस्तुति दिने मौका पाइन्। ‘मेरो पहिलो नाटकको अभिनय अमनप्रताप अधिकारी सरलाई मन परेको रहेछ। उहाँले पाएट आइडलमा कविहरूको प्रस्तुतिमा अभिनय गर्ने अवसर पनि दिनुभयो’, उनले भनिन्।

‘काँचो धागो’ उनको तेस्रो नाटक हो। सुरुमा काम गर्ने शैली र अहिलेमा उनी आफूलाई निकै भिन्न पाउँछिन्। चार वर्षको नाट्ययात्रामा यति बेला उनी निकै खुसी रहेको बताउँछिन्। उनी अहिले थिएटर यात्रा र पढाइलाई निरन्तरता दिइरहेकी छन्।

परिवारमा नाटक बुझ्ने कोही छैनन्। ‘छोरीले काम गरिहेकी छ भन्नेमा उहाँहरू खुसी हुनुहुन्छ’, आयुष्माले भनिन्, ‘परिवारलाई बुझाउन पनि गाह्रो छ। उहाँहरूलाई नदेखाएसम्म बुझाउन सकिँदैन। आमाहरूले टीभीमा देखेपछिमात्र छोरीले काम गरिछ भन्ने हो।’ घरमा मात्रै होइन, समाजमा पनि नाटकबारे बुझाउन सकस रहेको उनले बताइन्।

वृद्धवृद्धाको वेदना र सम्बन्धको डोरी ‘काँचो धागो’

प्रकाशित: २२ भदौ २०८१ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =