नरैनापुरमा अज्ञात रोगबाट थप एकको मृत्यु

हिमाल प्रेस २१ भदौ २०८१ १७:२८
10
SHARES
नरैनापुरमा अज्ञात रोगबाट थप एकको मृत्यु प्रतीकात्मक तस्बिर।

नेपालगञ्ज- बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभीत भएका छन्।

नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ। पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगञ्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर-६ स्थित गङ्गापुर स्वास्थ्यचौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए।

केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चारजनाको मृत्यु भएको थियो। बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्यचौकीमा परीक्षणका लागि आउने क्रम बढेको स्वास्थ्यचौकी इन्चार्ज बुढाथोकीले बताए।

‘यो वेला मौसमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्छ, स्वास्थ्यचौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही विरामी उपचारका लागि आएका छन्ְ’, उनले भने, ‘झाडापखालाको प्रकोप छैन तर एकजनाको ज्यान गएपछि स्थानीय बासिन्दा डर त्रासले स्वास्थ्यचौकीमा जाँचका लागि आउने क्रम बढेको छ।’

स्वास्थ्यचौकीमा बिहीबार एकै दिन १०६ जना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए। तीमध्ये ४५ जनामा आउँ र पखालाको लक्षण देखिएको छ। त्यसमध्ये तीनजनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ।

अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका विरामी फेला परेको स्थानीय सोहनलाल यादवले बताए। गेग्ली गाउँ र सोनवर्षामा गरी चारजनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको उनको भनाइ छ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौसमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गरे। गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहेको उनले बताए।

प्रकाशित: २१ भदौ २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =