नेपालगञ्ज- अगैया-नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ। कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो।
‘हामी पहिले कोहलपुर हुँदै नेपालगञ्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ,’ राप्तीसोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरीले भने। अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न सजिलो भएको उनले बताए। ‘ग्राभेल सडक हुँदा सवारीसाधन चल्दैनथे तर अहिले पाँचवटा बस सञ्चालनमा छन्,’ उनले भने।
राप्तीसोनारी गाउँपालिकाका-३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगञ्जबाट अगैया बजारसँग जोडिएको छ। सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन्। वडाध्यक्ष चौधरीले सडकका कारण विकासको मूल प्रवाहीकरण भएकोमा खुसी व्यक्त गर्दै वर्षाका समयमा हुने झन्झटको अन्त्य भएको बताए। हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ।
स्थानीय दिनेश रतगैयाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताए। उनका अनुसार नेपालगञ्ज-अगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएको छ। एउटा नालामा भने पुल निर्माण हुन बाँकी छ। राप्ती नदीमा निर्माणाधीन पुलले अगैया-नेपालगञ्जबाहेक नरैनापुरलाई समेत जोडेको छ। २०७८ सालमा सुरु भएको उक्त सडक २०८० सालमा सम्पन्न भएको थियो।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।