लोसपाको महाधिवेशन वैशाख २६ गते

हिमाल प्रेस २१ भदौ २०८१ १५:५७
34
SHARES
लोसपाको महाधिवेशन वैशाख २६ गते लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लासपा)ले २०८२ को वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ। दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले सो निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन्।

महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तीन वर्षअघि लोसपा गठन भएको थियो। पार्टीको अन्तरिम विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्नेछ। सोही विधान अनुसार आउने वैशाखमा महाधिवेशनको मिति तय भएको लोसपाले जनाएको छ।

महाधिवेशनअघि पार्टीका सम्पूर्ण तहको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि निर्णय भएको लोसपाका महासचिव डा.सुरेन्द्र झाले बताए। कात्तिक मसान्तसम्म सदस्यता वितरणको काम सकाएर चैत मसान्तभित्र वडादेखि प्रदेशसम्मका सम्पूर्ण समितिको साधारण सभा गरिसक्नुपर्ने बैठकले निर्णय गरेको उनले बताए। त्यसका साथै पार्टीका अन्य घटक, विभाग, भातृ संगठन, समितिलगायतलाई पूर्णता दिइने निर्णय भएको उनले बताए।

लोसपाले संविधान संशोधनको लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाहरूको संकलन गर्दै मधेशी, थारु र अन्य उत्पीडित जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको अपिल गरेको छ। यस्तै लोसपाले संविधान संशोधनबारे अध्ययन गर्न वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाउने पनि निर्णय गरेको छ। सो कार्यदलमा दान बहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने लोसपाले जनाएको छ।

प्रकाशित: २१ भदौ २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =