तीज गीत : पहिला बह पोखिन्थ्यो, अहिले बैँस

विनोद परियार २१ भदौ २०८१ १३:४०
18
SHARES
तीज गीत : पहिला बह पोखिन्थ्यो, अहिले बैँस पशुपति क्षेत्रमा तीज गीतमा नृत्य गर्दै महिला। फाइल तस्बिर

लुम्बिनी- बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँकी ६३ वर्षीया जीवकला घिमिरेलाई अचेलको तीज खल्लो लाग्छ। अर्घाखाँचीमा उमेरको लामो समय कटाएकी घिमिरेले प्रत्येक वर्ष तीज मनाउने प्रचलन फेरिँदै गएको अनुभव गरेकी छन्।

माइती र चेलीका वेदनासँग गाँसिएका गीत, भदौरे तामा र अचारका गीत सुन्दै गाउँदै हुर्किएकी उनले तीजको सांगीतिक पाटो प्रत्येक वर्ष फेरिएको बताइन्। उनी उमेर बढ्दै जाँदा तीनै पुराना दिन र उहिलेका तीजका भाका सम्झिन्छन् मात्रै। जीवकलाले तिनै पुराना दिन सम्झिँदै यस्तो गीत सुनाइन् :

चिचिन्ना र घिरौलाको पकाउ आमा तरकारी

झिनुवाको खाजा पकाऊ खाउला सपासप

जीवकलाले सुनाएको यो गीत अचेल निकै कम सुनिन्छ। कहिलेकाहीँ आफैँले गाएर सुनाउन खोज्दा पनि सुनिदिने कोही नभेटिएको गुनासो उनको छ। ‘अहिले त त्यस्ता खालका मौलिक गीत गाउनै छाडे। तीज गीत गाएर नाच्ने त चलन हराउन थाल्यो’, उनले तीजको मौलिकताबारे चिन्ता गर्दै भनिन्, ‘पाटी प्यालेसमा जाने, तीजको दर खाने र जुन पायो त्यही गीत बजाएर नाच्ने गरेको देख्छु, यस्तै हो भने त मौलिक संस्कृति हराउँछ।’

त्यसो त यो चिन्ता घिमिरेको मात्रै कहाँ हो र! बुटवल–१२ नयागाउँकी ४२ वर्षीया पवित्रा थापा पनि तीजमा सांस्कृतिक विचलन आएको मान्छिन्।

‘तीजका गीत निकै राम्रा हुन्थे। चौपारीमा बसेर सबैजना जम्मा भएर गीत गाइन्थ्यो’, उनले भनिन्, ‘अहिले त त्यस्ता गीत चौपारीमा बसेर गाएको देखिँदैन।’ समयक्रमसँगै गीतका शब्द र भाकासँगै मनाउने प्रचलन पनि परिवर्तन भएको उनको भनाइ छ।

‘गीत गाउँदै दिदीबहिनी माइतीमा जम्मा भएर दर खाइन्थ्यो, अहिले त पार्टी प्यालेसमा दर खाने चलन आयो’, थापाले भनिन्। माइती पुगेर बुवाआमा र दाजुभाइसँग हुने भेट अनि आँगनीमा बसेर गाएको गीत अहिले पनि सम्झिन्छन् उनी।

शिरै लाउने शिरफूलमा मानिका पत्थर

बिहान बेलुकी झल्कन्छन्

पराइका छोरा बाबा निस्ठुुरे मनका

बिहे गरी लाहुरमा ढाकिन्छन् 

घिमिरे र थापाले बुटवल सहरमा पुरानै स्वादको तीज खोजेका छन् तर त्यस्तो तीज भेटिएको छैन। संस्कृतिविद् राजेन्द्रकुमार आचार्य तीजको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक पक्ष अर्थात् तीज गीत समयक्रमसँगै फेरिने कुरा स्वाभाविक भएको बताउँछन्।

उनले शब्द, लय र गाउने प्रचलनमा आधुनिकता थपिने कुरा स्वाभाविक भए पनि रत्यौलीपनले विकृति थपिदिएको बताए। उनका अनुसार गीतका माध्यमबाट अधिकारको कुरा र समाजको कथा भन्ने कुरा एउटा नारी विद्रोह हो। ‘तीजका केही धार्मिक पक्षका बारेमा बहस गर्न सकिन्छ तर सामाजिक र सांस्कृतिक पक्ष राम्रो छ’, उनले भने। उनले पछिल्ला दिनमा गीतसंगीतमा छाडापन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

आमाहरूले गाएका गीतको भाव चेलीले माइती आएर बह पोख्ने खालका थिए। अहिले तीजमा बह होइन बैँस पोखिन थालेका छन्। कलाकारले मौलिकता बचाउनुको साटो रत्यौली खालका तीज गीत निकालेका छन्। यस वर्ष चलेका कलाकारले निकालेका गीतले लाजैमर्दो बनाइदिएको छ। केही यस्ता गीत छन् जसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

चर्चित गायिका शान्तिश्री परियार र हरि गिरी विमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ र प्रीति आले र प्रकाश शर्माको आवाजमा रहेको ‘चियर्स बियर’ ले तीज गीतकै बदनाम गराए। केशर ओली र सुमन थापाको आवाजमा रहेको टिकटकमा भाइरल हल्लाएरै हो भन्ने गीत अर्को रत्यौली गीत हो। तीजको मुख्य पक्षका रुपमा हेरिने संगीतले तीजलाई विकृत बनाइदिएको छ।

भागीरथ चलाउने र कविता खत्रीले गाएको नेत्र अर्यालका शब्दमा भगीरथ चलाउनेकै लयमा रहेको ‘दिउँला बरिलै’ गीत निकै विवादित बन्यो।

कोही पछि रूपको कोही पछि धनको

बे अघि छुन्न म लरी लरी लै

मालिक हौ तिमी यो मेरो मनको

मेरो हुने वालीलाई दिउँला बरिलै

यसरी विवादित र रत्यौली खालका शब्दमा गीत गाउने कलाकारमध्येमा परेकी छन् प्रीति आले। मादलु घन्काउदै बोलको गीतले पनि छाडापन देखाएको छ। गोविन्द भट्टको शब्द र बाबुल गिरीको लयमा रहेको यो गीत ‘रक’ खालको छ। जसको शब्द यस्तो छ।

चट्ट संगी, झट्ट उठ आगनीमा हिन

छम्म छम्म नाच्नुपर्छ घिनकिनाघिन घिन

रनन रन्काउँदै, ए होए मादलु घन्काउँदै 

चेलीका सुख दु:ख पीर वेदना सामाजिक विकृति विसंगतिलाई तीज गीतमार्फत उठान गर्ने गरिएकोमा पछिल्लो समय ‘भाइरल’ हुने नाममा जस्तो पायो त्यस्तै गीत गाउँदा तीज पर्वको मौलिकता गुम्दै गएको हो। ‘गीत संगीतमा केही विकृति अवश्य आएको छ, तर त्यही आधारमा तीजलाई नै बदनाम गर्ने काम गलत भएको बताउँछिन् राजनीतिज्ञ संगीता गौतम अर्याल। उनले सामाजिक सञ्जालमा दरका विषयमा अनावश्यक प्रतिक्रिया दिएकोमा आपत्ति जनाइन्। एक महिनादेखि दर खाएको भन्दै गरिएको विरोध अर्थहीन रहेको उनको स्पष्टोक्ति छ।

‘दसैँतिहार जस्ता पर्वमा पुरुषहरूले गर्ने भोजका विषयमा प्रश्न गरिँदैन तर महिलाहरूले एक महिनादेखि दर खाएको भन्दै आलोचना गरिन्छ, यो गलत छ’, अर्यालले भनिन्। उनले पुरुषवादी चिन्तनका कारण महिला स्वतन्त्रताको विषयलाई गलत रुपमा व्याख्या गरिएको बताइन्।

प्रकाशित: २१ भदौ २०८१ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 3 =