संघीय संसद् भवन निर्माणलाई गति दिन सभामुखको आग्रह

हिमाल प्रेस २० भदौ २०८१ २१:४१
12
SHARES
संघीय संसद् भवन निर्माणलाई गति दिन सभामुखको आग्रह

काठमाडौँ- सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद् भवन निर्माणलाई तीव्रता दिन आग्रह गरेका छन्।

सिंहदरबार परिसरमा निर्माणमा रहेको संघीय संसद् भवनको आज (बिहीबार) स्थलगत निरीक्षण गर्दै सभामुख घिमिरेले तोकिएअनुसार काम नभएको पाइएपछि गति दिन आग्रह गरेका हुन्।

आगामी चैतको पहिलो साताभित्र सो भवनको निर्माण सम्पन्न गर्ने समयसीमा रहेको भए पनि अपेक्षित प्रगति नभएको पाइएपछि उनले निर्माण कार्यलाई गति दिनुपर्नेमा जोड दिए। भवन निर्माणका सम्बन्धमा कुनै समस्या वा जटिलता भए सरकारसँग समन्वय गर्न, कामलाई गति दिने गरी जनशक्ति थप गर्न सभामुखले ध्यानाकर्षण गराए।

त्यस अवसरमा उपसभामुख इन्दिरा राना मगर र संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकसहितको टोलीले भवनको समग्र अवस्थाबारे स्थलगत निरीक्षण गरी जानकारी लिएको थियो। कुल एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन संसद् भवनमा अत्याधुनिक सबै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको भए पनि अपेक्षित प्रगति हुन नसकेको गुनासो छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले समग्र भवन निर्माणको बारेमा जानकारी गराउँदै गत असार मसान्तसम्म भौतिक प्रगति ८० प्रतिशत माथि पुगेको बताए।

उनका अनुसार हाल भवनको छानाको काम पूरा भएको, विद्युत् जडान र अन्य काम भइरहेको छ। आगामी चैतको पहिलो सातासम्म भवन निर्माण सम्पन्न गर्न यसअघि नै सरकारले निर्माण व्यवसायीलाई आग्रह गरिसकेको छ।

प्रकाशित: २० भदौ २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =