अभिभावकको अनुमति लिएर विद्यार्थीलाई रुस पठाउँदै सरकार

हिमाल प्रेस २० भदौ २०८१ १६:३६
16
SHARES
अभिभावकको अनुमति लिएर विद्यार्थीलाई रुस पठाउँदै सरकार शिक्षामन्त्री विद्या भट्टराई। फाइल तस्बिर ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययनका लागि रुस जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अभिभावकको प्रतिबद्धता आएपछि मात्रै अनुमतिपत्र दिइने बताएकी छन्।

बिहीबार सिंहदरबारमा अध्ययनका लागि रुस जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले रुसमा युद्ध भइरहेकाले अभिभावकको प्रतिबद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने बताएकी हुन्।

रुस र युक्रेनबीचको युद्धका कारण सरकारले रुस जाने तयारीमा रहेका ४० विद्यार्थीको अध्ययन अनुमतिपत्र रोकेको थियो। सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरूलाई अध्ययन अनुमतिपत्र दिन मन्त्रालयले अभिभावकको प्रतिबद्धता मागेको हो।

मन्त्री भट्टराईले रुसमा दुईदेखि ६ वर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरूप्रति सरकार चिन्तित भएको धारणा राखिन्। विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति प्रदान गर्ने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसँग छलफल गरिएको जिकिर गरिन्। अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए।

अध्ययन अनुमतिपत्र लिएर पढ्न गएका विद्यार्थीहरूको सम्बन्धित देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनले बताइन्। छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमतिपत्र दिन आग्रह गरेका थिए। मन्त्रालयका अनुसार रुसमा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगायतका क्षेत्रमा पढ्नका लागि ४० विद्यार्थीले छात्रवृति पाएका थिए।

प्रकाशित: २० भदौ २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =