कांग्रेस नीति पछ्याउँदै एमाले

किरण पौडेल २० भदौ २०८१ २०:२१
20
SHARES
कांग्रेस नीति पछ्याउँदै एमाले

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको गठबन्धन सरकारमा छन्। एमाले-कांग्रेसमा ओली दुई वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछिको सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ।

ओलीले सार्वजनिक कार्यक्रममार्फत दुई वर्षपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताउने गरेका छन्। कांग्रेस सभापति देउवाको अभिव्यक्ति पनि यस्तै हुने गरेको छ। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको कार्यक्रममा बुधबार सम्बोधन गर्दै उनले ‘सत्ता गठबन्धनमा समस्या नभएको’ दाबी गरेका थिए।

ओली पनि देउवासँग समस्या नभएको बताइरहन्छन्। नेकपा एमालेले त पोलिटब्युरो बैठकको निर्णयमै गठबन्धन ‘यता-उता’ हुन नदिने बताएको छ। बैठकका निर्णय मिल्दाजुल्दा देखिएका छन्। कतिपयले सत्तामा गएपछि एमालेले कांग्रेससँग मिल्दोजुल्दो एजेन्डा बनाएको टिप्पणी गरेका छन्।

चुनावमा गठबन्धन नगर्ने

केही समयअघि कांग्रेस केन्द्रीय समितिले पारित गरेको निर्णय हो, आगामी चुनावमा गठबन्धन नगर्ने। महामन्त्री गगन थापाले उठाएको एजेन्डा केन्द्रीय कार्यसमितिले पनि पारित गर्‍यो। यसअघि बसेको महासमिति बैठकमा थापाले प्रस्ताव दर्ता गर्दै भनेका थिए, ‘अब कांग्रेस एक्लै लड्नुपर्छ। त्यो तागत नेपाली कांग्रेसले राख्नुपर्छ।’

प्रस्ताव पारित भइसकेकाले अबको चुनावमा गबठन्धन नगर्ने कांग्रेस निर्णय कार्यान्वयनमा आउनेछ। यसैको सिको गर्दै एमाले बैठकमा पनि ओलीले सोही प्रस्ताव राखेका थिए। यसो त एमालेले गत चुनावबाटै बहुमत ल्याउने भन्दै विभिन्न अभियान चलाएको थियो। ‘मिसन ग्रास रुट’ देखि ‘झुलाघाट-चिवाभन्ज्याङ’ अभियानमार्फत जनता जोड्ने अभियान एमालेले अघि सारेको थियो। एमालेले गठबन्धन नगर्ने औपचारिक रूपमा भनेको थिएन। हालै सम्पन्न पोलिटब्युरो बैठकमा ओलीले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए।

‘हामी चुनावअगाडि तालमेलका पक्षमा छैनौँ। नेपाली कांग्रेसले पनि एक्लाएक्लै लड्ने निर्णय गरिसकेको छ। हामी २०८४ को चुनाव एक्लै लड्छौँ। एकल बहुमत ल्याउने गरी पार्टी कामलाई व्यवस्थित गर्छौँ,’ ओलीको बैठकमा भनेका थिए।

‘यतिबेला कुरा आएको हो। यसअघिदेखि नै एमाले एक्लै चुनाव लड्ने गरी लागेको छ,’ एमाले नेता विशाल भट्टराई भन्छन्, ‘कांग्रेस-एमालेको समय मिल्दोजस्तो भएको हो। खास हामीले नै पहिला भनेका हौँ।’ यद्यपि ओलीले बैठकमा कुरा राखे पनि निर्णयमा भने अघि सारेको छैन। ‘हामी व्यक्तिगत रूपमा पनि गठबन्धन नगर्ने सोचमा छौ। एजेन्डा बनाउनुपर्ने कुरै छैन।’

वामपन्थी मोर्चाबन्दी नगर्ने

यसअघि माओवादी-कांग्रेस गठबन्धन हुँदा माओवादी एकाएक ‘समाजवादी मोर्चा’ निर्माणमा लाग्यो। त्यसबेला नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीजस्ता पार्टीले मोर्चाबन्दी गरे। यसबारे कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि कुरा उठेको थियो।

तत्कालीन रक्षामन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले ‘सोधेरै मोर्चा बनाएको’ जबाफ दिएका थिए। तर मोर्चा निष्क्रिय रह्यो। हालै सम्पन्न पोलिटब्युरो बैठकमा ओलीले त्यही मोर्चालाई इंगित गर्दै चुनावअघि र चुनावमा ‘वामपन्थी गठबन्धन नगर्ने’ भनेका छन्।

‘हामी वामपन्थीका नाममा कुनै सहकार्य गर्दैनौँ। चुनावअगाडि तालमेलका पक्षमा छैनौँ’, ओलीको भनाइ उधृत गर्दै एमाले प्रवक्ता राजेन्द्र गौतमले भने।

कांग्रेस-एमाले सहकार्य ‘लोकतन्त्र बचाउन’

ओलीले कांग्रेससँगको सहकार्यले ‘जनतामा आस’ पलाएको बताएका छन्। सरकार बनेको डेढ महिनामै आर्थिक सूचकरू सकारात्मक हुनुले पनि कांग्रेससँग सहकार्य फलदायी रहेको सुनाएका छन्।

असार १७ गते मुलुकका मुख्य राजनीतिक शक्तिहरु नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको ७ बुँदेसहमतिका आधारमा असार ३१ गते एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ।

दुई दलबीच राजनीतिक अस्थिरता अन्त्य गर्ने, अर्थतन्त्र चलायमान बनाउँदै अवरुद्ध विकास निर्माणलाई तीव्रता दिने, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गर्ने, जनतामा आशाभरोसा जगाउने, राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने समझदारी बनेको छ।

‘सरकार गठन भएको डेढ महिनामा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरणजस्ता उपलब्धिले जनतामा आशाको सञ्चार भएको छ’, पोलिटब्युरो बैठकको पारित प्रस्तावमा उल्लेख छ।

एमाले-कांग्रेस सहकार्य ‘लोकतन्त्रको सहकार्यका लागि कठिन परिस्थितिमा भएको’ एमाले दस्तावेजमा उल्लेख छ। एकातिर एमाले कांग्रेससँग सम्बन्ध स्थापना गर्न चाहन्छ भने अर्कोतर्फ गठबन्धन टिकाइरहने पक्षमा देखिन्छ। ओलीले लोकतन्त्र बचाउन सडकमा जानसमेत तयार रहेको बताएका थिए।

कांग्रेस प्रतिस्पर्धी कि सहयात्री?

एमालेले विगतमा कांग्रेसलाई ‘वर्गशत्रु’ को आरोप लगाउँथ्यो। पुँजीवादको एजेन्डा बोक्ने भन्दै वामपन्थी दलहरू कांग्रेसलाई ‘दक्षिणपन्थी’ आरोप लगाउँछन्।

वामपन्थी नेता झलनाथ खनाल ‘कांग्रेस दक्षिणपन्थी शक्ति भएकाले सहकार्य गर्न नहुने’ तर्क राख्छन्। माओवादी-कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन गर्दा समेत ओलीले ‘प्रतिगामी’को तर्क गर्थे। अहिले ओली नै कांग्रेससँग गठबन्धन चलाइरहेका छन्। एमालेले आउँदो ०८४ मा समेत आफ्नो प्रतिस्पर्धी कांग्रेस भएको बताएको छ।

‘हामी ०८४ मा कांग्रेससँग गठबन्धन गर्दैनौँ। यो गठबन्धन विशेष अवस्थामा मात्र हो,’ एमाले नेता माधव ढुंगेल भन्छन्। एमालेले विशेष अवस्थाको ‘फेरो’ समाएर कांग्रेसलाई सहयात्री मानेको छ।

‘हामी कहिलेकाहीँ कांग्रेससँग मिल्ने चरणमा पुग्छौँ। त्यो विशेष अवस्था नै हो,’ एमाले उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्, ‘०४६ सालको आन्दोलन, ०६२/०६३ को दोस्रो जनआन्दोलन र संविधान निर्माणमा एक भएका थियौँ। अहिले त्यही अवस्था हो।’

उनी अहिले संविधान संशोधनका लागि एमाले कांग्रेससँग मिल्ने बिन्दुमा पुगेको तर्क गर्छन्। यसअघिको सरकारले राष्ट्रघाती काम गरेका कारण पनि कांग्रेस-एमाले मिल्ने बिन्दुमा पुगेको उनको तर्क छ। एमाले नेताहरू एमाले-कांग्रेस गठबन्धन ०८४ सालसम्मै सहकार्यमा जाने र एमाले-कांग्रेसबीच प्रतिस्पर्धा हुने बताउँछन्।

‘अब अन्य शक्ति नहुन पनि सक्छन्। संविधान संशोधन भएमा २ दलबीच मात्र प्रतिस्पर्धा हुन्छ। ती भनेको एमाले-कांग्रेस नै हो’, नेता ढुंगेल भन्छन्। हुन त एमालेले कांग्रेससँगको गठबन्धन ‘यदाकदा मात्रै हुने’ घटना भनेका छन्।

०८४ सम्मै पुग्ला एमाले-कांग्रेस गठबन्धन?

भदौ १६ मा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन गर्दा ओलीले भने,‘ अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ।’ उनले खुलेर नै अबको प्रधानमन्त्री देउवा भएको दाबी गरे। उनले यो भनेको पहिलोपल्ट होइन। पटपटक भन्दै आएका छन्।

‘मलाई मन नपराउनेका लागि खुसीको खबर छ’ भन्दै सोही कुरा राखेका थिए। तर कतिपय नेताहरू कांग्रेस-एमाले गठबन्धन लामो नटिक्ने दाबी गर्छन्। ओलीले सरकार नछाड्ने र गठबन्धन भत्किने बताउँछन्। कतिपय नेताहरू त विदेशी शक्तिसमेत ओली सरकार भत्काउन लागेको दाबी गर्छन्।

देउवा पनि वर्तमान सरकार नभत्किने दाबी गर्दै आएका छन्। तर प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने परराष्ट्रमन्त्री आरजु देउवाको भारत भ्रमणपछि एमाले तनावमा रहेको बताएका छन्।

प्रचण्डको अभिव्यक्तिलाई एमाले नेताहरूले खण्डन गरे। यसप्रति आश्वस्त बनाउन पनि ओली सरकारको आयुबारे बताइरहेको नेताहरू सुनाउँछन्। ‘हामीबीच ०८४ सम्मै गठबन्धन जानेमा द्विविधा छैन। प्रधानमन्त्रीले थप स्पष्ट मार्न आयुबारे बताउनुभएको हो’, एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्।

कांग्रेसका नेता शेखर कोइरालाले एमालेसँग गठबन्धन गर्नु उचित नभएको बताएका थिए। उनले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमै यस्तो प्रतिक्रिया दिएका थिए। कांग्रेसको देउवा इतरपक्ष गठबन्धन लामो समय नटिकाउन लागेको कुरा पनि बाहिरिएको छ। ‘देउवा नबोलेसम्म गठबन्धन टिक्छ। देउवा नै निर्णायक हुन्’, एमाले सचिव योगेश भट्टराई भन्छन्।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ प्रधानमन्त्री गठबन्धन नटिक्ने भयमा रहेको बताउँछन्। उनी पटकपटक आफ्नो कार्यकाल स्मरण गराउनुमा सत्ता साझेदार दलभित्रै विश्वासको वातावरण बन्न नसक्नुको संकेततका रूपमा बुझ्नुपर्ने सुनाउँछन्।

प्रकाशित: २० भदौ २०८१ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =