चाइना जर्नल

ह्युमनोइड रोबोटिक्स विकासमा चीनले लिएको अग्रसरता

अजय अलौकिक २० भदौ २०८१ १६:३४
36
SHARES
ह्युमनोइड रोबोटिक्स विकासमा चीनले लिएको अग्रसरता

ह्युमनोइड रोबोटहरू लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आमममनिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन्। यस्ता रोबोट मानव स्वरूप र व्यवहारलाई नजिकबाट अनुकरण गर्ने किसिमले डिजाइन गरिएको हुन्छ। यसले मानिसले जस्तै काम गर्न तथा सुविधा उपलब्ध गराउन सक्छ भन्नेमा आममानिस ढुक्क हुँदै गएका पनि छन्।

अर्कोतिर भने मानवजातिलाई जोखिममा पार्न सक्ने खतराका रूपमा समेत हेर्ने थालिएको छ। यद्यपि विज्ञान तथा प्रविधिका क्षेत्रमा देखिएको द्रुत विकाससँगै रोबोटिक्स क्षेत्रमा मानवजस्तै सुविधा र कार्यहरू गर्ने मेसिन निर्माणमा उल्लेखनीय प्रगति भइरहेको छ।

मान्छेको शारीरिक विशेषता र क्षमतालाई समेटिएर तथा वातावरणसँग अन्तरक्रिया गर्ने क्षमता अनुकरण गरी डिजाइन गरिएका यी ह्युमनोइड रोबोटले जब मानव स्वरूप र व्यवहारलाई नजिकबाट अनुकरण गर्छन् तब अरू विविध उद्देश्य र कामका लागि डिजाइन गरिएका रोबोटभन्दा आकर्षित हुन्छन्।

बेइजिङमा हालै आयोजित वर्ल्ड रोबोट कन्फ्रेन्स २०२४ मा प्रदर्शित ह्युमनोइडहरूले यस्तै जादु छरेका थिए। आमचिनियाँलाई मात्रै होइन यो प्रदर्शनीले विश्वमाझ रोबोटिक्स क्षेत्रमा चीनको भविष्यको झल्को देखाउन सफल भएको छ।

कन्फ्रेन्समा आयोजित प्रदर्शनीमा चिनियाँ प्रविधि कम्पनीहरूले ह्युमनोइड रोबोटको नवीनतम विकास प्रस्तुत गरेका थिए। प्रदर्शनीमा रोबोटहरूले विभिन्न कार्य र प्रस्तुतिहरू प्रदर्शन गरे, जस्तै : हिँड्ने, दगुर्ने, दर्शक आगन्तुकसँग प्रश्नोत्तर गर्ने, खाना पकाउने, नाच्ने, भारी वस्तुहरू उठाउने, गाडी निर्माण आदि। यी प्रदर्शनीले ठूलो भीडलाई आकर्षित गरेको थियो।

चीनमा यस्तो परिदृश्यको निर्माण भइरहेको छ, जहाँ हरेक घरमा यस्ता ह्युमनोइड रोबोटहरू हुनेछन्। चीनले कन्फ्रेन्सका माध्यमबाट औद्योगिक सहयोग र सहकार्यका लागि खुलामञ्च उपलब्ध गराएको छ। कन्फ्रेन्समा चीनका उद्योग तथा सूचना प्रविधि उपमन्त्री सिन क्वोपिनले चीनलाई ‘वैश्विक रोबोट उद्योगमा महत्त्वपूर्ण शक्ति’ का रूपमा चित्रण गरे।

अगस्ट २५ तारिखमा सम्पन्न कन्फ्रेन्स तथा मेलामा ७७४ प्रदर्शक सहभागी थिए। कन्फ्रेन्समा २६.९ बिलियन युआन कारोबार भएको आयोजकले जनाएको छ। यसबाहेक २७ वटा ह्युमनोइड रोबोटहरूसँगै १६९ प्रदर्शकले ६०० भन्दा बढी नवाचार वस्तु प्रदर्शन गरेका थिए।

चीनले रोबोट र रोबोटिक्सको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। गत जनवरीमा रोबोटिक्सका लागि चीन सरकारले १.४ अर्ब डलरको कोष स्थापना गरेको थियो भने जुलाईमा सांघाईले समान १.४ अर्ब डलरको ह्युमनोइड उद्योग कोष घोषणा गरेको थियो। यी पहल राष्ट्रपति सी चिनफिङको ‘नयाँ गुणस्तरीय उत्पादक शक्तिहरू’ प्रवर्द्धन गर्ने नीतिअनुसार भएका हुन्।

नयाँ गुणस्तरीय उत्पादक शक्तिहरूको विकास गर्न, चीनले भविष्यका उद्योगहरूका लागि कोष वृद्धि सुनिश्चित गर्न एक संयन्त्र स्थापना गर्नेछ र देशले आगामी पुस्ताको सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), उड्डयन र एयरोस्पेस, नयाँ ऊर्जा, नयाँ वस्तु, उच्चस्तरीय उपकरण, बायोमेडिसिन र क्वान्टम टेक्नोलोजी र उदीयमान उद्योगहरूको विकासका लागि नीति र सुशासन प्रणालीमा सुधार गर्नेछ। गत जुलाईमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण अधिवेशनले आधुनिक चीनलाई अगाडि बढाउन व्यापक सुधार गर्ने प्रस्तावअनुसार उद्योगलाई सुदृढ र व्यवस्थित विकासतर्फ लैजाने निर्णय गरेको छ।

वास्तवमा चौतर्फी रूपमा आधुनिक समाजवादी शक्तिको निर्माण वैज्ञानिक र प्राविधिक आत्मनिर्भरताको आडमा छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ आधुनिकीकरण र उच्च गुणस्तरको विकासका लागि विज्ञान प्रविधिको आधुनिकीकरण र नवप्रवर्तनको महत्त्वमाथि जोड दिँदै आएका छन्।

राष्ट्रपति सीले विज्ञान तथा प्रविधिको रणनीतिक रूपमा अग्रणी र आधारभूत सहयोगी भूमिका रहेको बताएका छन्। उनले सन् २०३५ सम्ममा विज्ञान र प्रविधिमा सबल देश निर्माण गर्ने रणनीतिक लक्ष्य हासिल गर्न उच्चस्तरीय डिजाइन र समग्र योजनालाई सुदृढ तुल्याउन र विज्ञान तथा प्रविधिमा आत्मनिर्भरतालाई तीव्रता दिन आग्रह गरेका छन्। सीले उक्त टिप्पणी जुन २४ मा आयोजित चीनको शीर्ष विज्ञान प्रविधि पुरस्कार प्रदान समारोहका साथै राष्ट्रिय विज्ञान प्रविधि सम्मेलन, राष्ट्रिय विज्ञान तथा प्रविधि पुरस्कार सम्मेलन, चाइनिज एकेडेमी अफ साइन्सेज (सीएएस) र चाइनिज एकेडेमी अफ इन्जिनियरिङ (सीएई) का सदस्यहरूको महासभा बैठकमा गरेका हुन्।

नयाँ युगमा विज्ञान प्रविधिको विकासबाट प्राप्त अनुभवलाई व्यवहारमा निरन्तर उतार्दै समृद्ध बनाउँदै लैजाने पनि सीले औँल्याए। यस अनुभवमा पार्टीको समग्र नेतृत्वको पालना, चिनियाँ विशेषतासहितको स्वतन्त्र नवप्रवर्तनको मार्ग, नवप्रवर्तनमा आधारित विकास, नवप्रवर्तन जीवनशक्ति, शिक्षाको सदाचारी चक्र, विज्ञान तथा प्रविधिको विकास र प्रतिभालाई प्रोत्साहित गर्न गहन सुधार, नवप्रवर्तन संस्कृतिको विकास साथै मानवजातिको हितका लागि विज्ञान तथा प्रविधिको खुलापन र सहयोग समावेश छ।

सीले विश्वव्यापी नवप्रवर्तन सञ्जालमा संलग्न हुन, विश्वव्यापी प्रविधि सुशासनमा भाग लिन र विश्वव्यापी चुनौतीहरूको सामना गर्न सँगै काम गर्न आग्रह पनि गरे। सीको भनाइले विज्ञान तथा प्रविधिको विकासको महत्त्वपूर्ण अनुभवलाई संक्षेपमा प्रस्तुत गरेको छ। चिनियाँ आधुनिकीकरणलाई प्रवर्द्धन गर्न र आधुनिक समाजवादी देश निर्माण गर्न विज्ञान तथा प्रविधिको नवीनताको भूमिकालाई विस्तृत गरेको छ। साथै नयाँ परिस्थितिमा विज्ञान र प्रविधिमा एक बलियो देश निर्माणको आधारभूत अर्थ र मुख्य कार्यहरू स्पष्ट पारेको छ।

हालैका वर्षमा चीनले नयाँ पुस्ताको एआई विकास योजना र १४ औँ पञ्चवर्षीय योजना अवधि (२०२१-२०२५) मा रोबोटिक्स उद्योगको विकासका लागि दिशानिर्देशजस्ता नीतिहरू जारी गरेको छ, जसले उद्योगको विभिन्न पक्षहरूको कार्यान्वयनलाई तीव्रता दिएको छ।

राष्ट्रिय विकास रणनीतिका रूपमा एआई लागू गर्ने प्रारम्भिक देशमध्येको एक रहेको चीनले एआईलाई रोबोटसँग जोडेको छ। साथै चीनले निरन्तर नयाँ प्रयोगका परिदृश्यको विकास गर्दैछ जसले एआई संसार र रोबोटिक्स उद्योगमा नयाँ अवसररूको सिर्जना गरिरहेको छ। ह्युमनोइड रोबोटका क्षेत्रमा व्यापक विकास क्षमता र अवसर भएकाले यसलाई व्यक्तिगत कम्प्युटर, स्मार्टफोन र नयाँ ऊर्जा गाडीको समान क्रान्तिकारी उत्पादनका रूपमा लिएको छ।

हालै जारी यी नीतिहरूले पनि चीनको ह्युमनोइड रोबोट उद्योगलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता दर्शाउँछ। अक्टोबर २०२३ मा उद्योग तथा सूचना प्रविधि मन्त्रालयले ह्युमनोइड रोबोटको नवीन विकासका लागि मार्गनिर्देशन जारी गरेको थियो। मार्गनिर्देशनले २०२५ सम्ममा भविष्यको उद्योगको विकास गर्न चीनले प्रारम्भिक नवाचार प्रणाली स्थापना गर्ने र रोबोट बजारको विशेषज्ञतामा सफलता हासिल गर्ने महत्त्वाकांक्षी लक्ष्यहरू राखेको छ।

सन् २०२५ सम्म विश्वव्यापी प्रभाव भएका दुईदेखि तीन ठूला ह्युमनोइड कम्पनी तथा थुप्रै अत्याधुनिक प्रविधियुक्त साना तथा मझौला उद्यमहरूको स्थापना गर्नेछ। २०२७ सम्म प्रविधिको नवाचार क्षमतामा उल्लेखनीय सुधार गर्ने, सुरक्षित र विश्वसनीय औद्योगिक आपूर्ति शृंखला स्थापना गर्ने, र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धात्मक औद्योगिक वातावरणको निर्माण गर्ने लक्ष्य राखिएको छ। साथै सम्बन्धित उत्पादनहरूलाई वास्तविक अर्थतन्त्रमा गहन रूपमा एकीकृत गरिनेछ।

गत अप्रिलमा जारी एक प्रतिवेदनअनुसार चीनको ह्युमनोइड रोबोट उद्योगको बजार आकार सन् २०२४ मा २.७६ अर्ब युआन हुने र सन् २०२९ सम्म ७५ अर्ब युआन पुग्ने अनुमान छ। गोल्डम्यान साक्सले सन् २०३५ सम्म ह्युमनोइड रोबोटको विश्वव्यापी बजार १५४ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। समग्रमा ह्युमनोइड रोबोट बजारले ठूलो हिस्सा ओगट्ने पक्का छ।

चीन ह्युमनोइड रोबोट प्रविधिसँग सम्बन्धित पेटेन्ट फाइलिङमा पनि अगाडि छ। गत वर्षको मेसम्म चीनले ६,६१८ पेटेन्टहरू दर्ता गरेकोमा ३,११० वटाले मान्यता प्राप्त गरेको छ। यसरी चीनले वैश्विक प्रतिस्पर्धामा अरू सबैलाई पछि पारेको छ। यसैगरी चीनसँग प्रभावकारी रोबोटसँग सम्बन्धित पेटेन्टहरू २ लाखको हाराहारीमा छ।

‘जुलाईसम्म चीनसँग १ लाख ९० हजार भन्दा बढी प्रभावकारी रोबोटसम्बन्धित पेटेन्टहरू छन्, जुन विश्वको कुलको करिब दुई तिहाइ हो,’ सूचना प्रविधि उपमन्त्री सिन क्वोपिनले सन् २०२४ वर्ल्ड रोबोट कन्फ्रेन्समा भने।

अघिल्लो वर्ष पिपुल डटसीएनअन्तर्गत एउटा अनुसन्धान संस्थाले जारी गरेको प्रतिवेदनमा चीनले विश्वव्यापी रूपमा ह्युमनोइड रोबोट प्रविधिमा अग्रता लिएको उल्लेख छ। पेटेन्ट आवेदन र मान्य पेटेन्टको संख्यामा पहिलो स्थानमा छ।

वास्तवमा चीनमा समग्र रोबोट उद्योग फस्टाउँदै गएको छ। हरेक वर्ष १७० अर्ब युआन बराबरको रोबोटको विक्री हुने गरेको छ। पछिल्ला वर्षमा चीन विश्वमा सबैभन्दा धेरै रोबोट प्रयोग गर्ने देश पनि बनेको छ। यहाँका कारखानामा व्यापक रूपमा रोबोट प्रयोग गरिन्छ। यद्यपि ह्युमनोइड रोबोटको क्षेत्रमा भने दुईतीन वर्षअघिसम्म पनि चीन मात्र बामे सर्दै थियो।

सन् २०२२ अघिको अवधिमा चीनको ह्युमनोइड रोबोट उद्योग मुख्यतः आधारभूत अनुसन्धान र प्रविधि संकलनको चरणमा थियो। यस अवधिमा प्रमुख उत्पादनहरू प्रायः शैक्षिक प्रयोजनका लागि साना रोबोटहरू र प्रयोग तथा प्रदर्शनका लागि केही पूर्ण आकारका ह्युमनोइड रोबोट थिए। २०२३ देखि यस उद्योगले प्रगति गर्न थालेको छ।

यसको औद्योगिक आकार ३.९१ अर्ब युआन (लगभग ५४९ मिलियन अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८५.७ प्रतिशत वृद्धि भएको छ। (चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चाइना सेन्टर फर इन्फर्मेशन इन्डस्ट्री डेभलपमेन्टद्वारा यस वर्ष जारी गरेको चिनियाँ मानवीय रोबोट उद्योगको पारिस्थितिक विकाससम्बन्धी अनुसन्धान रिपोर्ट अनुसार)

चीनको एआई र रोबोटिक्समा गरिएको लगानीले व्यापक लक्ष्यलाई प्रतिबिम्बित गर्दछ। भविष्यमा चीन ह्युमनोइड रोबोट र एआईमा आफ्नो नेतृत्वलाई थप सुदृढ पार्न तत्पर देखिएको छ। देशको महत्त्वाकांक्षी योजनाहरूमा २०२५ सम्म एक बलियो नवाचार प्रणाली स्थापना गर्ने, २०२७ सम्म सुरक्षित औद्योगिक आपूर्ति शृंखला र ह्युमनोइड रोबोटलाई वास्तविक अर्थतन्त्रमा समावेश गर्ने लक्ष्य लिएको चीनले आफ्नो शैलीको आधुनिकीकरण पछ्याउने क्रममा नयाँ नवीन आविष्कार पनि गर्ने नै छ।

यी नवाचार, नवप्रवर्तनहरूलाई भविष्यको औद्योगिक वृद्धि तथा विकास र सामाजिक परिवर्तनमा प्रयोग गरिनेछ। साथै साझा भविष्य भएको विश्व समुदायले पनि चिनियाँ अविष्कार तथा प्रगतिबाट अवश्य लाभ पाउनेछ।

प्रकाशित: २० भदौ २०८१ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 17 =