एमालेको साधारण सदस्य बन्छु भन्दा पनि मलाई दिएनन् : वामदेव गौतम [अन्तर्वार्ता]

किरण पौडेल २० भदौ २०८१ १३:४५
292
SHARES
एमालेको साधारण सदस्य बन्छु भन्दा पनि मलाई दिएनन् : वामदेव गौतम [अन्तर्वार्ता]

लामो समय वामपन्थी राजनीति गरेका नेता हुन् वामदेव गौतम। कुनै बेला एमालेमा संगठक र स्पष्ट वक्ताको पहिचान बनाएका उनी उपप्रधानमन्त्रीसम्म भए। पार्टीका विभिन्न निकायमा रहेर धेरै अनुभव बटुले। एमाले विभाजन गरेर केही वर्ष मालेको महासचिव पनि भए। पछिल्लो समय भने उनी मूल राजनीतिमा हराउँदै गएका छन्। नेकपा कालमा उपाध्यक्ष रहेका गौतम विवाद हुँदा कुनै पक्षमा खुलेनन्। नेकपा पूर्वविभाजित भएर एमाले र माओवादीमा फर्कियो। उनी भूमिकाविहीन भए। त्यसपछि राजनीतिको मूलधारबाट किनारीकृत भएका गौतम अहिले एमालेमा र एकीकृत समाजवादीमा जाने प्रयत्न गरिरहेका छन्। तर दुवै पार्टीले नपात्याएको उनको गुनासो छ। यिनै विषयमा राष्ट्रियसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री वामदेव गौतमसँग किरण पौडेलले गरेको कुराकानी :

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?

मैले केही समयअघि नेकपा एकता राष्ट्रिय अभियान बनाएको थिएँ। नेपालका कम्युनिस्ट दललाई एकीकृत गर्न समूह निर्माण गरेँ। त्यसलाई दर्ता पनि गरियो। तल्लो स्तरका कार्यकर्ताले साथ नदिए पनि संगठन अलिअलि चलिरहेकै छ। १०-१५ जिल्लामा जिल्ला संगठन छ। अहिले त त्यो पनि कहाँ छ, कहाँ छैन। देशका विभिन्न क्षेत्रमा व्यक्तिगत रूपमा सम्पर्क छ। उहाँहरूसँग छलफल गर्छु। स्तम्भहरू लेख्छु। यसरी नै चल्दैछ।

तपाईँले चलाउनुभएको एकता अभियानका केही नेताले तपाईँलाई निकालेको घोषणा गरे। अझै तपाईँसँगै छ एकता समूह?
छ्या छ्या छ्या! त्यस्तो अराजनीति हुन्छ। सद्दे मान्छेले गर्न नहुने काम गरेका हुन्! ती मान्छे गए-सकिए। निष्कासन गर्नुको के अर्थ हुन्छ र त्यो? ती मान्छेले एकपटक प्रचण्डलाई पनि निकालेका रहेछन्। यो पार्टीबाट प्रचण्डलाई निकालिएको छ भन्दा रहेछन्। त्यसको अर्थ छैन।

एकता अभियान पनि साँघुरियो भन्दै हुनुहुन्छ। अभियान नचलेपछि कसरी मूल पार्टीमा जाने?

एकता अभियान कमजोर भएकै हो। अब त पार्टी चाहियो। पार्टीमा जान पहिलो त नेकपा एमाले हो। एमालेमा केपी ओली बोल्नुभा’छैन। अरू साथीहरू पनि बोल्नुभा’छैन। शंकर पोखरेलले चार नेताहरू माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड र वामदेव गौतमलाई पार्टीमा ठाउँ छैन भन्नुभएछ। यी बुढा र काम नलाग्ने हुन् भनेर भनिएको छ। आइन्दा यी मान्छेका कुरा लिएर नआए पनि हुन्छ भन्नुभएछ। शंकरजी त महासचिव हो। पार्टीमा छलफल भएरै त्यसो भन्नुभएको होला।

उसो भए एमालेमा तपाईँको ढोका बन्द भएको हो त?

(हाँस्दै) बन्द हुने-नहुने त उनीहरूको कुरा हो नि। म त छोडेर हिँडेँ। छोडेर हिँडेपछि मलाई ल्याउनुहोस्- काम दिनुहोस् नमर्दासम्म काम गर्छु भनेँ। मैले सबै कुरा भनिसकेको छु। म त्यसबेला अलग हुनु हुँदैनथ्यो। मैले माओवादी र एमालेको एकता गराएर गल्ती गराएछु। किनभने त्यसपछि बनेको नेकपालाई दुई अध्यक्षले चलाउन सकेनन्। असफलता उनीहरूकै हो।

नेकपामा केही समयपछि प्रचण्डले गुनासो गर्न थाल्नुभयो। एउटा अध्यक्ष छ, दुई अध्यक्ष दुईतिर भए। म कतै पनि लागिनँ। दुईजनालाई मिलाउन लागेँ। मेरो उद्देश्य पवित्र थियो। तर सम्भव भएन।

ओलीसँग कुरा भएको छैन?

मैले ओलीसँग पनि कुरा गरेँ। मलाई काम दिनुहोस् भनेको थिएँ। सुरुमा तपाईँदेखि तलतिरको पद दिनुहोला भनेर प्रस्ताव राखेँ। वरिष्ठ उपाध्यक्ष दिन्नँ भन्नुभयो। मैले ईश्वर पोखरेलसँग कुरा गरेर तपाईँ मातहत बस्छु भनेँ। त्यतिले पनि भएन भनेँ। मैले खबर पठाएर भनेँ, म कुनै पद नमागीकन एमालेमा आउँछु, दिनुहोस्। त्यहाँ आएपछि पार्टी सदस्यता कायम गर्दिनुहोला। त्यसपछि के गर्नुपर्छ पार्टी सदस्य भएका कारणले म गर्छु भनेँ। अहिले उहाँहरूले खबर पठाउनुभयो। मलाई एमालेमा प्रवेश गर्न वा साधारण सदस्य बनाउन पनि नदिने कुरा आयो। त्यसपछि कुरा समाप्त भयो।

जसो गरे पनि तपाईँको निकट पार्टी एमाले हो। ५० वर्ष तपाईँ त्यही पार्टीमा लड्नुभयोे। अब त्यहाँ आउनै नदिने भन्दाचाहिँ तपाईँलाई कस्तो लाग्छ?

उहाँहरू डराउनुभयो। केपीजी अनेक किसिमको दाउ खेल्नुहुन्छ। केपीबाहेकका अन्य साथी त त्यहाँ नयाँ हुनुहुन्छ। उहाँहरूसँगसँगै भएर मसँग छलफल गर्ने कुरा नयाँ साथीहरू स्वीकार्नु हुन्न।

एकीकृत समाजवादीतिर जाने कुराचाहिँ के हो?

मैले समाजवादी पार्टीमा पनि प्रयत्न गरेँ। माधव (अध्यक्ष माधवकुमार नेपाल) कमरेड मलाई भेट्न आइरहनुहुन्छ। तर तपाईँ समाजवादीमा आउनुपर्‍यो भन्नुहुन्न। महाधिवेशन सकिएर पदाधिकारी चयनका बेला पनि आउनुभएको थियो। त्यसबेला चाहिँ वरिष्ठ नेता दिन्छौँ भन्नुभयो। वरिष्ठ नेता पद राम्रो होइन भनेर मैले भनेँ। पछि फेरि मैले वरिष्ठ नेता दिनुहोस् म आउँछु भनेँ। त्यो पनि भएन।

वरिष्ठ नेतामा प्रस्ताव लिएर तपाईँले हुन्छ भन्नुभयो तर पनि भएन? के कारण भएनछ?

के भएन होला? त्योचाहिँ तपाईँले पत्ता लगाउनुहोस्। म त्यो पार्टीमा नभएपछि मलाई त्यतापट्टिको कुरा थाहा भएन।

समाजवादीका एकजना शीर्ष नेताले वामदेवलाई ल्याउन सकिन्थ्यो तर विगतमा पनि वामदेवको अवसरवादी चरित्र देखियो। अर्को कुरा उहाँ सधैँ जबजको वकालत गर्नुहुन्छ। हाम्रोमा जबज हट्यो भनेका छन्। खास कुरा के हो?

त्यो पार्टीमा जबजविरुद्ध बाल्ने केही नेतामात्रै छन्। पहिलो झलनाथ खनाल हुन्। उहाँ के भन्नुहुन्छ भने बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद विकास गर्न सकिन्न। यसको मतलब युद्ध गरेर सरकारी सत्ता कब्जा गरेपछि र रगत बगाएपछि मात्र समाजवाद आउँछ भन्नुहुन्छ उहाँ। मलाई के लाग्छ भने ब्रह्माण्डमा अब कहिल्यै त्यसो हुनेछैन। जनताको बहुदलीय जनवादले नै समाजवादमा विपरीत तत्त्वको अवस्थाको सिर्जना गर्छ जसले समाजवाद टिकिरहन सक्छ। माक्र्सवादी दर्शनले त्यही भन्छ। त्यसअनुसार मदन भण्डारीले जे निष्कर्ष निकाल्नुभयो, त्यो अत्यन्त सही छ। समाजवाद बहुदलीय प्रतिस्पर्धाबाट प्राप्त हुन सक्छ। म त्यो कुरामा अडिग छु।

साउन ३१ गते काठमाडौँमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्दै वामदेव गौतम। तस्बिर : एकीकृत  समाजवादीको सचिवालय

मैले तपाईँहरूले जे भन्नुहुन्छ, त्यही भन्दै जाऔँला। जबज यसो हो, उसो भन्दै हिँड्दिनँ भनेँ। पार्टीभित्र मलाई विचार राख्न दिनुहोस्। समर्थन गर्नुभयो भने तपाईँहरूले पनि मानेर जानुहोला पनि भनेँ। विचार त सुन्न सक्नुपर्‍यो। विचार त चित्त बुझे मान्ने हो नभए नमान्ने हो। यसमा समस्या छैन। तर त्यो काम पनि भएन।

विचारका सन्दर्भमा त शंकर पोखरेलसँग तपाईँ नजिक हुनुहुन्छ। उहाँले जबजलाई सिद्धान्त बनाएर लैजानुपर्छ भन्दै आउनुभएको छ। तनै नेता अहिले किन तपाईँका विरुद्धमा लागे?

होइन, होइन। शंकर पोखरेल सिद्धान्त बनाउन कहिल्यै लाग्नुभएन। उहाँ जबजको पक्षधर हो। अहिले एमालेमा जबज छैन। पाँचौँ महाधिवेशनमा जे कार्यक्रम प्रस्तुत गरिएको थियो, त्यही कार्यक्रम कायमै छ। सिद्धान्त बनाएकै छैन।

कुनै बेला तपाईँ माओवादीलाई मिलाउन सक्ने नेता हुनुहुन्थ्यो। एमाले-एकीकृत समाजवादीले ढोका बन्द गर्दा त्यो पनि त कम्युनिस्ट पार्टी हो। त्यता लाग्नचाहिँ कोसिस गर्नुभएन?

विगतमा मैले गरेँ। अहिले भएन नि त। भूमिगतकालमा पनि मलाई आउनुहोस् कमरेड भन्नुहुन्थो। एमाले छाडेर आउनुहोस् भनेर उहाँहरूले भन्नुभयो। कमरेड प्रचण्डले विगतमा त्यसै भनेकाले पनि मलाई दुई पार्टी एकीकरण गर्न सहज भयो। पछिल्लो कालमा पनि प्रचण्डसहितका नेताले आउनुहोस् भन्नुभयो। मैले आउँदिनँ भने।

आन्दोलनमा इमानदार व्यक्तिहरू मारिए। जसले हतियार उठाएका थिएनन् उनीहरू पनि मारिए। समातेर लगेर घाँटीमा हानेर मारे। कसैलाई खुकुरीले हानेर बोको जसरी मार्ने काम भए। यस्तो भएपछि मैले सार्वजनिक रूपमा पार्टीमा आउँदिनँ भनेको थिए। अहिले त उहाँहरूले पार्टीमा आइज भन्न छाड्नुभयो। सँगै जाऊँचाहिँ भन्नुहुन्छ तर पार्टीमा आइज भन्नुहुन्न। त्यो पार्टीको नाम फेर्न सकिन्छ भने जान सकिन्छ। त्यो त एकपटक गइयो। यता एमाले हट्यो, उता माओवादी हट्यो। नेकपा भयो। त्यसरी त जान सकिने रहेनछ।

माओवादीसँग गठबन्धन गर्न सकिन्छ तर त्यहाँ प्रवेश गर्न सकिन्न भन्न खोज्नुभएको हो?

हो, त्यही हो। उहाँहरूसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ। अहिले भन्ने हो भने केपी र माधवसँग भन्दा प्रचण्डसँग मेरो सम्बन्ध राम्रो छ। प्रचण्ड मेरो कुरा सुन्नुहुन्छ। उहाँले बोलाउनुहुन्छ तर पार्टी संगठनको सम्बन्ध लिएर त्यो पार्टीमा जाने कुरामा अहिलेसम्म सोचेको छैन।

तपाईँ कुनै बेलाको सबैभन्दा सशक्त नेता र संगठक भनेर चिनिनुहुन्थो। अब पनि त तपाईँ आफैँ पार्टी निर्माणमा लाग्दा हुँदैन र? किन एमाले र एकीकृत समाजवादी फर्किनुपर्ने?

पार्टी बनाउन पैसा चाहिन्छ। मसँग पैसा छैन। बाटो हिँड्न पनि पैसा चाहिन्छ। मसँग केही पनि भएन नि त। राष्ट्रियसभाको सदस्य छु। त्यसैबाट घरपरिवार चलाउने हो। हिँड्न सकिएन। भूमिगत कालमा पैदल हिँडिन्थ्यो। अहिले सम्भव भएन। कतिपय ठाउँमा त अहिले प्लेन वा गाडीमा जानुपर्‍यो। अरू साथीभाइलाई सँगै लानुपर्‍यो। विभिन्न ठाउँमा भेला गर्नुपर्‍यो। यसो गर्न सामान्य पैसा पनि मसँग भएन। जसले गर्दा म जनताका बीचमा जान पाइनँ। जनताको बीचमा जान पाएको भए अरूजत्तिकै पार्टी बनाउन सक्थेँ। म ७७ जिल्लामै जान सक्छु। पैसा नभएपछि जानै सकिएन।

तपाईँ विगतमा सरकारमा जानुभयो। प्रायः सांसद हुनुभयो तर पनि पैसा नभएको?

सरकारमा जाँदैमा पैसा हुनेहाेइन। मैले भ्रष्टाचार गरकाे छैन। भ्रष्टाचार गरेको कसैसँग प्रमाण छ भने मुद्दा हाल भनेको थिए। म भ्रष्टाचारमा जोडिएको थिएँ भने त बाँकी नै रहने थिइनँ नि।

प्रकाशित: २० भदौ २०८१ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =