लामाचौर कपको फाइनलमा दुई विभागीय

हिमाल प्रेस २० भदौ २०८१ १३:१३
8
SHARES
लामाचौर कपको फाइनलमा दुई विभागीय

पोखरा- साविक विजेता गण्डकी प्रदेश भलिबल एसोसिएसन लामाचौर कपको उपाधि होडबाट बाहिरिएको छ। पुरुषतर्फ लगातार दुई खेल गुमाएको गण्डकी एक खेल बाँकी छँदै उपाधि होडबाट बाहिरिएको हो। अब उसले ट्राभल इन्क्वाइरी गलकोटसँग तेस्रो स्थानका लागि शुक्रबार प्रतिस्पर्धा खेल्नेछ।

यसअघि, गण्डकी उद्घाटनका दिन चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग सोझो सेटमै पराजित भएको थियो। साविक उपविजेता पुलिसले २५–१७, २५–२१ र ३०–२८ सेटमा सहज जित हात पारेको थियो।

गण्डकी अर्को विभागीय टिम एपिएफसँग ३–१ सेटमा पराजित भयो। बुधबार लाइट प्रोटेस्टका कारण स्थगित खेल बिहीबार भएकोमा एपिएफले २५–१८, २५–२३, २०–२५ र २५–१६ सेटमा हराएको हो। अघिल्लो दिन दुवै टिमले एकएक सेट जितेका थिए।

यसपालि पनि दुई विभागीय टिम नेपाल पुलिस र एपिएफ क्लब लगातार दोहोरो जितसँग फाइनल पुग्न सफल भएका छन्। उनीहरूले २ खेलबाट समान अंक जोडेका हुन्।
राउण्ड रोविन आधारमा भएको प्रतियोगितामा लिगको अर्को खेलमा शुक्रबार डर्बी टिम आमनेसामने हुँदैछन्। गण्डकीसहित गलकोट अंकविहीन छन्।

पहिलो संस्करण वर्षाले बिथोलेपछि पुलिस र गण्डकीले प्रथम र दोस्रो पुरस्कार बाँडेर लिएकोमा दोस्रो संस्करणमा गत वर्ष गण्डकीले उपाधि उचालेको थियो। महिलातर्फ विभागीय एपिएफ क्लब र न्यू डायमण्डले फाइनल यात्रा सुरक्षित गरिसकेका छन्। दुवै टिमले दोहोरो जितमा स्पष्ट ६ अंकसहित अर्को खेल बाँकी छँदा फाइनल पुगेका हुन्।
लामाचौर कपको सर्वाधिक सफल टिम न्यू डायमण्ड भने साविक उपविजेता हो।

डिफेन्डिङ च्याम्पियन पुलिसले न्यु डायमण्डलाई ३–१ सेटमा हराएको थियो। चालु संस्करणमा भने पुलिस खेल्न आएन। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा तीज अवसरमा भएको २६ औं लामाचौर तीज महोत्सवको आकर्षण भलिबल प्रतियोगिता भएको छ। पुरुष तथा महिलातर्फको फाइनल तीजकै दिन शुक्रबार हुने आयोजकले जनाएको छ।

प्रकाशित: २० भदौ २०८१ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast