नेपाली सेनाबाट यसरी बिदा भए प्रधानसेनापति शर्मा

हिमाल प्रेस १९ भदौ २०८१ २०:३९
20
SHARES
नेपाली सेनाबाट यसरी बिदा भए प्रधानसेनापति शर्मा

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माको आज (बुधबार) बिदाइ गरिएको छ। प्रधानसेनापतिको रूपमा तीन वर्षे कार्यकाल सकेर उनी बिदा भएका हुन्। नेपाली सेनामा उनले झण्डै ४२ वर्ष सेवा गरेर अवकाश प्राप्त गरेका हुन्।

बिदाइ कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पुर्‍याएको योगदान स्मरणीय रहने बताए। उनले शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको पनि बताए।

नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई उनले बधाई दिँदै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढंगबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताए। उनले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्यावउन शर्माले प्रदर्शन गरेको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताए। सोही अवसरमा उनले आफ्नो भावी कार्यकालका मुख्य प्राथमिकताहरूका बारेमा समेत जानकारी दिएका थिए।

यस्तै प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य सांगठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको उल्लेख गरे। आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्ने रक्षा मन्त्रालय लगायत सम्बद्ध सबैमा कृतज्ञता पनि व्यक्त गरेका थिए।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई सम्झना स्वरूप उपहार प्रदान गरेका थिए। नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिलाई कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गरेका थिए।

त्यसै गरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधानसेनापति शर्मालाई सम्झना स्वरूप उपहार प्रदान गरेका थिए।

त्यस्तै सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबीच सम्झना स्वरूप उपहार आदान प्रदान भएको थियो। बिदाइ कार्यक्रममा पूर्व प्रधानसेनापतिहरू, पूर्व रक्षा सचिवहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका पदाधिकारीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरू, अधिकृत, सञ्चारकर्मीहरूलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको सेनाले जनाएको छ।

यसअघि प्रधानसेनापति शर्माले कायममुकायम प्रधानसेनापति रथी सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो।

प्रकाशित: १९ भदौ २०८१ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =