निर्दयी आमा : जसले आफ्ना दुई छोरीहरूलाई विष खुवाइन्

विवेक विवश रेग्मी १९ भदौ २०८१ १७:०३
176
SHARES
निर्दयी आमा : जसले आफ्ना दुई छोरीहरूलाई विष खुवाइन्

इटहरी- मानिस कोही समस्यामा पर्दा वा निकै कठिन मोडमा कसैलाई सम्झनुपर्दा पहिलो शब्द हो आमा। आमा एक कुनै नाम वा बिम्ब मात्रै होइन, सिंगो सृष्टि हुन्। एक आमाका जति सन्तान भए पनि माया भने बराबर हुन्छ भनिन्छ। त्यसो त आफैँले जन्म दिएकी आमाले जतिसुकै दुःख भए पनि आफ्ना सन्तान हुर्काइबढाइ गर्छिन्।

आफ्नो आँसु लुकाएर सन्तान खुसी बनाउने आमाले सन्तानको हत्या गर्न सक्छिन्? यो प्रश्न सम्झँदा पनि झस‌ंग भइन्छ। मोरङमा एउटी आमाले दुई छोरीहरूलाई हत्या गरेको घटना सार्वजनिक भएको छ। दुई नाबालिका छोरीहरूको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरी सार्वजनिक भएपछि यो घटना बाहिरिएको हो।

गत शनिबार सुन्दरहरैँचास्थित केरा बगानभित्र दिदीबहिनीको शव फेला परेको थियो। धनकुटाको पाख्रिबास नगरपालिका-४ डिकुरे घर भई सुन्दरहरैँचा-७ मा बस्दै आएका अर्जुन कार्कीका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए।

घटनामा मृतककी आमा २१ वर्षीया अस्मिता पौडेल कार्कीलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले घटनामा संलग्न देखिएपछि अस्मितालाई पक्राउ गरी सार्वजनिक गरिएको जानकारी दिए।

‘पतिसँगको विवाद भएर घरबाट बाहिर निस्किएको देखिन्छ। हामीले आज जिल्ला अदालत मोरङबाट चार दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौँ,’ एसएसपी दाहालले भने, ‘बच्चा मृत फेला परेपछि परिवार विक्षिप्त छ।’

उनका अनुसार पक्राउ परेकी अस्मिताले पनि विष सेवन गरेको खुलेको छ। अस्मिताको विराटनगरस्थित कोशी अस्पताल विराटनगरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

‘घटना भएकै स्थान आसपास रहेको आशंकामा खोजी व्यापक बनाएका थियौँ। कोशी प्रदेशका सबै प्रहरी कार्यालयमा उनको फोटो पठाएर खोजी गरेका थियौँ’, दाहालले भने, ‘घटनास्थलमै मोबाइल छाडेर गएका कारण अस्मितालाई पक्राउ गर्न केही दिन ढिलाइ भएको हो।’

पक्राउ परेकी अस्मितामाथि थप अनुसन्धान भइरहेको  दाहालले बताए। घटना भइसकेपछि उनलाई केही म्यासेजहरूसमेत पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। ‘केही एसएमएस पनि पठाएको देखिएपछि अनुसन्धान नजिक पुगेका छौँ,’ उनले हिमालप्रेससँग भने, ‘भर्खर त अनुसन्धान सुरु गर्दैछौँ। अब अनुसन्धानले के देखाउँछ भन्नेबारे खुल्न बाँकी छ।’

विष खुवाएर हत्या गरिसकेपछि अस्मिताले अर्जुनलाई ‘तेरा छोरी मारिदिइसकेँ, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको दाहालले बताए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीका अनुसार दुवै शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि अन्त्येष्टि गरिसकिएको छ।

केराबगानभित्र दिदीले बहिनीलाई अंगालो हालेको अवस्थामा शव फेला परेको थियो। शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिड’ को बट्टा फेला परेको दाहालले बताए। त्यही ‘मेटासिड’ खुवाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले जानकारी दिए। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको छ।

‘बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारिएको हो। शारीरिक अवस्था निकै कमजोर भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ,’ एसपी कार्कीले भने। प्रहरीका अनुसार पक्राउ परेकी अस्मितामा ‘मानसिक रोगी’ जस्तो समस्यासमेत देखिएको छ।

प्रहरीमा उनले छोरीहरूलाई विष खुवाएपछि आफूले पनि विष सेवन गरेको बयान दिएकी छन्। ‘मलाई पतिले धेरै तनाव दिन्थे। ‘टर्चर’ सहन सकिनँ,’ उनले बयानमा भनेकी छन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे। मर्न भनेर विष पनि लिएर गएकी थिएँ। छोरीहरूलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन।’ सुरुमा आफूले विष सेवन गरेको र छाती पोल्न थालेपछि छोरीहरूलाई समेत खुवाएको उनले बताएकी छन्।

आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएका कारण यो घटना भएको उनले बताएकी छन्। उनले भनिन्, ‘यस्तो बाटो अपनाउन मन थिएन। घरमा कहिल्यै मेलमिलाप भएन। मलाई लामो समयदेखि ‘टर्चर’ थियो। सहन सकिनँ।’

पछिल्लोपटक आफ्नो निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग अस्मिताको विवाद भएको थियो। सोही रिसमा छोरीहरू आइका र अपर्णालाई विष खुवाएर हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो। अस्मिता र अर्जुनको  २०७५ साल फागुन ९ गते प्रेमविवाह भएको थियो।

प्रकाशित: १९ भदौ २०८१ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =