काठमाडौँ- चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा छानविन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।
समिति सभापति अम्बरबहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए। त्यस्तै आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आमनागरिक र सम्बन्धित व्यक्तिहरुको विश्वास जित्ने गरप्ी आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस विषयमा आवश्यक छानबिन गर्ने बताइन्। उनले नतिजा आएपछि आफू निरन्तर आयोगसँग छलफलमा रहेको भन्दै समस्या हल गर्ने बताइन्। आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमी हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर भट्टराईको छ।
आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले रोल नम्बरका आधारमा नतिजा प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गरे। समान नम्बर लिएर आएको समूहमात्रै नतिजा फरक परेको भन्दै छानबिनका लागि आयोग तयार रहेको उनको भनाइ छ।
बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षा आयोगको परीक्षामा ठूलो त्रुटि भएको भन्दै छानबिनको माग गरेका थिए। रोल नम्बर एउटा विद्यार्थीको र प्राप्तांक अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीसमेत आन्दोलित छन्।