हामीले चाह्यौँ भने सरकार फेर्न सक्छौँ : वर्षमान पुन

हिमाल प्रेस १८ भदौ २०८१ २०:३०
28
SHARES
हामीले चाह्यौँ भने सरकार फेर्न सक्छौँ : वर्षमान पुन

लुम्बिनी- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले जनपक्षीय काम गरेका कारण प्रचण्ड नेतृत्वको सरकार ढालिएको बताएका छन्। मंगलबार भैरहवामा अखिल (क्रान्तिकारी) रूपन्देहीको २३ औं जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन्।

सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गर्दै नेता पुनले भुटानी शरणार्थी लगायतका ठुला काण्डहरूको छानबिन गरेर दोषीलाई कारबाही गर्न थालेपछि कांग्रेस-एमाले आत्तिएर सरकार ढालेको आरोप लगाए। ‘सरकार किन ढालियो सबैलाई थाहा नै छ, हामीले चाह्यौँ भने सरकार फेर्न सक्छौँ तर हामी सरकार फेर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘अब हामी संगठन निर्माणमा लाग्छौं।’

पार्टी विभाजनको विषयमा स्पष्टीकरण दिँदै नेता पुनले पार्टीभित्र राजनीतिक र शैद्धान्तिक विषयमा बहस र छलफल हुने गरेको भए पनि बाहिर हल्ला गरे जस्तो फुट्ने अवस्था नरहेको बताए। ‘जीवन्त पार्टीमा वहस छलफल हुन्छ त्यसलाई पार्टी फुट्छ भनेर बुझ्नु भएन,’ उनले भने। आफ्नो फाइदाका लागि विरोधीहरूले माओवादी फुट्न थालेको हल्ला फैलाएको उनको आरोप छ  नेता पुनले छलफल बहस र एकताका आधारमा नेतृत्व चुन्न विद्यार्थी नेताहरूलाई सुझाए।

यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले जनयुद्धका कारण महिला दलित लगायत पछाडि पारिएको वर्ग क्षेत्र र समुदाय राज्यको मूल प्रवाहमा पुग्न सकेको बताए। वर्तमान संविधान जनयुद्धकै दस्ताबेजीकरण भएको उनको भनाइ छ। उनले विद्यार्थी आन्दोलनलाई उत्पादनसँग जोड्न आग्रह गर्दै दैनिक सयौँको संख्यामा बाहिरिने विद्यार्थीलाई रोक्ने मार्गमा अग्रसर हुन सुझाए।

जिल्लाभरिका विद्यालय, क्याम्पस र पालिका कमिटीबाट चुनिएर आएका १८५ जना सम्मेलन प्रतिनिधिले संगठनको राजनैतिक र सांगठनिक प्रतिवेदन पारितसँगै आगामी कार्यकालको लागि नेतृत्व चयन गर्नेछन्।

प्रकाशित: १८ भदौ २०८१ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =