काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ।
मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा एमाले महासचिव शंकर पोखरेलले पेश गरेको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरिएको हो।
पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षणपत्र, त्यसपछि झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषय कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने कुरालाई प्रस्तुत वार्षिक कार्ययोजनामा विशेष जोड दिइएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिए।
त्यसैगरी कार्ययोजनामा कम्युनिष्ट पार्टीहरूको अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रुपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्यांकन विधिलाई अघि बढाउनेलगायतका एजेण्डाहरू समावेश गरिएको छ।
सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरूलाई जनतामा स्थापित हुनेगरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको गौतमले बताए।