लामाचौर कप भलिबलमा साविक विजेता गण्डकी सोझो सेटमा पराजित

हिमाल प्रेस १८ भदौ २०८१ १७:३९
14
SHARES
लामाचौर कप भलिबलमा साविक विजेता गण्डकी सोझो सेटमा पराजित

पोखरा- साविक विजेता गण्डकी प्रदेश भलिबल टिम मंगलबारदेखि सुरु लामाचौर कपमा सोझो सेटमै पराजित छ। चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिससँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो।

पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो। गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो। अघिल्ला सेट २५–१७ र २५–२१ मा जितेको हो।

लामाचौर कपमा महिलातर्फ ११ औं संस्करण भइसक्दा २ वर्षअघि मात्र पुरुषतर्फ पनि प्रतिस्पर्धा हुन थालेको हो। पहिलो र दोस्रो संस्करणमा पनि गण्डकी र पुलिस नै फाइनल खेलेका थिए। पहिलो संस्करण भने वर्षाले बिथोलेपछि दुवै टिमले पुरस्कार बाँडेर लिएका थिए।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत मंगलबारदेखि लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो। इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा ४ दिनसम्म प्रतियोगितामा महिला तथा पुरुषतर्फ चार–चार टिमले भाग लिएका छन्। एपिएफले महिला तथा पुरुष दुवैतर्फ जित हात पार्दा महिलातर्फ साविक उपविजेता डायमण्डले विजयी सुरुआत गरेको छ।

महिलातर्फ एपिएफले गण्डकी प्रदेश भलिबल एसोसिएसनलाई ३–१ सेटमा हराएको छ। एपिएफले अघिल्ला दुई सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट गुमाएको हो। उसले २५–१४, २५–१४, २४–२६ र २५–२३ सेटले जितेको हो। महिलातर्फ दोस्रो खेल टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लबले जित्यो।

डायमण्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेट २५–१४, २५–१२ र २५–१७ मा पराजित गरेको रेफ्री डेलिगेट टहलसिंह थापाले बताए। पुरुषतर्फ पहिलो खेलमा एपिएफले ट्राभल इक्वायरी गलकोटलाई ३–१ सेटमा हराउँदै विजयी यात्रा सुरु गरेको हो। एपिएफले २५–१७, २५–२७, २५–१६ र २६–२४ मा हराएको हो।

राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल १ भदौमा हुने आयोजक संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले बताए। दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ। भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको प्रचार संयोजक दिनेश भण्डारीले बताए।

प्रकाशित: १८ भदौ २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =