ओली सरकार बिचौलियाले बनाएको हो : वर्षमान पुन

हिमाल प्रेस १८ भदौ २०८१ १७:२८
8
SHARES
ओली सरकार बिचौलियाले बनाएको हो : वर्षमान पुन वर्षमान पुन। फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरूको आरोप पुष्टि भएको बताएका छन्।

मंगलबार पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औँ जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै उपमहासचिव पुनले आफूहरूले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताएका हुन्। ‘प्रचण्डले संसदको रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरूले हामीलाई सरकारबाट निकाले, कांग्रेस-एमालेलाई मिलाइदिए भन्नुभएको थियो,’ पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन्। उहाँ हामी दुवैको साझा मान्छे हो। उहाँको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गर्नुभयो।’

आफूहरूले सुरुदेखि नै भन्दै आएको उक्त विषयबारे सत्ताबाट हट्नुपर्दाको पीडा स्वरुप माओवादीलाई पूर्वाग्रहपूर्ण टिप्पणी गर्नेहरूले समेत सरकार बिचौलियाले नै बनाएका रहेछन् भन्न थालेको उनको भनाइ थियो। उपमहासचिव पुनले अहिलेको सरकारले जनताको विकास र सुशासनको अपेक्षा सम्बोधन नगर्ने भन्दै सरकार निर्माणमा संलग्न बिचौलिया वर्गको सेवा गर्ने आरोप लगाए।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताको एजेण्डामा कांग्रेस-एमालेलाई माओवादीले सहमत गराएर सहकार्य गरेको भए पनि सुशासनको एजेण्डामा कुरा नमिलेको पुनले बताए। उपमहासचिव पुनले प्रचण्ड नेतृत्वमा भएको १० वर्षे सशस्त्र संघर्षकै कारण अहिलेका राजनीतिक उपलब्धि हासिल भएकाले त्यसलाई अवमूल्यन र अपमान गर्ने काम कदापी स्वीकार्य नरहेको टिप्पणी गरे।

प्रकाशित: १८ भदौ २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =