‘आईजीपीको जिब्रो थुत्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिले तात्यो संसद्

हिमाल प्रेस १८ भदौ २०८१ १५:५७
18
SHARES
‘आईजीपीको जिब्रो थुत्ने’ सञ्चारमन्त्रीको अभिव्यक्तिले तात्यो संसद्

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवरका विषयमा गरेको आपत्तिजनक टिप्पणीले राजनीति तातिरहेको छ। यस विषयले म‌ंगलबार प्रतिनिधिसभा बैठकमा पनि प्रवेश पायो।

बैठकमा बोल्ने सांसदले सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्। उनीहरूले मन्त्री गुरुङले माफी माग्नुपर्ने बताए। मन्त्री गुरुङले पोखरामा शनिबार आयोजित कार्यक्रममा आईजीपी कुँवरले प्रहरी समायोजनको विषयमा गरिरहेको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै  जिब्रो थुत्ने अभिव्यक्ति दिएका थिए।

सांसदले कसले के बोले?

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मन्त्रीले बोल्दा जिब्रोमा ‘ब्रेक’ लगाउन आवश्यक रहेको बताए। खतिवडाले मन्त्री गुरुङको अभिव्यक्तिबारे सरकारले संसद्‌लाई जवाफ दिनुपर्ने बताए।

‘सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। यो अभिव्यक्ति आपत्तिजनक छ,’ उनले भने, ‘मन्त्रीहरूलाई म अनुरोध गर्न चाहन्छु- जिब्रोमा ब्रेक लगाइयोस्। अन्त कहाँकहाँ ब्रेक लगाउनुपर्ने हो? लाग्दै गर्ला तर मन्त्रीहरूले जिब्रोमा ब्रेक लगाएर बोलियोस्। यसको जवाफ संसद्‌मा दिइयोस्।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले पनि मन्त्री गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले सरकारका प्रवक्ताले प्रहरी संगठनका प्रमुखले बोल्दा ‘जिब्रो थुतिदिन्छु’ भन्दा कहाँको वाक् स्वतन्त्रता हो भनी प्रश्न गरे। ‘लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्तमध्ये पहिलो फ्रिडम अफ एक्सप्रेसन हो,’ उनले भने, ‘प्रहरी संगठनका प्रमुखले सांगठनिक चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता तथा मन्त्रीले जिब्रो थुतिदिन्छु भनेर भन्छन् भने कहाँको वाक् स्वतन्त्रता र कहाँको लोकतन्त्र ?’

उनले एमालेका अग्रज नेतालाई  आफ्ना मन्त्रीलाई सभ्यता सिकाउन सुझाव दिए। ‘हामीले त्यही दलका पाका अग्रजहरूले सभ्यता सिकाउनुहुन्छ भने अनुरोध छ,’ उनले थपे, ‘आफ्नै मन्त्रिपरिषद्को मन्त्रीलाई पहिला सिकाउनुस्।’

पूर्वप्रहरी प्रमुखहरूको माग : मन्त्री गुरुङलाई कारबाही

पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले आईजीपी बसन्तबहादुर कुँवर लक्षित अमर्यादित टिप्पणी गरेको भन्दै कारबाही गर्न माग गरेको छ। मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘आईजीपीको जिब्रो थुत्नुपर्यो’ भन्ने सञ्चारमन्त्री गुरुङको अभिव्यक्ति अमर्यादित भएको भन्दै कारबाही गर्न माग गरेको हो।

‘बहाल तथा पूर्वसुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञामा लिनु भई आवश्यक कारबाही गर्नुहुन पनि अनुरोध गर्दछौँ,’ मञ्चले भनेको छ।

त्यस्तै उक्त अभिव्यक्ति फिर्ता लिन, आईजीपी कुँवरसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकायमाथि टिप्पणी गर्नुपूर्व सचेत रहन पनि मन्त्री गुरुङलाई आग्रह गरेको छ।

के बोलेका थिए मन्त्री गुरुङले ?

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले शनिबार  खरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षकका विषयमा अस्वाभाविक टिप्पणी गरेका थिए। उनले संघीयताअनुसार प्रहरी समायोजनका विषयमा आईजीपीको भूमिकामाथि प्रश्न उठाउँदै कुँवरको आलोचना गरेका थिए।

‘यस वर्ष संघीय निजामती ऐन र संघीय प्रहरी ऐन लन्च गर्ने कुरा छ । यो धेरै कठिन विषय रहेछ । काठमाडौँको मानसिकता, माइन्डसेट, यसको अवरोध एउटा मन्त्रीले, एउटा सरकारले, प्रधानमन्त्रीले कसरी लिन्छ त्यो आफ्नो छँदै छ । धेरै अवरोध गर्ने त्यही क्षेत्रको मान्छे हो,’ गुरुङले भनेका थिए,’ अस्ति प्रहरीको आईजीपीले के भन्नुभयो, म कार्यान्वयन गर्दिनँ, हु गर्छ। त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरी,’ उनले भने, ‘सरकारको नीतिको व्यवस्थाको विरुद्ध एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि ! उहाँले म प्रहरी ऐन ल्याउँदै ल्याउदिनँ भन्ने टाइपले बोलियो भन्ने सुनेको मैले। निजामतीको मुख्यसचिवले भन्न मिल्ने कि नमिल्ने ? एपीएफको आईजीपीले भन्न मिल्ने कि नमिल्ने ? संघीय प्रहरी ऐन संघीय शासन प्रणालीअनुसार ल्याउनुपर्छ । हामी त्यो प्रोसेस अगाडि बढाउँछौँ ।’

प्रधानमन्त्रीले सचेत गराए

मन्त्री गुरुङले आईजीपीको नाम लिँदै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गुरुङलाई सचेत गराएको बताएका छन्। सोमबार मन्त्रालयको नियमित रिपोर्टिङ बुझाउन पुगेका गुरुङलाई प्रधानमन्त्री ओलीले सचेत गराएका हुन्। ओलीले आफूलाई यसबारे सचेत गराएको गुरुङले नै बताए।

सोमबार राष्ट्रिय समाचार समितिले आयोजना गरेको कार्यक्रममा गुरुङले भने, ‘मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो, गराएँ। त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको विषयको सन्दर्भबारे सोध्नुभयो। मैले जानकारी गराएँ।’ उनले भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको बताए। मन्त्री गुरुङले आफूले पनि त्यसबारे महसुस गरेको बताए।

प्रकाशित: १८ भदौ २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =