रामगोपालपुरका वडाअध्यक्षको हत्या भएको दाबी

हिमाल प्रेस १८ भदौ २०८१ ११:५१
8
SHARES
रामगोपालपुरका वडाअध्यक्षको हत्या भएको दाबी

काठमाडौँ- महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न माग गरिएको छ। वडाध्यक्ष संघर्ष समितिले वडाध्यक्ष यादवको मृत्यु शंकास्पद भएको भन्दै उच्चस्तरीय छानबिनका लागि माग गरेको हो।

हत्यासम्बन्धी घटना छानबिनको माग गर्दै संघर्ष समितिले महोत्तरीका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

संघर्ष समितिले वडाध्यक्ष यादवको मृत्यु दुर्घटनाबाट नभई नियोजित रूपमा हत्या गरिएको दाबी गरेको छ। ‘उक्त मृत्यु दुर्घटनाबाट नभई अन्य तरिकाबाट निज सहकर्मी वडाध्यक्ष मुकेशकुमार यादवको निर्मम हत्या गरी नियोजित रूपमा दुर्घटनाको रूप सिर्जना खोजेकोमा अविलम्ब उक्त घटनाको उच्चस्तरीय छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न यो ज्ञापनपत्र चढाएका हौँ,’ संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।

वडाध्यक्ष यादवको मृत्युको सत्यतथ्य एक साताभित्र सार्वजनिक गर्न माग गर्दै आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी संघर्ष समितिले दिएको छ।

९ भाद्रमा बिहानको समयमा बर्दिवास र औरही नगरपालिकाको सिमानामा रहेको कलभर्टको पूर्वपट्टी वडाध्यक्ष यादव मृत अवस्थामा भेटिएका थिए। उनी चढेको मोटरसाइकल पनि त्यही स्थानबाट बरामद भएको थियो।

प्रहरीका अनुसार ८ भाद्रमा राति साढे ८ बजे बर्दिवासबाट उनी आफ्नै मोटरसाइकल चढेर रामगोपालपुरतिर हिँडेका थिए। बर्दिवासबाट एक्लै हिँडेका वडाध्यक्ष यादवलाई भोलिपल्ट बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो।

घटनास्थल पुगेको प्रहरीको टोलीले तालिमप्राप्त कुकुर लगाएर अनुसन्धान सुरू गरेको थियो। यद्यपि यादवको दुर्घटनामा परेर मृत्यु भएको हो वा हत्या यसबारे हालसम्म प्रहरीले पनि यकिन गर्न सकेको छैन।

‘राति बर्दिवासबाट मोटरसाइकल चढेर एक्लै हिँडेको बुझिएको छ, बाटोमा अरू कोही चढे कि? अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक अधिकृतले भने,‘हत्या हो वा दुर्घटना हालसम्म यकिन भइसकेको छैन।’

महोत्तरीका प्रहरी प्रमुख नकुल पोख्रेलले घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित: १८ भदौ २०८१ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =