उनका अनुसार बक्रेश्वर मन्दिर प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर नजिक पर्दछ। पढाइमा कमजोर भएका, सन्तान नभएकाले पनि यस मन्दिरको दर्शन तथा भाकलगरी पूजा गर्ने गरेका पुजारी लामिछानेले बताए। ‘बक्रेश्वर मन्दिरमा धेरैजसो भक्तजन वाक्य माग्न आउनुहुन्छ’, उनले भने, ‘अहिलेसम्म बोली नफुटेर यहाँ आएर बक्रेश्वर देवताको पूजाअर्चना गरेपछि बोल्ने गरेका पाएका छौँ।’
बक्रेश्वर मन्दिरमा भाकल गरेकाले भाकल पूरा गर्न मन्दिरमा रहेका महादेवलाई बेलपत्र, गाईको दूध, जनैसुपारी, पहेँलो कपडा, शंख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन्। मन्दिर पञ्चवलिसमेत चढ्ने पुजारी लामिछानेले जानकारी दिए।
‘यो मन्दिरमा हाँस, कुखुरा, भेडा, राँगो, बोकाको बलि चढ्छ’, उनले भने, ‘मन्दिरमा हरेक दिन बिहान नित्य पूजा हुन्छ भने बेलुकी धूपबत्ती गर्ने प्रचलन रहँदै आएको छ।’
मन्दिरमा शिवरात्रि र तीज पर्वका दिन विशेष मेला लाग्ने जनाउँदै उनले साउनको सोमबार पनि विशेष पूजा गर्ने गरिएको बताए।
स्वस्थानी व्रतकथामा स्वामी महादेवले सत्यदेवीको मृत शरीर बोकेर हिँड्दै जाँदा बक्रेश्वरी जंगलमा सतिदेवीको जिब्रो पतन भएको र सोही ठाउँमा बक्रेश्वर महादेवको उत्पत्ति भएको उल्लेख गरिएको पुजारी लामिछानेको भनाइ छ।
मनकामना क्षेत्र विकास समितिले बक्रेश्वरी मन्दिर संरचना निर्माण गर्न सहयोग गरे पनि स्थानीय सरकारले ध्यान नदिएको मन्दिरका पुजारी लामिछानेले बताए।
मन्दिरसम्म पुग्नका लागि सडकबाटोको स्तरोन्नति तथा गोरेटो बाटो निर्माण गर्न स्थानीय सरकार योजना बनाइ पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्।