दिनेश डीसीले पदभार ग्रहण गर्दै दिए यस्तो चेतावनी

हिमाल प्रेस १७ भदौ २०८१ १८:४७
30
SHARES
दिनेश डीसीले पदभार ग्रहण गर्दै दिए यस्तो चेतावनी

काठमाडौँ- चलचित्र विकास बोर्डको १७ औँ अध्यक्षमा नियुक्त भएका दिनेश डीसीले आफू स्वदेशी फिल्मको हितमा काम गर्न आएकाले कसैले असहयोग गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा सोमबार पदभार ग्रहण गर्दै उनले आफूसँगको सम्बन्धलाई दुरुपयोग नगर्न पनि आग्रह गरे।

‘म तलब खान, पैसा कमाउनका लागि आएको पनि होइन। पैसा नै कमाउन अन्य थुप्रै कर्पाेरेट क्षेत्र छन्। त्यहाँ छोडेर म यहाँ काम गर्न आएको हुँ। म जिरोबाट सुरु गर्छु। मलाई कसैले युज नगर्नुहोस्। मसँगको सम्बन्धलाई दुरुपयोग नगर्नुहोस्’, उनले भने। उनले आफूप्रति ठूलो अभिभारा र सबैले धेरै अपेक्षा गरेको बताए।

‘जिन्दगीमा बोल्ने काम धेरै गरियो। बोलेरै फिल्म खेलियो। निर्देशन तथा निर्माण पनि गरेकै हो’, उनले भने। डीसीले आफूसँग देशविदेशलगायतका उच्चपदस्थका विशिष्ट व्यक्तिहरुसँग राम्रो सम्बन्ध भएकाले त्यसलाई व्यवहारमा उतार्न फिल्मकर्मीलाई आग्रह गरे।

‘म मेरो हिसाबले काम गर्छु। सामाजिक सञ्जालको रोमाटिसिजममा रमाउन आएको होइन। स्वदेशी फिल्मको हित र प्रवर्धनमा काम गर्ने क्रममा कहीँकतै ढिलासुस्ती र असहयोग गरेको महसुस भयो भने नियमानुसार उहाँहरुलाई पावरलेस गर्नुपर्ने हो कि सचेतना, नियमअनुसार तत्काल एक्सनमा जानेछु।’

अध्यक्ष डीसीले फिल्म क्षेत्रमा भएका विविध समस्याबारे सात दिनभित्र सम्बन्धित नौ संघसंस्था, बोर्डका पूर्वसदस्य, नियमित फिल्म बनाइरहेका निर्माता, निर्देशक, नेपाली तथा अन्तर्राष्ट्रिय वितरक संस्थाहरुसँग छलफल गरी कार्य गर्ने योजना रहेको सुनाए।

उनले कार्यभार सम्हालेको १०० दिनसम्म मिडियासँग कुराकानी नगर्ने र काम गरेर देखाउने भन्दै यस अवधिमा चलचित्र ऐन र नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। डीसीले बक्स अफिस, बजार व्यवस्थापन, अन्तर्राष्ट्रियकरणका मुद्दा र वितरणका चार एजेन्डा सुनाए।

‘मेरो योजनाबारे सात दिनपछि भन्नेछु र मिडियासँग १०० दिनको कार्यकालपछि अन्तर्वार्ता गर्नेछु। यस बीचमा म कुनै कार्यक्रममा सहभागी हुने छैन’, डीसीले भने।
नेसनल शब्द राखेर भइरहेको विभिन्न अवार्ड कार्यक्रम बन्द गर्नसमेत उनले अनुरोध गरे। ‘राष्ट्रिय अवार्ड सरकारले वितरण गर्ने हो। नेसनल शब्द राखेर अवार्ड वितरण गर्नेहरुले यो शब्द हटाउनुहोस्। नत्र सरकारले पत्र काट्नेछ’, उनले भने।

डीसीले बोर्डका कर्मचारीहरुलाई पुराना सेवाग्राहीको काम सात दिनभित्र सिध्याउन आग्रह गरेका छन्। ‘सबै कर्मचारी साथीहरुले पुराना सेवाग्राहीको काम सात दिनभित्र सक्नुहोला’, उनले भने।

विकास बोर्डको हल अपांगमैत्री नभएको, दुधे बालक लिएर महिला आउँदा स्तनपान कक्ष नभएको र शौचालय पनि महिलामैत्री नभएकाले यस्ता ससाना काम सुधार्नुपर्ने उनको भनाइ छ।

डीसीले अवार्ड कार्यक्रममा दिइने सम्मानपत्र, ट्रफी खादा, फूललगायत सामग्रीहरु नेपालीले नै बनाएको प्रयोग गर्न आग्रह गरे। ‘यहाँ नभएको सामानमात्र हामीले बाहिरको प्रयोग गर्नुपर्छ। आफ्नो उत्पादन केही महँगो हुन्छ नै तर उहाँहरुको मेहनतको कदर हामीले नगरे कसले गर्ने?’, उनले भने। बोर्डमा हुने आगामी कार्यक्रममा खादा र माला प्रयोग नगरिने पनि उनले बताए।

डीसीले बोर्डका पूर्वअध्यक्षहरूको पनि आलोचना गरे। उनले पूर्वअध्यक्षहरुको कार्य हेर्दा उनीहरुलाई बोर्डको उद्देश्यबारे केही जानकारी नभएको बताए। पुराना अध्यक्षहरुले विदेश भ्रमण धेरै गरे भनेर थुप्रै टीकाटिप्पणी आएको बताउँदै डीसीले भने, ‘विदेश भ्रमण गर्नै नहुने भन्ने होइन। जुनसुकै कार्यक्रममा आफैँ जान अग्रसर हुनुभएन। जुन काम जसको लागि हो उही सहभागी हुनुपर्छ भन्ने मेरो धारणा हो।’

अध्यक्ष पदमा रहुन्जेलसम्म आफू आबद्ध सबै संघसंस्थाको पदबाट नाम हटाउन उनले आग्रह गरे। उनले भने, ‘म धेरै संस्थामा सल्लाहकारका रुपमा नियुक्त भएको छु। आबद्ध संस्थाहरुले त्यसबाट मेरो नाम हटाइदिनुहोला।’

०००

रेडियो र टेलिभिजनमा लामो समयदेखि संलग्न डीसीलाई गत बिहीबार (भदौ १३) मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो। बोर्डमा उनको कार्यकाल दुई वर्षको हुनेछ। यसअघि अध्यक्षमा भुवन केसीले कार्यभार सम्हालेका थिए।

तीस दशकदेखि फिल्म क्षेत्रमा सक्रिय दिनेशराज दाहाल क्षेत्री (दिनेश डीसी) ले दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनले ‘मायाज् बार’, ‘६ एकान ६’, ‘फूलै फूलको मौसम तिमीलाई’ लगायत फिल्मको निर्देशन पनि गरेका छन्।

डीसीको ट्वाक्क टुक्क, ट्वाक्क टुक्क रिटन्र्स, क्लिक क्लिक क्लिक, प्रतिभाको खोजी, एलजी चौधरी क्विजजस्ता कार्यक्रम कुनै बेला लोकप्रिय थिए।

डीसीसँग नेपाल नेटवर्क टेलिभिजन नेटवर्कको कार्यकारी अधिकृत, कान्तिपुर टीभी र रेडियोको स्टेसन म्यानेजरको अनुभव छ। एमाले निकट जनपक्षीय फिल्मकर्मी संघको अध्यक्ष रहेका डीसी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष हुन्।

प्रकाशित: १७ भदौ २०८१ १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =