ओलीले सदर गरेपछि मात्रै गण्डकीमा मन्त्रिपरिषद् विस्तार

विजय नेपाल १७ भदौ २०८१ ११:११
ओलीले सदर गरेपछि मात्रै गण्डकीमा मन्त्रिपरिषद् विस्तार

पोखरा- गण्डकी प्रदेश सरकार विस्तारमा केन्द्रको हस्तक्षेप देखिएको छ। प्रदेशमा मन्त्री बन्नेको नाम नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सदर गरेपछि मात्रै प्रदेश सरकार विस्तार हुन लागेको हो।

गण्डकीमा मुख्यमन्त्री पाण्डले सोमबार एमालेलाई सामेल गराएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। एमालेलाई सरकारमा ल्याउन दुई मन्त्रालय फुटाएर ९ वटा मन्त्रालय बनाउने निर्णयपछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो।

एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमाले चार मन्त्रालय लिएर सरकारमा जानेछ। त्यसका लागि एमाले संसदीय दलका नेता खगराज अधिकारी काठमाडौँमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किसकेको  उनी निकट एक नेताले जानकारी दिए। ती नेताका अनुसार पूर्वमुख्यमन्त्री समेत संसदीय दलका नेता अधिकारीले पेस गरेको मन्त्री बन्न लागेका सांसदहरूको नामावलीलाई  अध्यक्ष ओलीले सदर गरेर पठाएका हुन्।

एमालेले आधिकारिक रूपमा मन्त्रीहरूको नामावली घोषणा नगरे पनि नवलपुरकी पद्मा जीसी श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल हुने तयारी छ। स्रोतका अनुसार बागलुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बन्दैछन्।

गुट र भूगोलसमेतलाई मिलाएर मन्त्रीहरुको नाम टुंगिएको ती नेताले जानकारी दिए। एमाले गण्डकीमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुट सक्रिय छ। दुवैजना गण्डकीका पूर्व मुख्यमन्त्री हुन्। पार्टीको गण्डकी तथा विभिन्न जिल्ला तहमा एमालेको गएको चुनावमा स्पष्ट रूपमा दुई गुट खुलेरै लागेका थिए।

पर्वतका बस्याल पाका नेता हुन्। पृथ्वी सुब्बानिकटका उनले यसअघि प्रदेशसभाको बैठकमा ज्येष्ठ सदस्यका रूपमा सभाध्यक्षको भूमिका  निर्वाह गरेका थिए।

कास्कीका प्रकाशबहादुर केसी खगराज निकटका हुन्। उनी विगतमा राप्रपा थिए। राप्रपा कोटाबाटै उनी २०७१ सालमा खाद्य संस्थानको महाप्रबन्धकसमेत बनेका थिए। २०५४ सालमा पोखरा १२ को तत्कालीन वडाध्यक्ष बनेका उनी चार दशकदेखि निरन्तर राजनीतिमा छन्। उनी एमाले गण्डकी प्रदेश कमिटीको पूर्व सचिवालय सदस्यसमेत हुन्।

खगराज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दा नवलपुरकी पद्माको नाम चर्चामा थियो। तर अधिकारीले आफू निकट पुरानै दुई मन्त्री दोहोर्‍याएका थिए।

२०४८ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीतिक सुरु गरेकी उनी गत २०७९ सालको प्रदेशसभा चुनावमा नवलपुर २ (१) बाट निर्वाचित भएकी थिइन्। उनी गण्डकीका सांसदमा निकै सक्रिय मानिन्छन्।

बागलुङका कृष्ण पाठक समानुपातिक कोटाबाट एमालेको सांसद बनेका हुन्। उनी पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल निकटका हुन्।  २०३१ सालमा नेकपा मसाल निकट विद्यार्थी संगठनमा लागेर राजनीति सुरुआत गरेका उनी २०४१ मा मसाल छाडेर माले हुँदै एमाले छिरेका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएर सघाएका एकीकृत समाजवादीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री पदबाट नहटाउने बताइसकेका छन्।

मन्त्रिपरिषद् बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको हो । हाल गण्डकीको आर्थिक मामिला मन्त्रालय डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्रालयको जिम्मा बिन्दुकुमार थापाले लिएका छन्।

प्रकाशित: १७ भदौ २०८१ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =